भक्तपुरको लोहकिल्थलीमा लक्ष्मी पुजा गर्न क्रममा आगलागीमा परी वृद्धाको मृत्यु

भक्तपुर, कार्तिक २७
मध्यपुर थिमि नगरपालिका–१ लोहकिल्थली मनोरम पार्क नजिक आइतवार राती आगलागीका कारण एक वृद्धाको मृत्यु भएको छ । लक्ष्मी पुजाको लागि बालेको दियोले शरीरमा लगाएको कपडामा आगो सल्किँदा सो स्थानमा बस्ने ८३ वर्षिया वृद्धा सावित्री देवी दाहालको मृत्यु भएको हो ।
आफ्नै घरको दोश्रो तल्लाको पुजा कोठामा लक्ष्मी पुजा गर्ने क्रममा अचानक दाहालले लगाएको कपडामा आगो सल्केको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले जानकारी दिनुभयो ।
अचानक शरीरमा लगाएको कपडामा आगो सल्किएपछि आत्तिएर बैठक कोठाको भुईमा लडीबुडी गरेका दाहाललाई बचाउन उनका पति ८५ वर्षिय गुरुप्रसाद दाहालले पानी हाली आगो निभाएपनि घटनास्थलमा नै साबित्रीको मृत्यु भएको डिएसपी पाठकले बताउनुभयो ।
उनको शव पोष्टमार्तमको लागि केएमसी अस्पताल दुवाकोट राखिएको र घटनाको थप अनुसन्धान भइरहेको पाठकले जानकारी दिनुभयो ।