सूर्य र छठीको पुजा आराधना गर्दै छठ पर्व मनाईंदैं

फाइल तस्विर

भक्तपुर, मंसिर ३
आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी आज (आईतवार) तराई मधेशका साथै काठमाण्डौं उपत्यका एवम् पहाडी भेगमा समेत जलाशय, नदी किनारमा व्रत बसी धुमधामले छठ पर्व मनाईंदैछ ।
छठको मुख्य दिन आज कार्तिक शुक्ल षष्ठीको अवसरमा जलाशय र नदी किनारका घाट सजाएर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसी भोलि सप्तमीको दिन बिहानको उदाउँदो सूर्यको उपासना गरी अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुनेछ ।
तराई मधेशको ठूलो पर्वको रुपमा रहेको यो पर्व अचेल काठमाण्डौं उपत्यकालगायतका पहाडी जिल्लाहरुमा समेत मनाईन थालेको छ । केही वर्षअघिसम्म तराई मधेशका केही जिल्लामा मात्र मनाइने गरिएको छठ पर्व अचेल काठमाण्डौँलगायत मुलुकका विभिन्न सहरमा समेत धुमधामका साथ मनाइन थालिएको छ ।
छठमा ब्रत बसी ऊर्जाको अक्षय स्रोत सूर्यको उपासना गर्दा सुख–समृद्धि र मनोकामना पूर्ण हुने जनविश्वास छ । यो पर्व विधिवत् रुपमा कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात् शुक्रबारदेखि शुरु भएको थियो ।
अत्यन्त निष्ठा एवं पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान सूर्यको पूजा गर्ने ब्रतालुले कात्तिक शुक्ल चतुर्थी तिथिमा शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रुपमा स्नान गरी अरवा अरुवाइन खाने गर्छन् ।
पञ्चमी तिथिमा दिनभर उपवासमा बसेर साँझको समयमा नयाँ माटोको चुल्होमा खीर पकाउँछन् । त्यसपछि घरको देवीदेवताको पुजामा चढाइएको खीर प्रसादका रुपमा ब्रतालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई वितरण गर्ने गरिन्छ । यस विधिलाई खरना भनिन्छ ।

 

फाइल तस्विर

सूर्यलाई अघ्र्य अर्पण गर्ने ब्रतालुले पञ्चमीको दिन उपवास बसी साँझ मात्र सो प्रसाद ग्रहण गरेर पुनः उपवासलाई निरन्तरता दिन्छन् । त्यसपछि सप्तमी तिथिको बिहानसम्म अर्थात् कम्तीमा ५० घण्टासम्म उपवास बस्नुपर्ने हुन्छ ।
षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पुजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गरिन्छ । भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गरेपछि विधिवत् रुपमा पर्व सम्पन्न हुन्छ ।
यस पर्वमा सूर्यलाई प्रसादका रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारीलगायत प्रसादका सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर अर्पण गरिन्छ । यो पर्व एकपल्ट शुरु गरेपछि प्रत्येक वर्ष गर्नुपर्ने हुन्छ । खासगरी मनोकामना पूर्ण भएपछि यो पर्व शुरु गर्ने गरिन्छ ।
आरोग्य भास्करदिच्छेत मूल उद्देश्यका साथ मनाइने गरिएको यस पर्वमा कतिपय ब्रतालुले परिवारको कल्याण र सन्तान प्राप्तिका साथै विभिन्न प्रकारका भाकल पुरा भएपछि पर्व शुरु गरेका हुन्छन् ।
पर्व मनाउने परिवारका कुनै व्यक्ति उपवासमा बस्न नसक्ने अवस्थामा छन् भने जोकोही ब्रतालुले तिनीहरुको प्रसाद लिएर सूर्यलाई अर्पण गर्न सकिने समेत सुविधा रहेको छ ।
संस्कृतिविद् डा. रामदयाल राकेश कात्तिक महिनाको प्रारम्भसँगै विशेष शुद्धाशुद्धिका साथ तयारी गरिने यस पर्वको शुभारम्भबारे विभिन्न कथा र किंवदन्ती रहेको बताउनुहुन्छ । उहाँले सत्ययुगमा सरयाती नामका राजाकी सुपुत्री सुकन्याले पहिलो पटक छठ पर्व प्रारम्भ गरेको उल्लेख गर्नुभयो । महाभारतको प्रसङ्गलाई उल्लेख गर्दै उहाँले पाण्डवहरूको गुप्तवासको सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व गरेको बताउनुभयो । त्यसबेलादेखि नै छठ पर्वको सुरुवात भएको धेरैको विश्वास छ । त्यसै गरी सूर्यपुराणमा अत्रिमुनिकी अर्धाङ्गिनी सती अनुसुयाले छठ पर्व गरेको उल्लेख पाइन्छ । त्यस्तै कुष्ठरोगबाट पीडित कवि मयूर भट्टले सूर्यको उपासना र पूजाबाट पुनः सुन्दर र स्वस्थ्य शरीर प्राप्त गरेको कथासँग जोडिएर छठ पर्वको सुरुवात भएको संस्कृतिविद् डा. राकेशको भनाइ छ ।