सांसारिक बन्धनबाट मुक्त हुँदै आध्यात्मिक यात्रामा प्रथम पाइला – प्रव्रज्या
सुनीता तुलाधर शिल्पकार, ललितपुर ।
महिनौं छलफलहरू भए, योजनाहरु बनाइए, दिनहुँ कार्यहरु गरिए । नेपालकाे थेरवाद बुद्धशासनमा एक नयाँ अायाम थप्न ।
नेपाल सम्वत ११४३ अर्थात सन् २०२३ वा बिक्रम सम्वत २०८० सालकाे चैत्रको २२ गते श्रामणेर बन्न आउनु भएका विद्यार्थीहरु धमाधम विहारमा आई पुगिसकेका थिए । उहाँहरुको लागि मेचहरु लाम्बद्ध रुपमा छुट्टाइएको थियो । उहाँहरु सोही मेचमा बसेर कैतुहलतापूर्वक प्रतिक्षा गरिरहेका थिए ।
नयाँ बनाउँदै गरेको अनागारिका भवनमा श्रामणेरहरुको लागि नाम दर्ता गर्ने व्यवस्था मिलाइएको थियो । सर्वप्रथम थाइल्याण्डबाट आउनु भएका नेपाली भन्ते धम्मवुद्धोले ल्यापटपमा श्रामणेर बन्न आउनुभएका विद्यार्थीहरुको नाम दर्ता गर्न थाल्नुभयो । त्यसपछि क्रमशः उचाई नाप्ने, कापी, कलम, पानीको बोतल, स्लिपिङ्गव्याग लिईसकेपछि फोटोग्राफर जितेन्द्र राज शिल्पकार कहाँ गएर परिचय पत्रको लागि फोटो पनि खिचाउनु भयो ।
फोटो खिचाउँदा कोही कपालमा पानी राखेर, चिटिक्क परेर टक्क टुलमा बसेका थिए भने कोही लाज मानेर, मुखै अध्याँरो पारेर कुक्रक्क भई बसेका थिए । फोटो लिने क्रममा एकजना एकदमै सानो बालक आएर टुलमा बस्यो । हामीले तिमी धेरै सानो छौ अर्को बर्ष फोटो खिच्ने है भनेर फकाएर फिर्ता पठाएका थियौं ।
बेलुकीको खाना खाएर सबै श्रामणेर हुन आउनु भएका विद्यार्थीहरु नयाँ बन्दै गरेको अनागरिका भवनमा जम्मा भएका थिए ।
प्रव्रज्या कार्यक्रमको व्यवस्थापन गरीरहनु भएका अर्का नेपाली भन्ते मनापो भन्तेले बीच–बीचमा रमाइलो कुराकानी गर्नुहुँदै विद्यार्थीहरुलाई परामर्श कक्षा लिनु भएको थियो । सोहि दिन उनीहरुको समूह र समूह नेता पनि छ्ट्याइएको थियो ।
उनीहरुलाई सुत्ने स्थान माझखण्ड बुद्ध विहारको धम्महलमा मिलाइएको थियो । लहरै स्लिपिङ्ग ब्याग ओछ्याएर सबैजना के पल्टेका थिए, उनीहरुको हल्ला सुनिन थाल्यो, कोही हाँसिरहेका थिए, कोही खोक्दै थिए, कोही चलिरहेका थिए, हल्ला अलि बढि नै सुनिन थालेपछि भन्तेहरु आउनु भई सम्झाई बुझाइ सबैलाई आनन्दले सुताउनु भएको थियो ।
चैत्रको २३ गते बिहान सबेरैदेखि र माझखण्ड बुद्ध विहारमा विशेष चहलपहल भएको थियो । धेरै मानिसहरुले यस दिनको लागि प्रतिक्षा गरिरहेका थिए । यसकारण पनि उहाँहरुमा धेरै नै उत्सुकता देखिन्थ्यो । प्रत्यक्ष रुपमा माझखण्ड बुद्ध विहारमा उपस्थित हुनुभएका मानिसहरुको त के कुरा माझखण्ड भन्दा धेरै टाढा बसि सामाजिक सञ्जालहरुबाट अप्रत्यक्ष रुपमा सतकुलपुत्र अल्पकालिन श्रामणेर कार्यक्रममा सहभागी हुनुभएकाहरुमा समेत कौतुहलता थियो ।
समयमा नै सबैजनाले कार्यहरु शुरु गरिसकेका थिए । धम्मदायादहरु पनि आफ्नो कपाल खौरिन कपाल भिजाएर लाइनमा बसेर पर्खिरहेका थिए ।
