विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा आज नेपाल र यमन भिड्दै

भक्तपुर, मंसिर ५
विश्वकप फुटबलको दोस्रो चरणको एसियन छनोटमा नेपालले आज (मंगलबार) यमनविरुद्ध खेल्दैछ । नेपालले यमनविरुद्ध दोस्रो चरणको पहिलो लेगको खेल घरेलु मैदानमा खेल्न लागेको हो । खेल काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ ७ बजे शुरु हुनेछ ।
फिफा वरियतामा १ सय ५६ औं स्थानमा रहेको यमनविरुद्ध नेपाल घरेलु मैदानमा अंक जोड्ने प्रयासमा हुनेछ । नेपाल फिफा वरियतामा १ सय ७३ औं स्थानमा छ ।


प्रि–म्याच कन्फरेन्समा नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनिसले यमनसँग खेल्दै गर्दा अंक जोड्ने नेपालको प्रयास हुने बताए । उनले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको जनाउँदै यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए ।
गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।
त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बुले युएई विरुद्धको खेलमा पराजय भोग्नु परे पनि यमनसँगको खेलमा भने जित हासिल गर्ने विश्वास व्यक्त गरे । उनले आफ्नो टोलीका खेलाडीहरू यमनसँग खेल्न मनोवैज्ञानिकरुपमा समेत तयार रहेको बताउनुभयो ।


अखिल नेपाल फुटबल संघले नेपाल र यमनविरुद्धको खेल हेर्न साधारण प्याराफिटतर्फ रू चार सय र भिआइपी प्यारापिटतर्फ रू एक हजार मूल्य तोकिएको छ ।
खेल राती ७ बजे शुरु हुने भएकाले दशरथ रंगशालामा खेल हेर्न आउने दर्शकलाई घर पु¥याउन एन्फाले १५ वटा बस व्यवस्था गरेको छ । एन्फाका खेल निर्देशक सञ्जीव मिश्रका अनुसार दशरथ रंगशालामा मंगलबार साँझ ७ बजेदेखि हुने नेपाल र यमनबीचको खेल सकिएपछि दर्शकलाई घर पु¥याउन विभिन्न रुटमा १५ वटा बस व्यवस्था गरिएको हो । ‘हामीले विभिन्न रुटका १५ वटा बस भाडामा लिएका छौं । जसले दर्शकलाई खेलपछि घर फर्कन सहयोग हुनेछ,’ उनले भने । बस चढेर घर फर्किन दर्शकले टिकटको अर्धकट्टी देखाउनुपर्नेछ ।


बस त्रिपुरेश्वरबाट चक्रपथ हुँदै नारयणथानसम्म, त्रिपुरेश्वरबाट भक्तपुर सूर्यविनायकसम्म, त्रिपुरेश्वरबाट बौद्ध, जोरपाटीसम्म, त्रिपुरेश्वरबाट कलंकी, सतुगंलसम्म र सोही गाडीले स्वयम्भूसम्म, त्रिपुरेश्वरबाट सोह्रखुट्टे, बालाजु हुँदै चक्रपथसम्म, त्रिपुरेश्वरबाट बल्खु हुँदै कीर्तिपुरसम्म, त्रिपुरेश्वरबाट एकान्तकुना हुँदै भैंसेपाटीसम्म, त्रिपुरेश्वरबाट लगनखेल हुँदै हात्तीवनसम्म र त्रिपुरेश्वरबाट सिनामंगलसम्म चल्नेछ ।
विश्वकप एसिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् । त्यस्तै विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो ।