विश्वकप क्रिकेटको फाइनल आज–उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै

भक्तपुर, मंसिर ३
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज नरेन्द्र मोदी स्टेडियम अहमदावादमा घरेलु टोली भारत र अष्ट्रेलियाबीच प्रतिष्पर्धा हुँदैंछ । फाइनलमा भारत तेस्रो उपाधि र अष्ट्रेलिया छैंटौं उपाधिको खोजीमा हुनेछ ।
भारत लिगका सबै खेलमा जित हासिल गर्दै सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले पराजित गरी फाइनल प्रवेश गरेको हो भने लिगका शुरुका दुई खेलमा पराजित भएको अष्ट्रेलिया त्यसपछि सबै खेल जित्दै सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदैं फाइनल प्रवेश गरेको हो ।
फाइनल खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । ५ पटकको विश्व विजेता अष्ट्रेलियाले विश्वकप फाइनल खेल्न लागेको यो आठौं पटक हो भने २ पटक उपाधि जितिसकेको भारतका लागि यो चौंथो विश्वकप फाइनल हो । भारत घरेलु भुमीमा तेस्रो उपाधि जित्ने दाउमा छन भने अष्ट्रेलिया लिग चरणमा व्यहोरेको हारको बदला लिँदैं भारतलाई स्तब्ध बनाउने दाउमा छन ।
यी २ टोलीबीच एक दिवसीय अन्तर्राष्ट्रियमा १ सय ५० खेल हुँदा अष्ट्रेलिया नै बलियो देखिन्छ । भारतले ५७ खेल जित्दा अष्ट्रेलियाले ८३ खेल जितेको छ, बाँकी १० खेल नतिजाविहिन बनेका छन् ।
एक दिवसिय विश्वकपमा मात्र यी दुई १३ पटक आमनेसामने भइसकेका छन् । जसमा अष्ट्रेलियाले ८ र भारतले ५ खेल जित्दा फाइनलमा यी दुईबीच भेट हुन लागेको यो दोस्रो पटक हो ।
यसअघि सन् २००३ मा दक्षिण अफ्रिकामा भएको फाइनलमा अष्ट्रेलियाले भारतलाई डिएल मेथडमा ४८ रनले हराएको थियो । पछिल्लो पटक यसै विश्वकपको लिग चरणमा भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो । यी दुईबीच भएका पछिल्ला ५ खेलमा भारतले ३ खेल जित्दा अष्ट्रेलियाले २ खेल जितेको छ ।
विश्वकप क्रिकेटको फाइनल जित्ने टिमले विश्वकप ट्रफीका साथै ४० लाख अमेरिकी डलर अर्थात् ५३ करोड ३० लाख नेपाली रुपैयाँ बराबर नगद पुरस्कार पाउने छ । उपविजेता टिमले २० लाख डलर अर्थात २६ करोड ६५ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार पाउने छ ।
सेमिफाइनलमा पराजित भएका न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाले ८–८ लाख डलर अर्थात् १० करोड ६६ लाख रुपैयाँ नगद पाउने छन् । समूह चरणबाटै घर फर्केका ६ टिमले भने १–१ लाख डलर १ करोड ३३ लाख नेपाली रुपैयाँ पाउने छन् । लिग चरणमा हरेक टिमले एक जितको ५३ लाख ३० हजार रुपैयाँ पाउने छन् ।
फाइनल खेलमा इंग्ल्याण्डका रिचर्ड केटलबोरो र रिचर्ड इलिङवर्थले अम्पायरिङ गर्ने छन् । ५० वर्षका केटलबोरोले दोस्रो पटक फाइनल खेलमा अम्पायरिङ गर्ने अवसर पाएका हुन् । उनी र कुमार धर्मसेना सन् २०१५ को विश्वकपको फाइनलमा पनि फिल्ड अम्पायर थिए । २००९ नोभेम्बरमा एकैदिन आईसीसीको अन्तर्राष्ट्रिय रेफ्री भएका दुबैले यो विश्वकपको सेमिफाइनल खेलाएका थिए ।
भारत र न्यूजिल्याण्डको खेलमा इलिङवर्थ र अष्ट्रेलिया र दक्षिण अफ्रिकाको खेलमा केटलबोरो अम्पायर थिए । फाइनलमा दुबै फिल्ड अम्पायर तोकिएका छन् । अम्पायरको नाम घोषणासँगै भारतीय समर्थक निराश भएका छन् ।
किनकी रिचर्ड केटलबोरोले आईसीसीको जति नकआउट म्याचमा अम्पायरिङ गरेका छन्, सबैमा भारतले हार व्यहोरेको छ । एकदिवसीय विश्वकप २०१५ को सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई हराएको थियो । त्यो खेलमा केटलबोरो अम्पायर थिए ।
टी–२० विश्वकप २०१६ मा वेष्ट इण्डिजसँग हार्दा होस् वा च्याम्पियन्स ट्रफी २०१७ को फाइनलमा पाकिस्तानसँग हार्दा होस् । विश्वकप २०१९ को सेमिफाइनलमा न्यूजिल्याण्डसँग भारत हारेको खेलमा पनि केटलबोरो अम्पायर थिए ।