क्यान्सर सचेतना महोत्सव तथा देविका बन्दना सांगीतिक साँझ–२०८० सम्पन्न

भक्तपुर, असोज २०
अंग्रेजी पात्रोको अक्टोरबर महिनालाई क्यान्सर सचेतना महिनाको रुपमा लिईन्छ । यस अवसरमा क्यान्सर सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिन्छ । यसै सन्दर्भमा भक्तपुरमा क्यान्सर सचेतना र सांगीतिक प्रस्तुतीलाई समायोजन गरी क्यान्सर सचेतना महोत्सव तथा देविका बन्दना सांगीतिक साँझ २०८० आयोजना गरिएको छ ।
दिक्षा गौरी हाडा स्मृति प्रतिष्ठान र लायन्स क्लव अफ भक्तपुर भैरवको संयुक्त आयोजना गरेको कार्यक्रममा क्यान्सरलाई जित्न सफल गायिका देविका बन्दनाले गित संगित प्रस्तुत गर्नुका साथै क्यान्सर सम्बन्धी चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुले क्यान्सरका बारेमा विविध जानकारी दिनुभयो ।
रञ्जना सितुखु र राज माकको देवी महाकाली र महिषासुरको नृत्य महिषासुर बधबाट शुरु भएको कार्यक्रममा गायिका बन्दनाले एउटा परदेशी आई सोध्यो मेरो नामबाट आफ्नो प्रस्तुती दिनुभएको थियो । त्यसपछि यस्तै रहेछ यहाँको चलनबाट दर्शक स्रोतालाई मन्त्रमुग्ध बनाउनुभएको थियो ।


गायिका बन्दनाले क्रमशः ‘यो माया के हो’, ‘तिमिलाई हेर्ने यी आँखामा’, ‘तिम्रो मायाको सागरमा’, ‘सपनीमा आई सतायौ मलाई’, ‘भरे आउँछु सपनीमा’, ‘आँखी झ्यालैमा’, ‘अच्छा लेकिन लण्डनको जाडोले’, ‘नहिँड कान्छी’, ‘सपनी मै हो की’, ‘ए संगिता’ र मिक्स ट्रयाकमा गरी १३ वटा आधुनिक तथा चलचित्रका गित प्रस्तुत गर्नुभयो साथै उहाँले जिगु बैंस धाल बोलको नेवारी गित पनि प्रस्तुत गर्नुभएको थियो ।
उहाँलाई भक्तपुरका स्थानीय कलाकारहरु सत्य नारायण प्रजापति, रवि हाडा, राजेश महर्जन, कपिल कसपालले साथ दिनुभएको थियो । कार्यक्रममा रश्मी खत्रीको समूहको नृत्य, सन्ध्या व्यान्जु र अंकित किसीले गितसँगै नृत्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा डा. उत्सवमान श्रेष्ठ र डा कपिन्द्र शेखर अमात्यले स्तन क्यान्सर, डा. अनु बज्राचार्यले सर्भिकल क्यान्सर, डा विजेश राज घिमिरेले पोषण र जीवनशैली, डा सुवर्णमान तुलाधरले फोक्सोको क्यान्सर, डा. श्रीकृष्ण कासिछ्वाले पेडियट्रिक क्यान्सरका बारेमा सचेतनामूलक प्रवचन दिनुभएको थियो । साथै लायन उत्तम झाले लायन र क्यान्सरबारेमा जानकारी दिनुभएको थियो ।


सोही अवसरमा हालै काठमाण्डौँमा सम्पन्न ५५औ एसियन शारीरिक सुगठन प्रतियगितामा स्वीमिङसुट फिजिक्समा स्वर्ण पदक जित्न सफल सनम मुलगुठीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ कलाकार, हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठ, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, लायनको डिष्ट्रिक्ट गर्भनर ३२५ जी लायन दिपक कृष्ण प्रजापति, करिष्ठ संगीतकार दिपक जंगम, वरिष्ठ रचनाकार सुभाषचन्द्र ढुंगेल, वरिष्ठ गायक एवम् संगीतकार शिलाबहादुर मोक्तान र कुन्ती मोक्तानलगायत भक्तपुरका स्थानीय कलाकार, एवम् लायन्सका सदस्य, उद्योगी, व्यवसायी, समाजसेवी, सञ्चारकर्मीहरुलगायत करिव ५ सय जनाको सहभागिता रहेको थियो ।