तान्त्रिक विधियुक्त नवदुर्गा देवगण सिद्ध गर्ने भक्तपुरको मोहनी नखाः

लक्ष्मी गारु, भक्तपुर, कार्तिक ४
आश्विन शुल्क प्रतिपदादेखी पूर्णिमाको दिनसम्म नवदुर्गा भवानीको आह्वान गरी मनाईने चाड हो बडादशैं । नेवार समुदायले भक्तपुरमा बडादशैंलाई मोहनी नखाः भनेर मनाइन्छ । यसपर्वलाई ठाँऊ विशेष अनुसार दशै, दुर्गापूजा, विजयादशमी, नवरात्री पनि भन्ने गर्दछन ।
महिषासुरलाई नवदुर्गा भवानीले सौन्दर्यको मोहनी लगाई आफ्नो वसमा पारी वध गरेको कारण नेवार समुदायमा दशैलाई मोहनी नखाः भन्ने गरिएको संस्कृतिकर्मी ओम धौभडेल बताउँछन । भक्तपुरमा मोहनी नखाः विशेष महत्वका साथ मनाउने गर्दछन । भक्तपुरको जिवित परम्पराहरु मध्ये तान्त्रिक नाचको देवगण नवदुर्गा सिद्ध हुने भएकाले बडादशैंलाई भक्तपुरबासीले विशेष महत्वका साथ मनाउने गरिएको संस्कृतिकर्मी धौभडेल बताउँछन ।
प्रत्येक वर्ष घण्टाकर्ण पर्वका दिनदेखी नवदुर्गाको मुकुण्डो बनाउने कार्य शुरु गर्छ । महानवमीको राती मांसाहुती यज्ञ गरी महिषासुर राक्षसको प्रतिक खम्येको बली दिएर ब्रम्हायणी मन्दिरमा नवदुर्गा देवगणले सिद्धि प्राप्त गर्दछन ।


घटस्थापनाको दिनदेखी नवरात्री शुरु हुन्छ । नवरात्रीमा भक्तपुरका स्थानीय बासिन्दा विभिन्न बाजागाजाकासाथ शक्तिपिठको दर्शनका लागी जाने गर्दछन । नवरात्रीमा भक्तपुरको ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, ईन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी, एकान्त कुमारी देवगृह र तलेजुमा विशेष मेला लाग्दछ ।
यो चाड १५ दिन मनाईने भएपनि विषेशगरी सप्तमीदेखि विजयादशमीसम्म बडो हर्षोल्लासका साथ मनाइने परम्परा छ । नेवार समुदायले सप्तमीको दिन घरघरमा फुलपाती र राँगोको मासु भित्र्याउने स्याकोट् मनाइन्छ । यो दिन तलेजुलाई आफ्नो देवगृहबाट कुमारी चोक(दशैं घर) मा स्थानान्तरण गरिन्छ । यसलाई द्यः क्वहा विज्याइगु (देवता तल आएको)भनिन्छ ।


महाअष्टमीको दिनमा नेवारहरुले दशैका लागि गुठीबाट ल्याएको मासुलाई पुजा गरेर भित्र्याउने परम्परा छ । यो दिन बिहानै नुहाई धुवाई गरी देवीलाई पूजा गरी सम्येखाई बेलुका कुछि भ्वय (दुई मानाको भोज) खाने गदर्छ । विशेषगरी केराको पातमा राखेर खाने यो भोजमा दुईमाना चिउरा, छोयला, अण्डा, माछा, अम्वा, केरा, बारालगायत १२ थरी पकवान आवश्यक पदर्छ । यो दिनमा १८ भुजा भएको भगवतीलाई आह्वान गर्न डमरु, घण्टा, शंख बजाई पुजा गर्छन । राती व्यासीबाट निकुथु(रागाँ) जात्रा गरी तलेजु भित्र्याउँछ ।
अष्टमी र नवमी बिचको रातलाई कालरात्री भनिन्छ । यो रातमा तलेजुमाा राजोपाध्य, जोशी र कर्माचायद्धारा विधिवत रुपमा पूजा गरी निकुथु सहित २५ राँगालाई बली दिइन्छ । पूजामा तलेजुलाई ८४ प्रकारका रोटीको मन्दिर बनाई चढाउने गर्छ । सो मन्दिरमा मुठल, छाना र गजूर समेत राखिएको हुन्छ । सोही रोटी विजयादशमीको दिनमा तलेजुको प्रसादको रुपमा बाड्ने गर्छ ।
महानवमीको दिनलाई दशैको महत्वपूर्ण दिनको रुपमा लिइन्छ । यसदिन तलेजुलगायत हरेकको घरघरमा भगवतीलाई भोगवली दिईन्छ । हरेकले आफ्ना काम गर्ने औजार, हातहतियार, सवारी साधन, किताब पुजा गर्दछन । नेवार समुदायले विशेष प्रकारको दियो बालेर सो दियो माथि माटोको सलिचा घोप्टो पारेर राखेर मोहनी बनाउने गर्दछ । यसै दिन नेवार समुदायमा घरमा सुख शान्ति र श्री प्राप्तिका लागि बेलविवाह नगरेका बालिकाहरुलाई जीवितदेवी कुमारी मानी सिङगारपटार गरेर नयाँ लुगा, चुरा, पञ्चामित्र दिएर ढुकुतीमा राखेर पूजा गरिन्छ ।


