मानव कल्याण समाजको सहयोगार्थ नारायण गोपाल स्मृति साँझ

भक्तपुर, असोज २०
जर्मन होम्स हस्पिटालिटीले मानव कल्याण समाज झौखेललाई सहयोग गरेको छ । जर्मन होम्सको दोस्रो वार्षिकोत्सवको अवसरमा शुक्रवार नारायणगोपाल स्मृति साँझ च्यारिटी शो आयोजना गरी मानव कल्याण समाजलाई सहयोग गरेको हो ।
च्यारिटी शोमा जर्मन होम्सले समाजलाई नगद ५० हजार सहयोग गरेको म्यानेजर महेश गौतमले बताउनुभयो । सोही अवसरमा जनप्रेमी वल्र्ड स्कुल कौशलटारका प्रिन्सिपल एवम् प्याव्सन मध्यपुर थिमिका अध्यक्ष निलेश आचार्यले १० हजार, वेदिक स्कुलले २५० थान टिसर्ट र नगद ५ हजार ५ सय सहयोग गरेको समाजका सञ्चालक सुमित्रा चौलागाईंले बताउनुभयो ।
कार्यक्रममा विष्णु नेपाली, सुरज थापा, रागमणी व्याडलगायत विभिन्न गायक गायिकाहरुले स्वर सम्राट नारायण गोपाल गुर्वाचार्यका कालजयी गितहरु ‘केही मिठो वात गर’, ‘यति चोखो यति मिठो’, ‘अल्झेछ क्यार पछ्यौरी तिम्रो चियाको बोटमा’, लगायत करिव एक दर्जन कालजयी गित गाउनुभएको थियो । साथै सो अवसरमा विभिन्न सांगेतिक प्रस्तुती समेत पस्केको थियो । कार्यक्रममा करिव ३ सय जनाको सहभागिता रहेको थियो ।


व्यवसाय नाफामूलक भएपनि व्यवसायलाई मानव सेवामा पनि समर्पित गर्ने उद्देश्यले दोस्रो वार्षिकोत्सवको अवसरमा खुला आकाशमूनी सडक जीवन विताउन विवश घरबारविहीन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मनोरागी, अनाथ, अपाङ्ग, अशक्त, असहाय एवं सहयोगापेक्षी मानवहरुको उद्दार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन तथा पारिवारिक पुनर्मिलन हुन नसकेका मानवहरुको मानवोचित व्यवस्थापन गर्दै आएको मानव कल्याण समाजलाई सहयोगार्थ च्यारिटी कार्यक्रम आयोजना गरिएको जर्मन ओम्सका सञ्चालक रामशरण तिमल्सिनाले बताउनुभयो ।
उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत भविष्यमा यस्तै कार्यक्रम आयोजना गर्दै सामाजिक कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा आश्रमका सञ्चालक सुमित्रा चौलागाईंले आश्रम यस्तै विभिन्न सहयोगी मन, दाताहरुको सहयोग, कसैको जन्म दिन वा कसैको पुण्य तिथिमा आफन्तले सम्झना स्वरुप आश्रमआएर दिएको दानबाट सञ्चालन गरी विभिन्न कारणले सडकमा आइपुगेका मानवहरुको उद्धार गरी उनीहरुको लालनपालनमा खर्च गर्दै आइरहेको बताउनुभयो ।