मध्यपुर थिमिमा मल्लकालिन युद्धको झल्को दिने खाँ पिहाँवईगु जात्रा

भक्तपुर, कार्तिक ९
बडादशैंको एघारौं दिन पापाङ्कुशा एकादशीको अवसरमा बुधवार मध्यपुर थिमिमा मल्लकालिन युद्धको झल्को दिने गरी खाँ पिहाँवईगु (खाँ निस्कने) जात्रा मनाईएको छ ।
तत्कालिन राजदरवारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवज लगायत मल्लकालिन युद्धमा प्रयोग हुने साधन बोकेर युद्ध कला प्रदर्शन गर्दै खाँ पिहाँवईगु जात्रा गरिएको हो ।
दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारहरुले जामा लगाएर खड्ग, ढाल र तरबार हातमा बोकेर तत्कालीन युद्धकला प्रदर्शन गर्दै नगरपरिक्रमा गरिएको हो ।


तत्कालिन दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा ईनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल)को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थियो ।
जात्रामा दसैंको नवमीमा तलेजु भवानीलाई चढाएको बलि र कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराईन्छ । विशेषगरी यो जात्रामा नायः पःमां (तत्कालीन दरबारका प्रमुख प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायको प्रत्यक्ष संलग्नता रहन्छ ।


जात्रामा महानवमीको राति तलेजुमा बलि दिइएको खःम्येको (राँगाको) टाउको समेत नगर परिक्रमा गराई प्रदर्शन गरिन्छ । जात्राका अवसरमा बालकुमारीमा भुईंफसी (कुभिण्डो) मार हानेर बली दिईन्छ । बली दिइएको कुभिन्डो प्रसादकोरुपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेको छ । जात्राको अन्तिममा भुईफसी मार हान्ने भएकाले यसलाई भुईफसी पालेगु जात्रा पनि भनिन्छ ।

मध्यकालमा थिमि स्वशासित (भक्तपुर नियन्त्रित) राज्य थियो । यसको सिमाना पूर्वमा निकोसेरा, पश्चिममा पुरानो सिनामंगल (एअरपोर्ट पारी), उत्तरमा मूलपानी वारी र दक्षिणमा ललितपुरको लुभु वारीसम्म फैलिएको विश्वास रहेको मध्यपुर थिमिमा सञ्चारकर्मी एवम् अध्येता केके मानन्धरले बताउनुभयो ।


तत्कालिन राज्यको प्रमुख प्रशासकीय केन्द्र हालको लायकू दरबार (आदर्श मावि) भएको सन्दर्भ अहिले पनि नेपाल सरकारबाट लाय्कुमा नायः पःमाको नियुक्ती गरिँदै आएकोले पुष्टि हुने मानन्धरले बताउनुभयो ।
“थिमि लायकूका हाल नायः पःमां श्यामकाजी पःमां श्रेष्ठ हुन् । जसरी नायः पःमां को अर्थ प्रधानहरुको अध्यक्ष अर्थात साधारणतया उहिलेको दरबारिया प्रधानमन्त्री जस्तै हो,” मानन्धरले भन्नुभयो ।


थिमि स्वशासित राज्यमा जोशी, कर्माचार्य, श्रेष्ठ, प्रजापति, कुटु, प्याथः, खड्गी, कपाली तथा अन्य समुदायको आवद्धता थियो । श्रेष्ठ थर मध्ये छुँ, खुटेखाटे, प्वात्या लगायतको आवद्धता दरबारिया प्रशासकको रुपमा र कुटु÷प्याथः समुदाय सैनिकको रुपमा दरबारमा थिए भने खड्गी समुदायले खाँ सम्बन्धीको काम गर्ने, बाजा बजाउने र कपाली समुदायले म्वायली बाजा बनाउनेको रुपमा काम गर्थे ।
मल्लकालीन युद्धकलाको झझल्को दिने खाँ पिहाँवइगु जात्रा सामावेशी प्रकृतिको भएकोले उहिलेको राज्य पनि समृद्ध र समावेशी दृष्टिकोणले सञ्चालन भएको अनुमान लगाउन सकिने मानन्धरले बताउनुभयो ।