महानवमीको दिन बालिकालाई कुमारी मानेर पुजा गर्ने लोककथा भक्तपुरका राजा जगज्योति मल्लसँग जोडिएको छ । राजा जगज्योतीसँग तलेजु भवानी स्त्रीको रुपमा सधैपासा खेल्न आउने गर्दथिन । एक दिन राजाले तलेजु प्रति कुदृष्टी लगाएपछि तलेजु रिसाएर पासा खेल्न आउन छाडिदिइन् । यसबाट राजा साहै दुःखी भएको देखेर तलेजु भवानी सपनामा आई ममाथि भक्ति छ, मसँग कुरा गर्ने हो भने नवमीको दिन शाक्य वा बज्राचार्यकी छोरी ल्याई मेरो आह्वान गरी पूजागर्नु भनी राजालाई आदेश दिईन । सोही अनुसार आजपनि भक्तपुरमा महानवमीको दिन शाक्य र बज्राचार्यको छोरीलाई कुमारी पुज्ने प्रचलन छ । यो पुजा गर्ने ठाउँ कुमारी चोक नामले प्रचलित रहेको छ ।
महानवमीको साँझ नवदुर्गा देवगणको सिद्धी प्राप्तीको लागि बलिदिन भक्तपुर नगरपालिका–३, गछेंस्थित नवदुर्गा देवीको द्यछें (देवघर)भित्र राखेर पालन पोषण गरिएको खम्ये दौडाएर ब्रम्हायणी शक्तिपिठ पु¥याउने प्रचलन रहेको छ । यो प्रचलनलाई भक्तपुरमा खम्ये जात्रा भनिन्छ । यो जात्रा महिषासुर राक्षसको वधसँग गाँसिएको छ । भक्तपुरमा खम्येलाई सोही महिषासुर राक्षससँग तुलना गरिन्छ । भक्तपुरमा राक्षसी स्वरुप खम्येको हार र देवी शक्तिको जीतको रुपमा खम्ये जात्रालाई लिने गरिन्छ । यो जात्रा नवदुर्गा देवीहरु मिलेर महिषासुरलाई वध गरेको खुशियालीमा मनाउने एक मात्र पृथक जात्रा हो । नवमीकै दिन राती लालाछेंमा नवदुर्गाको मुकुण्डो प्रर्दशन गरी देवगण आएर मुकुण्डो ब्रम्हायणी शक्तिपिठ लिएर जाने परम्परा छ ।


दशमीको दिन भवानीलाई विधिवत रुपमा अन्तिम पूजा गरिन्छ । यो दिन देवी दुर्गा भवानीले महिषासुर राक्षसको वध गरेको विश्वासमा विजय मनाउने भएकाले यस दिनलाई विजयादशमी भन्ने गरेको संस्कृतिविद्हरु बताउँछन । यो दिन भक्तपुरको ब्रम्हायणीमा ठूलो मेला लाग्दछ । यस दिन घटस्थापनाको दिन राखेको जमरा र महानवमीको दिन विशेष प्रकारले बनाएको मोहनी टिका देवीको प्रसादको रुपमा शिरमा लगाईन्छ । तलेजुमा विधिवत रुपमा अन्तिम पूजा गरी कुमारी घरमा रहेको तलेजुलाई पुन देवगृहमा विराजमान गराइन्छ ।
राती ब्रम्हायणीबाट नवदुर्गा फर्केपछि खड्ग जात्रा निकालिन्छ । देवीले दैत्यहरुलाई वध गरेको सम्झनामा यो जात्रा सञ्चालन गरिएको संस्कृतिकर्मीहरु बताउँछन् । खड्ग जात्रालाई पायो जात्राको रुपमा लिइन्छ । यो जात्रामा तलेजु भवानीलाई नवदुर्गा गणसहितले विधिवत रुपमा पुजा गर्दछन । यो जात्रामा तलेजुको वाहन सेतो घोडा दौडाउनुका साथै फलामे पोशाक लगाएका मानिस जात्रामा सामेल हुन्छ ।
किम्वदन्ती अनुसार सत्ययुगमा दैत्यहरुले ब्रम्हाको तपस्या गरे । ब्रम्हाले खुशी भई दैत्यहरुलाई वरदान माग्ने आज्ञा दिए । दैत्यहरुले कसैले मार्न नसक्ने वरदान माग्दा ब्रम्हाले स्वास्नीमान्छे बाहेक कसैले मार्न नसक्ने वरदान दिए । वरदान प्राप्त गरेपछि दैत्यहरु स्वर्गमा गई देवताहरुलाई दुःख दिन थाले । यो देखेर महादेव, इन्द्र र विष्णु मिलेर शक्ति स्वरुपा देवीको उत्पति गराए । दैत्यहरुसँग युद्ध गराए अन्तःमा मूख्य मूख्य दैत्यहरु सबै मारिए । बाँकी भएका दैत्यहरु कोही हाँस भए, कोही कुखुरा भए, कोही बोका, कोही राँगा भए । देवीले त्यसरी दोपाया र चौपायामा प्रवेश गरेका दैत्यहरुलाई खोजी खोजी मार्न थाले । यसैको सम्झनामा खड्ग जात्रा शुरु भएको लोककथन रहेको पाईन्छ ।