एमाले नेता बस्नेतलाई सच्चिन राप्रपा भक्तपुरको चेतावनी

भक्तपुर, मंसिर ५
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भक्तपुरले नेकपा एमालेका पोलिट्व्यूरो सदस्य महेश बस्नेतलाई सच्चिन चेतावनी दिएको छ । राप्रपाले आज (मंगलवार) पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमाले नेता बस्नेतले राप्रपा भक्तपुरका नेताहरुमाथि अनर्गल आरोप लगाएको भन्दै सच्चिन चेतावनी दिएको हो ।
एमाले नेता बस्नेतले युवा संघ नेपालले मंसिर ३ गते भक्तपुरमा आयोजित एक कार्यक्रममा राप्रपा भक्तपुरका पुर्व जिल्ला अध्यक्ष एवम् तत्कालिन भक्तपुर जिल्ला विकास समितिका पुर्व सभापति स्व. सुरेन्द्रप्रताप शाह र उनका छोरा राप्रपाका सहमहामन्त्री रविन्द्र प्रताप शाहले चाँगुनारायण नगरपालिका–६, नगरकोटको ११३ रोपनी जग्गा बेचविखन गरी अपचलन गरेको अभिव्यक्ति दिएको राप्रपा भक्तपुरले जनाएको छ ।
राप्रपाले सोही अभिव्यक्ति विरुद्ध पत्रकार सम्मेलन गर्दै एमाले नेता बस्नेतलाई उक्त आरोप पुष्टि गरेर देखाउन चुनौती समेत दिएको छ ।
“राप्रपा नेता स्व. सुरेन्द्र प्रताप शाह र उनका सुपुत्र एवम् राप्रपा केन्द्रीय सहमहामन्त्रीको संलग्नतामा भक्तपुर जिल्ला चा.न.पा.–६, नगरकोटको ११३ रोपनी जग्गा वेचविखन गरि अपचलन गरेको आरोप लगाउनुको साथै निराधार एवम् कपोकल्पीत र भ्रामक वक्तव्य दिँदैं हिँडेका प्रति ठोस आधार, प्रमाण पेश गर्न र पुष्टि गर्नका लागि भक्तपुर राप्रपा एमाले भक्तपुरका नेता महेश बस्नेतलाई चुनौती दिन चाहन्छ,” पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।
राप्रपा भक्तपुर सचिवालय सदस्य अर्जुन कार्कीले जारी विज्ञप्तीमा राजनीतिक चरित्रलाई भुलेर गैर जिम्मेवार र बर्बररुपमा आएका निराधार अभिव्यक्ति प्रति विश्वास नगर्न आम भक्तपुरबासीलाई आग्रह समेत गरिएको छ । राप्रपा भक्तपुरले चरित्र हत्या गर्ने उद्देश्यले अभिव्यक्ति दिने बस्नेतलाई आवश्यक कारवाही गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई आग्रह समेत गरेको छ । साथै बस्नेतले आफ्नो अभिव्यक्तिमा सुधार नगरि भविष्यमा पनि यस्तै अभिव्यक्ति दिए राप्रपा भक्तपुर चुप लागेर नबस्ने चेतावनी समेत दिएको छ ।


पत्रकार सम्मेलनमा राप्रपाका नेताहरुले बस्नेतलाई सात दिनभित्र आत्मालोचना सहित सच्चिएर अघि बढ्न आग्रह समेत गरेका छन । कार्यक्रममा राप्रपा सहमहामन्त्री रविन्द्र प्रताप शाहले बस्नेतले भ्रामक प्रचार गरी हिलो छ्याप्ने कार्य गरेको भन्दै आरोप पुष्टि गर्न चुनौती दिनुभयो । “के प्रमाणको आधारमा बोल्नुभयो ? कसरी बोल्नुभयो ? महेश बस्नेतजीलाई चुनौती दिन चाहन्छु, प्रमाण पेश गर्न र पुष्टि गर्न,” नेता शाहले भन्नुभयो, “जुन खालको लाञ्छना सुरेन्द्र प्रताप शाहको बाबुछोराले बेच्यो भनेर लगाउनुभएको छ । त्यो पुष्टि गर्नको निमित्त चुनौतीका साथ भन्न चाहन्छु, तपाईंले त्यो पुष्टि गरेर देखाउनुस । पुष्टि गरेर देखाउनुभयो भने हामी तपाईंको नोकर बसुँला होइन भने तपाईं हाम्रो नोकर बस्ने दिन पनि आउनसक्छ ।”
राजनीति गर्ने क्रममा पार्टीको सिद्धान्त र विचार जुनसुकै स्थानमा राख्न पाउने संवैधानिक अधिकार रहेको बताउँदैं उहाँले एमाले नेता बस्नेतलाई व्यक्ति प्रति लक्षित गरेर लाञ्छना लगाउने कार्य नगर्न पनि चेतावनी दिनुभयो ।
पत्रकार सम्मेलनमा राप्रपा नेताहरु रामेश्वर थापा, राजु पुरीलगायतले एमाले नेता बस्नेतलाई आत्मालोचनासहित सात दिनभित्र आफ्नो अभिव्यक्ति सच्याउन चेतावनी दिनुभएको थियो ।