भक्तपुर अदालतले आजबाट अत्याधुनिक नयाँ भवनबाट सेवा दिने

लक्ष्मी गारु, भक्तपुर, कार्तिक ३
भक्तपुर जिल्ला अदालतले आज (आइतवार)बाट भक्तपुर नगरपालिका–९ तुमुचो दुगुरे चोखा जग्गा एकिकरण आयोजनाको ब्रम्हायणी नजिकको आफ्नै नयाँ भवनबाट सेवा आरम्भ गर्ने भएको छ ।
दशैं बिदाको अघिल्लो दिनसम्म भक्तपुर दरवार स्क्वायरस्थित जिल्ला प्रशासन कार्यालयसँगै रहेको पुरानो र साँघुरो भवनबाट सेवा प्रदान गर्दै आएको अदालतले दशैं बिदामा सामान सारेर बिदा लगत्तै नयाँ अत्याधुनिक भवनबाट सेवा आरम्भ गर्न लागेको हो । त्यसको लागि सबै तयारी पुरा भइसकेको अदालतका श्रेष्टादार रितबहादुर पुलामी मगरले बताउनुभयो ।
अदालत बडादशैंको घटस्थापनादेखी कोजाग्रत पुर्णिमासम्म १५ दिन बिदा हुने गरेको छ । सोही अनुसार असोज २६ गतेसम्म पुरानो भवनबाट सेवा प्रवाह गरिरहेको अदालतको सामग्री असोज २७ गतेबाट नयाँ भवनमा सार्न शुरु गरेको थियो । नयाँ भवनबाट सेवा आरम्भ गर्न अदालत प्रशासनले घटस्थापनाको साइत पारेर पुजाआजा समेत गरिसकेको श्रेष्टादार मगरले बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ स्थित तुमोचो दुगुरे जग्गा एकिकरण आयोजना अन्तर्गतको ६ रोपनी १४ आना क्षेत्रफलमा अदालतको नयाँ भवन निर्माण गरिएको हो । अदालतले २०७३ सालमा करिव ११ रोपनी क्षेत्रफलको २ कित्ता जग्गा खरिद गरेको हो । जसमध्ये हाल ६ रोपनी १४ आनामा अदालतको नयाँ भवन निर्माण गरिएको छ । करिव साढे ४ रोपनी क्षेत्रफलमा भवन र बाँकी खुल्ला क्षेत्र रहेको छ ।
नयाँ भवन ३५१२ वर्ग मिटर क्षेत्रमा निर्माण गरिएको छ । सर्वोच्च अदालतले भक्तपुर अदालतको नयाँ भवन निर्माणका लागि २०७६ चैत्र ३ मा सूचना प्रकाशन गरी २०७७ असोज १७ गते केसी शर्मा समानान्तर जेभीसँग १ अर्ब ३६ करोड ६७ लाख ९० हजार ४८२ रुपैंयामा नयाँ भवन निर्माणको सम्झौता गरेको थियो ।
सम्झौता अनुसार निर्माण व्यवसायीले २०७७ असोज २१ गतेबाट भवन निर्माणको काम शुरु गरेको थियो । दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने भनिएपनि कोभिड माहामारीका कारण निर्धारित समय भन्दा एक वर्ष ढिलो गरी भवन तयार भएको हो । ठेक्का सम्झौता भन्दा एक करोड कम अर्थात एक अर्ब ३५ करोड ६३ हजार २४९ रुपैंयामा भवन तयार भएको श्रेष्टादार मगरले बताउनुभयो ।
अत्याधुनिक र सुविधासम्पन्न अदालतको नयाँ भवनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) एस कन्सल्टेन्ट प्रालि, पेन्सिल ईञ्जिनियरिङ कन्सल्टेन्सी प्रालि जेभीले गरेको हो ।
राष्ट्रिय भवन संहिता अनुसार निर्माण गरिएको भवन भूकम्प प्रतिरोधी रहेको छ । अदालत भवन २ तल्ला भुमीगत (अण्डरग्राउण्ड) सहित ७ तल्लाको रहेको छ । भुमीगत दुई तला पार्किङको लागि छुट्याएको छ । पहिलो तलामा सर्वसाधारण सेवाग्राहीका लागि ५० वटा कार र ८० वटा मोटरसाइकल पार्किङ गर्न सक्ने क्षमताको रहेको छ ।
दोस्रो तलामा न्यायधिश र कर्मचारीको लागि पार्किङको व्यवस्था गरिएको छ । उक्त पार्किङमा १५ वटा कार र १८ वटा भन्दा बढी मोटरसाइकलको क्षमता रहेको छ । भुमीगत तलामा नै २०० भन्दा बढीको क्षमता भएको क्यान्टिनको समेत व्यवस्था गरिएको छ । सोही तलामा स्टोर कक्ष समेत निर्माण गरिएको छ ।
