कार्तिक २३ देखी २५ गतेसम्म नगरकोटमा सडक महोत्सव हुने

भक्तपुर, कार्तिक १७
पर्यटकीय नगरी नगरकोटमा यही कार्तिक २३ गते देखि २५ गतेसम्म तीन दिन सडक महोत्सव–२०८० हुने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरि नगरकोट सडक महोत्सव गर्न लागिएको हो ।
‘प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यापर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ महोत्सव हुन लागेको आयोजक नगरकोट नाल्दुम पर्यटन विकास समितिले जनाएको छ ।
समितिका सचिव प्रदिप अघिकारीले नगरकोटको पर्यटन प्रर्वद्धन तथा दिगो पर्यटनको विकासका लागि नगरकोटलाई पर्यटनको हव बनाउन सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले स्थानीय भाषा, कला, प्रतिभा, प्राकृतिक सम्पदा एवम् संस्कृतिलाई उपयोग गर्दै पर्यटकलाई आकर्षित गरि नगरकोटको विकासमा योगदान पु¥याउन नगरकोट भ्रमण वर्ष २०८२ को तयारी स्वरुप सडक महोत्सवको आयोजना गरिएको बताउनुभयो ।
महोत्सवमा २५ वटा भन्दा बढी स्टल रहने छ । नगरकोट प्रहरी चौकी तल मुल सडक, गडगडे स्कुल अगाडि, नगरकोट टावर जाने सडक र नाल्दुम चोक देखि महाकाली स्कुल माथि सम्म स्टल रहने नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले जानकारी दिनुभयो ।
महोत्सवमा प्रत्यक्ष सांगितिक एवम् स्थानीय कला र प्रतिभा प्रस्तुतिका साथै लोक दोहोरी कार्यक्रम, स्थानीय खानाका परिकारहरु, कृषि मेला, चंगा चेट, मुहार चित्रकारितालगायतका विभिन्न सामग्रीहरु प्रदर्शनमा रहने चाँगुनारायण नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष धनबहादुर लामाले बताउनुभयो । महोत्सवमा एक लाख हाराहारीले अवलोकन गर्ने अपेक्षा रहेको उहाँले जानकारी दिनुभयो ।