इजरायलमा हमासको आक्रमणमा मारिने नेपालीको सम्झनामा सल्लाघारीका दीप प्रज्वलन

भक्तपुर, असोज २३
इजरायलमा हमासको आक्रमणमा मारिने नेपाली विद्यार्थीहरुको सम्झनामा भक्तपुरको सल्लाघारी तिनकुनेमा दीप प्रज्वलन गरिएको छ । नेपाल तरुण दल भक्तपुरको आयोजनामा मंगलवार साँझ दीप प्रज्वलन गरिएको हो ।
सो अवसरमा नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले इजरायलमा मारिने नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली अपर्ण गर्दै जुनसुकै बहानामा गरिएको आतंककारी हमला कुनैपनि दृष्टिले सही मान्न नसकिने बताउनुभयो । उहाँले सरकारले बाँकी नेपालीको यथाशिघ्र उद्धार गर्नुपर्नेमा जोड दिँदैं सरकारको प्रयासको प्रशंसा गर्नुभयो ।


सो अवसरमा नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ र २ का सभापतिहरु, नगर सभापतिहरु, बागमति प्रदेश कमिटीका सदस्यहरु, नेपाल तरुण दलका केन्द्रीय सदस्यहरु, जिल्लाका पदाधिकारी एवम् सदस्यहरु र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
गत असोज २० गते हमासले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेको थियो । त्यस आक्रमणमा परेर कृषि अध्ययनका लागि इजरायल पुगेका १० नेपाली विद्यार्थीको ज्यान गएको छ ।
इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए । उनीहरूमध्ये कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका हुन् ।