टी–२० विश्वकप छनोटमा नेपालको विजयी शुरुवात, सिंगापुर ८ विकेटले पराजित

भक्तपुर, कार्तिक १३
नेपाली घरेलु भुमीमा जारी आईसीसी टी–२० विश्वकप छनोटमा विजयी शुरुवात गरेको छ । प्रतियोगिताको उपाधि दावेदार नेपालले त्रिवि मैदानमा सोमवार सिंगापुरलाई ८ विकेटले पराजित गर्दै छनोटमा विजयी शुरुवात गरेको हो । जितसँगै नेपालले अंक तालिकामा महत्वपूर्ण २ अंक जोडेको छ ।
जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७४ रन बनाए । भुर्तेलले टी–२० आई करिअरको सातौं अर्धशतक २६ बलमा पुरा गरेका थिए ।
नेपाललाई जितको लागि ४ रन आवश्यक परेको अवस्थामा सिंगापुरका बलर अनन्त कृष्णलाई ठूलो सर्ट खेल्ने धुनमा भुर्तेल लङअफमा क्याच आउट भए । कप्तान रोहित पौडेल २४ बलमा २ चौका र २ छक्कासहित ३५ रनमा क्रिजमा रहे । पहिलो बल खेलेका कुशल मल्लले छक्का हान्दै खेल सकाएका थिए ।
नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ९.१ ओभरमा ८४ रनको साझेदारी गर्दै उत्कृष्ट शुरुवात दिलाएका थिए । अक्षय पुरीको बलमा आसिफ बोल्ड आउट भएका थिए । आसिफले २६ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए । सिंगापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले १–१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । सिंगापुरका ओपनर रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए । डेब्यू खेल खेलेका आर्यवीर चौधरीले २६ बलमा ५ चौकासहित ३७ रनको योगदान दिएका थिए ।


तीव्र गतिका बलर करण केसीले दोस्रो बलमै सिंगापुरका कप्तान अरित्र दत्तलाई शुन्यमा बोल्ड आउट गरेका थिए । त्यसपछि दोस्रो विकेटका लागि रोहन रंगराजन र सुरेन्द्रन चन्द्रमोहनले ५२ रनको साझेदारी गरे ।
स्पिनर सन्दीप लामिछानेले सातौं ओभरको पाँचौं बलमा चन्द्रमोहनलाई ६ रनमा बोल्ड आउट गर्दै सिंगापुरको साझेदारी तोडेका थिए । लगत्तै अर्को ओभरमा गुल्सन झाले २ विकेट लिएर नेपाललाई खेलमा फर्काए ।
आठौं ओभरको पहिलो बलमा गुल्सनले उत्कृष्ट प्रदर्शन गरेका रंगराजनलाई सन्दीप जोराको उत्कृष्ट क्याच आउट शिकार बनाए । मिडअफमा सन्दीप जोराले एक हातले उत्कृष्ट क्याच लिदै उनलाई पेभेलिएन फर्काएका थिए । अर्को बलमा गुल्सनले आमथ्र्य कौललाई शुन्यमा कट एण्ड बोल्ड गरे ।
राम्रो सुरुवात गरेको सिंगापुरले दुई रन जोड्न तीन विकेट गुमाएपछि ५२–१ को अवस्थाबाट ५४–४ को अवस्थामा पुगेको थियो ।
११ औं ओभरको दोस्रो बलमा सन्दीपले सिंगापुरका अलराउन्डर जनक प्रकाशलाई ७ रनमा एलबीडब्लू आउट गरे । एक समय १०.२ ओभरमा ७०–५ को अवस्थामा पुगेको सिंगापुरलाई विकेटकिपर मनप्रीत सिंह र अर्यावीर चौधरीले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गर्दै उकासेका थिए ।


करण केसीको १७ औं ओभरको तेस्रो बलमा ठूलो सर्ट खेलेका मनप्रीत लङअफमा रोहित पौडेलबाट क्याच आउट भए । उनले २६ बलमा ३ चौकासहित २४ रन बनाए । अक्षय पुरी ८ बलमा १ चौका र १ छक्कासहित १३ रनमा नट आउट रहे ।
नेपालका गुलसन झाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । करण केसीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा १ मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिए । नेपालले दोस्रो खेल मंगलबार मलेसिया र तेस्रो खेल बिहीबार ओमानसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ । फाइनलमा प्रवेश गरे नेपाल सन् २०१४ पछि पहिलो पटक टी–२० विश्वकपका लागि छनोट हुनेछ ।
यसैगरी युएईले पनि आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा बहराइनलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । समूह बी मा जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको युएईले १८.२ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो ।