आविष्कारहरू मानव जगतको संहारकको रूपमा उपयोग हुँदैछ–अध्यक्ष बिजुक्छें

भक्तपुर, असोज २४
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले संसारका आविष्कारहरू मानव जगतको संहारकका रूपमा पनि उपयोग हुँदै गएको बताउनुभएको छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा भएको तीन दिने ‘कम्प्यूटर, विद्युत, सञ्चार प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०२३’ को बुधवार उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेंले संसारका आविष्कारहरू मानव जगतको हितको निम्ति मात्र नभई संहारकका रूपमा पनि उपयोग हुँदै गएको बताउनुभएको हो ।


“आविष्कारहरू निश्चय पनि विस्मयकारी छन् र मानव जातिको बौद्धिक शक्तिको उदाहरण पनि हो । तर, सबै आविष्कारहरू मानव जगतको हितको निम्ति मात्र नभई मानव जगतको संहारकका रूपमा पनि उपयोग हुँदैछ । एक महाशक्तिले प्रयोग गर्ने जैविक, आणविक र रासायनिक हतियारको प्रयोगले वर्तमान मानव समाजको मात्र होइन निर्दोष भविष्यका मानव जाति पनि त्यसको नकारात्मक र विकराल परिणाम भोग्न बाध्य हुन्छ । यसकारण, अनेक विनाशक हातहतियारको उत्पादन र प्रयोगमा समेत सीमाबद्धताको आशा संसारले गर्दैछ,” उहाँले भन्नुभयो ।
कृत्रिम बौदिकताको बढ्दै गरेको चमत्कारिक सम्भावित सफलताको नकारात्मक परिणामहरूबारे सधंै चिन्तनमनन जरुरी रहेको बताउँदै उहाँले आधुनिक अविष्कार, कम्प्युटर, विद्युतीय स्वचालित सामान र सूचना प्रविधिको निम्ति गरिने छलफल कृत्रिम बौद्धिकताबाट हुने सकारात्मक र नकारात्मक परिणामतर्फ पनि केन्द्रित हुनु आवश्यकता औंल्याउनुभयो ।


इन्टरनेट, कम्प्युटर, विद्युतीय सामग्रीहरू एवं नवसञ्चार व्यवस्थाको कारण संसारले व्यवहार र विचारमा एक गाऊँ र परिवारको रूप लिँदै गइरहेको बताउँदै अध्यक्ष बिजुक्छेँले कम्प्युटर, मोबाइल तथा इन्टरनेटको उपलब्धताले हरेक क्षणका घटनाका समाचारहरू र जानकारीहरू तत्कालै पाउने सुविधा प्राप्त भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सञ्चार र प्रविधिको कारण कोरोना–कालको हाहाकारको समयमा अभौतिक रूपमा भएका अन्तर्राष्ट्रिय सेमिनार, सम्मेलन र जानकारीहरूको आदान प्रदान एवं छलफलहरूबाट विज्ञान र प्रविधिको नयाँ युगको प्रत्यक्ष अनुभव गर्न पायौं ।”
कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्वविद्यालयहरू नयाँ नयाँ विषयको खोज अनुसन्धानको केन्द्र बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले विज्ञान र प्रविधिको विकासमा अगाडि बढेको देश आर्थिक र साँस्कृतिक रुपमा पनि अगाडि बढ्ने बताउनुभयो ।


उहाँले प्रजग कोरिया, क्यूवालगायत समाजवादी देशहरुले नयाँ नयाँ प्रविधि व्यापक जनताको हित र देशको सम्बृद्धीको लागि प्रयोग गर्दै अगाडि बढिरहेको उदाहरणहरु प्रस्तुत गर्नुभयो ।
अमेरिकाले कमजोर र अल्पविकसित देशहरुलाई नयाँ नयाँ प्रविधिको प्रयोग गरेर आफ्नो नियन्त्रणमा राख्ने अपराध गर्दै आइरहेको आरोप लगाउँदैं उहाँले व्यक्ति, राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा पनि प्रविधिको विकासले ठूलो प्रभाव पारिरहेको बताउनुभयो ।
बागमति प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले अन्तर्राष्ट्रिय सम्मेलनले कलेजको अन्वेषण र नवीनताको यात्रालाई कोशेढुंगा सावित गर्नेमा विश्वस्त रहेको बताउँदै सम्मेलन अवधिभर नेपाली विद्यार्थीहरु, प्राध्यापक र विदेशी पाहुनाबीच हुने अन्तरक्रिया र अनुभव आदानप्रदान फलदायी र ज्ञानबद्र्धन हुने अपेक्षा राख्नुभयो ।


उहाँले विज्ञान र प्रविधिमा भइरहेको दूत प्रगतिले थुप्रै सम्भावना र अवसरको लागि ठाउँ प्रष्ट गरेको भन्दै कम्प्युटर, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र सञ्चार प्रविधिको विकासले व्यक्तिगत जीवनशैली र सिंगो मानव समाजलाई नै उच्च तहमा पु¥याएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले अनुसन्धानमा आधारित शिक्षण प्रविधिले सभ्य र सुसंस्कृत समाज निर्माणमा विशेष टेवा पु¥याउने बताउनुभयो ।
नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पद्मबहादुर शाहीले विश्वविद्यालय सञ्चालनको लागि यस किसिमको अन्तर्राष्ट्रिय सम्मेलन उपयुक्त प्लेटफर्म भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमख प्रशासकीय अधिकृत विजयकुमार शर्माले शिक्षण र सिकाइको लागि उपयुक्त मञ्चको रुपमा यो सम्मेलनलाई ग्रहण गर्नुपर्ने बताउँदै समाजको दिगो विकासमा पनि यसले टेवा पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो ।


२०२३ अक्टोबर ११ देखि १३ सम्म चल्ने अन्तर्राष्ट्रिय सम्मेलनका मुख्य वक्ताको रुपमा बेलायतका डा. डिजामिला एमिमर, दक्षिण कोरियाका प्रो.डा. किम हियोन ताई, नर्वेका प्रो.डा. एफ. गोन्जालेज, लंगेट, भारतका डा. आसिस खन्ना र भारतका किशोर तनिकेल्ला रहेका छन् ।
सम्मेलनमा बंगलादेश, भारत, जापान, पाकिस्तान, दक्षिण कोरिया, चीन, बेलायत, नर्वे र नेपाल गरी ९ वटा देशका सहभागी र प्रस्तुतकर्ताहरु रहेका छन् । आजको सम्मेलनमा २ जना मुख्य वक्ता रहेका छन् भने ३६ वटा कार्यपत्र प्रस्तुत गरिएको कलेजका प्राचार्य सुजन माकले जानकारी दिनुभयो ।