एसियाली खेलकुदको करातेमा एरिकालाई ऐतिहासिक रजत पदक

भक्तपुर, असोज २०
नेपाली कराते खेलाडी एरिका गुरुङले १९ औं एसियाली खेलकुदमा शनिबार ऐतिहासिक रजत पदक जितेकी छन् । हाङझावस्थित लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा नेपालका लागि ऐतिहासिक रजत दिलाएकी हुन् । फाइनलमा एरिका काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अंकले पराजित भइन् ।
यसअघि एरिकाले सेमिफाइनलमा हङकङकी यान काई होलाई ८–४ अंकले हराउँदै स्वर्ण भिडन्त पक्का गरेकी थिइन् । क्वाटरफाइनलमा एरिकाले जापानकी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् । दुवैले समान १–१ अंक जोडे पनि पहिलो अंक पाएको आधारमा एरिका सेमिफाइनलमा पुग्न सफल भएकी थिइन् ।
एरिकाले नेपालका लागि एसियाडको करातेमा जितेको यो पहिलो रजत पदक हो । एसियाडको इतिहासमा नेपालको यो समग्रमा तेस्रो रजत हो ।
यसअघि नेपालका लागि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ को बैंकक एसियाडमा ब्यक्तिगत रजत र १८ औं एसियाली खेलकुदमा नेपालको प्याराग्लाइडिङ पुरुष टोलीले टिम स्पर्धामा रजत जितेको थियो । नेपालका लागि यो समग्रमा तेस्रो र ब्यक्तिगत स्पर्धामा भने दोस्रो एसियाड रजत पदक हो ।
कराते एसियाडमा नेपालका लागि पदक दिलाउँदै आएको खेल हो । यसअघि सन १९९४ मा जापानको हिरोशिमामा भएको एसियाडमा करातेबाट सीता राई, सन् १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले र सन् २०१४ को इन्चोन एसियाडबाट विमला तामाङले कास्य पदक दिलाएका थिए ।
नेपाली टोलीका सेभ दि मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एरिकालाई ऐतिहासिक पदक जित्न सफल भएकोमा बधाइ दिदै एरिकाले सिंगो राष्ट्रको शिर उचो बनाएको बताए ।
‘‘मैले आफुले सकेको प्रदर्शन गरे । फाइनलमा सोफ्याले राम्रो खेलिन् । आगामी दिनमा झन् धेरै कडा मिहिनेत गर्नेछु,” एरिकाले भनिन् ‘‘मैले फाइनल खेलाई हार भन्दापनि एउटा पाठको रुपमा लिएको छु । यसले मलाई थप मोटिभेसन दिएको छ ।’’
एरिकाले थप एक्सपोजर पाउँदै गए अन्य नेपाली खेलाडीले पनि राम्रो गर्न सक्ने बताइन् । ‘‘देशका लागि पदक जित्न सक्दा मैले आफुलाई भाग्यमानी ठानेकी छु । गर्वको अनुभुति भइरहेको छ । अझै धेरै गर्नुछ, यो एउटा स्टेप मात्र हो,’’ १९ वर्षीया एरिकाले भनिन् ।
नेपाली टोलीका प्रशिक्षक एवं साग स्वर्णधारी कुशल श्रेष्ठले नेपाललाई प्रशिक्षकको रुपमा रजत दिलाउन पाउँदा ज्यादै खुशी लागेको बताए । ‘‘कराँतेले ऐतिहासिक पदक जितेको छ । हामीले जसको भिडियो हेरेर खेलेका थियौँ, फाइनलमा उसैसँग खेल्न पाएका छौँ । यसलाई अझ अपग्रेड गरेर अगाडि बढे अर्को पटक स्वर्ण पदक जित्न सकिन्छ,’’ कुशलले भने ।
शनिबारै नेपालका सन्तोष श्रेष्ठ पुरुष ६७ केजीमुनि तौल समूहको प्रिक्वाटरफाइनलमा थाइल्यान्डका फियन्डी चाईवाटसँग ३–२ अंकले पराजित भएका थिए ।