गुह्यकाली भगवतीको साक्षात प्रतिमुर्ति दिव्यश्वरीमा भक्तजनको आगमन बृद्धि

भक्तपुर, कार्तिक ३
बडादशैंको नवरथासँगै मध्यपुर थिमि–१, लोहकिल्थलीमा अवस्थित दिव्यश्वरी मन्दिरमा श्रदालु भक्तजनको आगमन दिनप्रतिदिन बृद्धि हुन थालेको छ । बडादशैंको नवरथामा विशेष गरी काली भगवतीको विभिन्न स्वरुपको पुजा आराधना गर्ने परम्परा अनुसार भगवती गुह्यकालीको प्रतिमुर्ति दिव्यश्वरीमा पनि पुजा आराधना गर्ने भक्तजनको आगमन बृद्धि भएको हो ।
तान्त्रिक विधिपूर्वक प्रतिस्थापित दिव्यश्वरी भगवतीको अद्धितीय मुर्ति दर्शनीय स्वरुपको छ । भगवती दिव्यश्वरीको मुर्तिमा ११ वटा शिर रहेको छ भने दाँया २८ र बाँया २८ गरी कुल ५६ भुजा रहेको छ । त्यसमध्ये दिव्यश्वरीको १० शिर र एक शिर  योगमायाको भएको तान्त्रिक विद्यानाथ उपाध्याय भट्टले बताउनुभयो ।


मन्दिरको संरक्षणको लागि स्थापित दिव्यश्वरी सेवा समितिले मन्दिर र भगवती दिव्यश्वरीको महिमा र महत्वको बारेमा अध्ययन अनुसन्धान गरिरहेको छ । यसै सन्दर्भमा समितिले तान्त्रिक विद्यानाथलाई मन्दिर अवलोकन गराईएको थियो । उनै तान्त्रिकले देवीको ११ शिर मध्ये एक योगमायाको भएको बताउनुभएको समितिका प्रथम उपाध्यक्ष विजयकृष्ण खड्काले जानकारी दिनुभयो ।
करिव चार फिट उचाई भएको कृष्णा शिलामा कुँदिएको भगवतीले स्याललाई टेकेको छ र स्यालले योगमायाको खुट्टा टोकेको छ । स्याल भैरवमाथि रहेको छ । मुर्तिको तल्लो भागमा विभिन्न देवीदेवताको मुर्ति कुँदिएको छ ।


तान्त्रिक विद्यानाथका अनुसार दिव्यश्वरी गुहेश्वरी भगवतीको साक्षात आवरण मुर्ति हो । भगवतीको यस प्रकारको मुर्ति नेपालमा अन्यत्र कहीँ नभएको जनविश्वास रहेको छ ।
दिव्यश्वरी मन्दिरमा चार ढोका छन । भक्तजनहरु पुर्वी ढोकाबाट प्रवेश गर्दछन । मन्दिर प्रवेश गर्ने वित्तिकै श्रीयन्त्रको दर्शन गर्न पाईन्छ । श्रीयन्त्रमय यस मन्दिरमा श्रीयन्त्रकै स्थापना गरी पुजा आराधना गर्ने व्यवस्थाले शक्तिका उपासकका लागि यो मन्दिर महत्वपूर्ण मानिन्छ ।


मन्दिरको संरचना श्रीयन्त्रकै शैलीमा भएको र मन्दिरभित्र पनि श्रीयन्त्रकै स्थापना भएकाले यहाँ शुरुमा मूलतः तान्त्रिक विधिद्धारा शक्तिको पुजा अर्चना गर्ने व्यवस्था हुनुपर्ने विश्वास रहेकोले यसको खोज तथा अनुसन्धान भइरहेको समितिका अध्यक्ष केदार खड्काले बताउनुभयो ।
मन्दिरभित्र विभिन्न देवी देवताका मुर्तिहरु पनि रहेका छन । भगवती दिव्यश्वरीको मन्दिरभित्र पञ्चक्व भैरव, भैरव, कौमारी, महेश्वरी, ब्राम्ही, महालक्ष्मीलगायतका देवी देवताको मुर्ति पनि रहेको छ ।
समितिले मन्दिरमा अहिले दुई ब्राम्हण पुजारीको रुपमा राखेको छ । मन्दिरमा नित्य पुजाका साथै दैनिक बिहान र साँझ गरी दुई पटक आरती हुँदैं आएको छ ।
गुह्यकालीलाई गुह्येश्वरीको रुपमा पुज्ने गरेको छ । श्री स्वस्थानी व्रत कथाका आधारमा गुह्येश्वरीको उत्पत्ति सेतीदेवीको गुह्य पतनबाट भएको हो । सती देवीको अंग पतनबाट ५१ वटा शक्तिपिठहरुको उत्पत्ति भएको शास्त्रहरुमा उल्लेख भएको पाईन्छ ।
दिव्यश्वरी गुह्यकाली वा गुह्येश्वरीकै स्वरुप भएको विश्वास छ । काठमाण्डौं उपत्यकामा गुह्येश्वरीका चार मन्दिर छन, जसमध्ये एक पशुपति क्षेत्रमा गुह्येश्वरी, बालाजुमा पुरानो गुह्येश्वरी, हनुमान ढोका परिसरमा विभु र लोहकिल्थलीमा दिव्यश्वरी हुन ।