अखिल नेपाल भिक्षु महासंघका पदाधिकारीहरु भिक्षु शीलभद्र महास्थविर, भिक्षु सद्धातिस्स महास्थविर, भिक्षु बोधिज्ञान महास्थविर, भिक्षु आचारु, थाइलाण्डका छिसनुफोंग भन्ते लगायतका भन्तेहरुले ‘केसा, लोमा , नखा, दन्ता, तचो, , तचो, दन्ता नखा, लोमा केसा’ का वाक्य धम्मदायादहरुलाई वाचन गराई उहाँहरुको कपाल पालैपालो गरी खौरिदिनुभएको थियो ।
कपाल खौरिने कार्यक्रम सकिएपछि धम्मदायादहरु सेतोबस्त्र लगाएर माझखण्डको स्थानीय क्षेत्रमा परिक्रमाको लागि राजहंसहरु जस्तै दुई लाइन लागेर दुई हात जोडि गएको दृष्य यति मनमोहक थियो कि सबैजना टक्क अडिएर आँखा नै झिमिक्क नगरिकन हेरेको हेर्यै भएको थियो ।
धम्मदायादहरुका अघि अघि हातमा फूलको गुच्छा लिएका उपासिकाहरु र पछि पछि क्रमशः सतकुलपुत्र दुर्लभ श्रामणेर प्रव्रज्या कार्यक्रमको ब्यानर समातेका श्रामणेरहरु, नेपाली भन्तेहरु, थाइ भन्तेहरु, बुद्धं, धम्मं, संघं शरणं गच्छामिको…….. मृदुल ध्वनि गुञ्जिएको, हातमा चीवर लिनुभएका अनागारिका गुरुमांहरु लगायत श्रद्धालु उपासक उपासिकाहरुले पनि माझखण्डको स्थानीय क्षेत्रमा परिक्रमा गरेका थिए ।
सो मनोरम दृष्यहरुको छायाँकन गर्ने हेतुले नेपाल फाइभ, नेपाल मण्डल, बोधि टेलिभिजन, बोधिरत्न फेसबुक च्यानलका सञ्चारकर्मीहरुलगायत थाइल्याण्ड तथा नेपालका उपासकोपासिकाहरु पनि आ–आफ्ना क्यामराहरुमा फोटो भिडियोहरु कैद गर्दै थिए ।
परिक्रमापछि धम्मदायादहरु लगायत सबैजना कार्यक्रमको लागि छ्ट्याइएको माझखण्ड बुद्ध विहारको कौसिमा पुगेर आफूलाई तोकिएको स्थानमा बसेका थिए ।
जहाँ अभिभावक उपासकोपासिकाहरुले धम्मदायादहरुलाई प्रव्रज्याको लागि अनुमति दिनुको साथै चीवर दान पनि गरेका थिए । उक्त चीवर लिएर धम्मदायादहरु आफूलाई प्रव्रजित गराई दिनुहुन भन्ते समक्ष प्रार्थना गर्नु भएपछि अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्ष भिक्षु शीलभद्र महास्थविरको उपाध्यायत्वमा १० दिनको लागि प्रव्रज्याभावको वाक्य वाचन गराई दश शील प्रदान गरि प्रव्रज्या गरिदिनु भएको थियो ।
सोही प्रव्रज्या कार्यक्रममा भिक्षु धर्मगुप्त महास्थविरले सान्दर्भिक धर्मदेशना पनि गर्नुभएको थियो । उहाँले भन्नुभयो, “साधनाको लागि धेरै समय चाहिन्छ । प्रव्रजितहरु कपाल खौरिएर, चीवर पहिरिएर भिक्षाटनबाट जीविका गरेर बुद्धधर्मको अध्ययन गरी ध्यानभावना गर्छन् । गृहस्थीहरुमा यि काम गर्न कठिन छ किनभने तिनीहरु पारिवारिक, सामाजिक व्यापारिक झमेलामा परिरहन्छन्, जसले गर्दा बुद्धधर्मको गहिरो अध्ययन र ध्यान भावना गर्न समय पाउँदैनन् ।’
भन्तेको उपदेश नवश्रामणेरहरुले निकै ध्यान दिएर सुनेका थिए ।
सांसारिक बन्धनबाट मुक्त हँुदै प्रव्रजित भै आध्यात्मिक यात्रामा चालेको प्रथम पाइला उनीहरुका लागि एकदमै उत्सुकतापूर्ण थियो । सो दिन उनीहरु बेलुका बुद्धपूजा, ध्यान भावना गरी आफ्नो मन कोमल बनाई, मैत्री भावना गरी बेलुकाको ९ बजेतिर सबै श्रामणेरहरु आनन्दपूर्वक सुतेका थिए ।
यसरी दसदिने अल्पकालिन दुर्लभ श्रामणेर प्रव्रज्याको पहिलो दिन बितेको थियो ।
क्रमशः ……