भुईतलामा सुरक्षाकर्मी बस्ने कार्यकक्ष, मुद्दा दर्ता चलानी, बैंक काउण्टर, सूचना प्रविधि अधिकृत कक्ष, आईटी सर्वर कक्ष, श्रेष्टादारको कार्यकक्ष, हेल्प डेस्क, सरकारी वकिल कक्ष, म्याद तामेली, आरोपीलाई राख्ने कक्ष रहेको छ ।
दोस्रो तलामा इजलास, बेन्च, चेम्बर, मध्यस्तकर्ता कक्ष र बैठक कक्ष रहेका छन । तेस्रो तलामा पनि इजलास, बेन्चसँगै मुद्दा शाखा रहने व्यवस्था गरिएको छ भने चौथो तलामा इजलास, बेन्च र चेम्बरसँगै १५० जना अटाउन सक्ने सभाहल, पुस्तकालय, निर्माण गरिएको छ । २५० जना भन्दा बढी अटाउन सक्ने हल भने अहिलेको लागि खाली राखिएको छ । यसमा अदालतले आवश्यकता अनुसार संरचना निर्माण गर्ने भएको छ ।
भवनभित्र २४२ कोठा रहेका छन । भवनमा भूकम्प, आगलागी जस्ता सम्भावित विपतबाट बच्नको लागि आपताकालिन द्धार समेत राखिएको छ ।
नयाँ भवनमा बाल इजलाससहित १५ वटा इजलास निर्माण गरिएको छ । इजलास निक्कै आधुनिक र सुविधा सम्पन्न रहेको छ । हरेक इजलासमा न्यायधिश, दुई बेन्च सहायक, मुद्दामा बहश गर्ने वकिलहरुको लागि पोडियम, प्रतिवादीले बयान दिने स्थल र पक्ष विपक्ष बस्ने दुई वटा बेन्च राखिएको छ । १५ वटा इजलास भएपनि नयाँ भवनबाट तत्कालका लागि ८ वटा मात्र इजलास सञ्चालन गर्ने तयारी रहेको श्रेष्टादार मगरले बताउनुभयो ।
नयाँ भवनमा न्यायधिश र सर्वसाधरणहरुले प्रयोग गर्ने संरचना फरक फरक रहेको छ । न्यायधिशहरु पार्किङस्थल देखी इजलाससम्म जानका लागि छुट्टै भ¥याङ, लिफ्ट प्रयोग गरेर जाने व्यवस्था गरिएको छ । न्यायधिशहरुको लागि पिए कक्ष, चेम्बर, नीजि अध्ययन कक्ष हुँदैं इजलासमा जाने गरी संरचना निर्माण गरिएको छ ।
नयाँ भवनबाट कार्य सूचारु गरेपछि अदालतको कार्य सम्पदानमा सहजता आउने श्रेष्टादार मगरले बताउनुभयो । नयाँ भवनमा मेलमिलाप कक्षबाट मेलमिलापमा राम्ररी छलफल गराउन सकिने उहाँले बताउनुभयो ।
उहाँले पुरानो भवनमा मुद्दा मामिलामा सबै कर्मचारीलाई कम्युटर उपलब्ध गराउन नसक्दा कार्य क्षमता बढाउन नसकिएको अवस्थामा नयाँ भवनमा ती समस्या नहुने बताउनुभयो । “कार्यस्थल राम्रो र सुविधा सम्पन्न भयो भने कर्मचारीहरुले अझ उत्साहित भएर अझ उत्प्रेरित भएर सेवा प्रवाहमा चुस्तता ल्याउन सकिन्छ,” उहाँले भन्नुभयो ।
अहिले नयाँ सफ्टवेयर सँगै डिसेन्ट प्रणाली लागु भएपछि मुद्दा दर्ता हुने बित्तिकै हरेक कागजपत्र स्क्यान गरेर प्रणालीमा प्रविष्ट गर्नुपर्ने व्यवस्था छ । “स्क्यान गरेर प्रविष्ट ग¥यो भने नेपालभरी जहाँसुकै भएपनि मिसिल जहाँसुकैबाट हेर्न सकिने व्यवस्था हुन्छ । यसले न्याय सम्पादनमा सहजता ल्याउन मद्दत गर्छ,” उहाँले भन्नुभयो ।
अदालतसँगै बार पनि नयाँ भवनमा सर्ने तयारी भइरहेको नेपाल बार एशोसियसन भक्तपुर जिल्ला अदालत इकाईका अध्यक्ष रविन्द्र प्रदानले बताउनुभयो । “बार र बेन्च अलग अलग स्थानमा बस्दा असहज हुने भएकाले बारको नयाँ भवन निर्माण नभएसम्म अदालतकै भवनमा केही कोठा व्यवस्था गरेर बस्ने तयारी छ,” उहाँले भन्नुभयो ।