भारतलाई स्तब्ध पार्दै अष्ट्रेलिया बन्यो विश्व विजेता

भक्तपुर, मंसिर ४
भारतलाई स्तब्ध पार्दै अष्ट्रेलियाले आइसीसी एकदिवसीय विश्वकप २०२३ को उपाधि जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा आइतवार राती सम्पन्न फाइनलमा ओपनर ट्रविस हेडको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको हो ।
अष्ट्रेलियाको यो छैंटौं विश्वकप उपाधि हो । उसले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारतको भने २०११ पछि उपाधि जित्ने सपना पुनः अधुरै रह्यो ।
जितको लागि २ सय ४१ रनको मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो । अष्ट्रेलियालाई जिताउन ओपनर ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय ३७ रनको सानदार शतकीय इनिङ खेले । मार्नस लाबुसेन ११० बलमा ४ चौकासहित ५८ रनमा अविजित रहे ।
हेडले चोटका कारण विश्वकपको शुरुवाती खेल गुमाएका थिए । चोटमुक्त भएर टिममा फर्किएका उनले न्यूजिल्याण्डविरुद्ध ५९ बलमा शतक बनाउँदै शानदार पुनरागमन गरे । सेमिफाइनलमा एकै ओभरमा दुई विकेट लिएर दक्षिण अफ्रिकालाई दबाबमा राख्न भूमिका खेलेका उनले ब्याटिङका क्रममा पनि एउटा एण्ड सम्हाल्दै ६२ रनको पारी खेलेका थिए । फाइनलमा उनी म्यान अफ दि म्याच बने ।


यद्यपी अष्ट्रेलियाको शुरुवात भने राम्रो थिएन । मोहम्मद शामीले आफ्नो पहिलो ओभरमै अष्ट्रेलियाका सफल ब्याट्सम्यान डेभिड वार्नरको विकेट लिएर भारतलाई उत्कृष्ट शुरुवात दिलाएका थिए । शामीको लुड लेन्थ बलमा वार्नरले खेल्न खोज्दा ब्याटको बाहिरी किनारामा लागेको बल स्लिपमा रहेका विराट कोहलीको हातमा पुग्यो । वार्नर मात्र ७ रनमा आउट भए ।
मिचेल मार्श जस्पित बुमराहको पाँचौ ओभरको तेस्रो बलमा १६ रनमा क्याच आउट भए । एज लागेर विकेटकिपर लोकेश राहुलबाट क्याच आउट भएका मिचेलले १५ बलमा १ चौका र १ छक्का हाने ।
बुमराहको अर्को ओभरमा स्टिभ स्मिथ एलबीडब्लू धरापमा परे । बुमराहको स्लो कटरमा स्मिथ चुके र बल उनको प्याडमा लाग्यो । भारतको एलबीडब्लू अपिलमा अम्पायरले आउट दिए । स्मिथले रिभ्यू लिएनन् । जबकि रिप्ले र बल ट्र्याकिङमा देखाइएको बल अफ स्टम्प बाहिर गएको देखिएको थियो ।


स्टिभ आउट भएपछि ४७–३ को अवस्थामा पुगेको अष्ट्रेलियालाई उपाधि दिलाउन चौथो विकेटका लागि लाबुसेन र हेडले १ सय ९२ रनको सानदार शतकीय साझेदारी गरे । उपाधिका लागि २ रन चाहिदा हेड आउट भएका थिए । ग्लेन म्याक्सवेलले विजयी २ रन जोडे ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत निर्धारित ५० ओभरमा २ सय ४० रनमा अल आउट भएको थियो । भारतका लागि विकेटकिपर लोकेश राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाएका थिए । विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडेका थिए ।
कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाएपनि अन्य ब्याटरले राम्रो गर्न नसकेपछि भारतले ठूलो स्कोर बनाउन असमर्थ भएको हो ।
यद्यपी भारतले आक्रमक शुरुवात गरेको थियो । भारतले शुरुवाती १० ओभरमा ८० रन बनाएको थियो । भारतको तेस्रो विकेटको पतनपछि रनको गतिमा ब्रेक लागेको थियो । त्यसपछि भारतीय खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेन ।
अष्ट्रेलियाका तिव्र गतिका बलर मिचेल स्टार्कको चौथो ओभरको दोस्रो बलमा शुभमन गिल मिडअनमा एडम जाम्पाबाट ४ रनमा क्याच आउट भए । स्पिनर ग्लेन म्याक्सवेलको १० औं ओभरको चौथो बलमा रोहित शर्मा ४७ रनमा आउट भए । कभरमा ट्रविस हेडले एक सानदार क्याच लिएपछि रोहित पेभेलियन फर्केका थिए । अन्ततः त्यो नै भारतको हारको प्रमुख कारण बन्न पुग्यो ।
अर्को ओभरमा अष्ट्रेलियाका कप्तान कमिन्सले श्रेयस ऐयरलाई पभेलियनको बाटो देखाए । लगातार दुई विकेट गुमाएसँगै भारत दबावमा आयो, रनको गतिमा ब्रेक लाग्यो ।


भारतको आश क्रिजमा विराट कोहली र केएल राहुलमाथि टिकेको थियो । २६औं ओभरमा विराटले ५६ बलमा ७२औं अर्धशतक पुरा गरे । तर चौथो विकेटका लागि केएल राहुलसँग ६७ रनको साझेदारी गरेका उनी २९औं ओभरको तेस्रो बलमा आउट भए । उनले ५४ रन बनाए । अष्ट्रेलियाका कप्तान कमिन्सको बलमा कोहलीको प्लेडअन (बोल्ड) भएपछि रंगशालामा रहेका हजारौं समर्थक स्तब्ध भए ।
त्यसपछि रवीन्द्र जडेजा आए, तर भारतले थप ३० रन जोड्दा उनी पनि आउट भए । जडेजा पनि २२ बलमा ९ रन बनाउदै क्याच आउट भए । यद्यपि अर्को एण्डमा सुस्त गतिमा रन बनाएपनि टिकेर खेलिरहेका राहुलले अर्धशतक पुरा गरेका थिए । ४२औं ओभरमा स्टार्कको बलमा आउट भएका राहुलले १०७ बलको सामना गर्दै ६६ रनको महत्वपूर्ण पारी खेले । सुर्य कुमार यादव २८ बलमा १ चौकासहित १८ रनमा आउट भए ।
अष्ट्रेलियालाई च्याम्पियन बनाउन तिव्र गतिका बलर मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । कप्तान प्याट कमिन्सले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिएका थिए । एडम जाम्पाले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिएका थिए । ग्लेन म्याक्सवेलले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिएका थिए । जोश हेजलवुडले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिएका थिए ।