गणेशमान सिंह सम्पूर्ण नेपालीले मानेका सर्वमान्य नेता हुन–राष्ट्रपति पौडेल

भक्तपुर, असोज २
राष्ट्रपति रामचन्द्र पौडेलले गणेशमान सिंहलाई अन्य उपनाम भन्दा पनि सर्वमान्य नेताको रुपमा आफुले पाएको बताउनुभएको छ । भक्तपुरको कटुञ्जेमा मंगलवार गणेशमान सिंहको पूर्णकदको प्रतिमा अनावरण कार्यक्रममा राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमानलाई सबैले नेता स्विकार गरेकोले अन्य उपनाम भन्दा पनि सर्वमान्य नेता बढी उपयुक्त हुने र आफुले सोही अनुसार लिएको बताउनुभएको हो ।
‘‘गणेशमान सिंहलाई म सर्वमान्य नेताको रूपमा मान्छु । नेपालमा एउटा नेता गणेशमान सिंह हो । एक पटक सम्पूर्ण नेपालीले नेता माने । वामपन्थी र कांग्रेस नभनी सबैले मानेको नेता उहाँ नै हो,” उहाँले भन्नुभयो ।
उहाँले गणेशमानले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने सन्देश दिएको बताउँदैं उक्त सन्देश युवा र नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको औंल्याउनुभयो । “राष्ट्र निर्माणका लागि जीवन समर्पण गर्ने आदर्श त्याग र निष्ठावान् नेता गणेशमानको सन्देश वर्तमान र भावी पुस्तासम्म पु¥याउन आवश्यक छ,” उहाँले भन्नुभयो ।


राजाले प्रधानमन्त्री बन्नुभन्दा समेत अस्वीकार गरेको स्मरण गर्दै उहाँले पूर्ण कदको प्रतिमासहितको गणेशमान पार्कले उहाँको आदर्शपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्धत पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
आफ्नो राजनीतिक जीवनमा गणेशमान सिंहसँग लामो समय सहकार्य, साथ र सामीप्यता पाएको स्मरण गर्दै राष्ट्रपति पौडेलले त्यो सामीप्यताले आफूलाई पनि सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको बताउनुभयो । उहाँले लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्रै होइन जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाउनुभएको बाटोमा हिँड्नसक्नु उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।


गणेशमान जस्तो महापुरुषको नाममा स्थापना गरिएको १७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले व्यस्त जीवन शैलीका उपत्यकाबासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्नसक्ने र यसलाई आन्तरिक पर्यटनको एउटा गन्तव्य समेत बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले गणेशमानको नाममा वाटिका बन्नु भक्तपुरबासीका लागि गौरव र भाग्यको विषय भएको बताउनुभयो । “यसले भक्तपुरको पर्यटन विकासमा महत्वपूर्ण योगदान दिन सक्छ । कसैले गणेशमान सिंह पार्क बनाए भनेर चित्त दुखाउनु पर्ने ठाउँ छैन,” उहाँले भन्नुभयो ।
कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महतले वाटिकाको गुरुयोजना अनुसारको कार्य गर्न सरकारले आवश्यक बजेट उपलब्ध गराउने विश्वास दिलाउनुभयो । प्रजातान्त्रिक आन्दोलनमा गणेशमान सिंहले देखाउनु भएको अदम्य साहसको चर्चा गर्दै उहाँले गणेशमान सिंहको अटल र दृढ अठोट नभएको भए सम्भवतः नेपालमा अझै प्रजातन्त्र पुनःस्थापना हुनेमा आशंका व्यक्त गर्नुभयो ।


नेपाली कांग्रेसका नेता एवम् गणेशमान सिंह फाउण्डेसनका संरक्षक प्रकाशमान सिंहले कटुञ्जेमा गणेशमानको नाममा वाटिका निर्माण गरी पूर्ण कदको प्रतिमा राख्न स्व. रामेश्वर प्रसाद ढुंगेलले आफुलाई सधै झकझकाएको स्मरण गर्नुभयो ।
भक्तपुर क्षेत्र नं. २ का सांसद एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले देश र जनताको लागि जीवन बलिदान गर्ने नेताको स्मरण निर्माण गरिएका वाटिका जस्ता संरचनाको गुरु योजना अनुसारको निर्माण कार्यका लागि केन्द्रीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले गणेशमान सिंहलाई राजनेताको रुपमा स्मरण गर्दै राजनीतिमा सबैलाई मिलाएर नेतृत्व गर्न सक्ने खुवी गणेशमानमा रहेको बताउनुभयो । उहाँले कुनै दल विशेषको नेताबाट माथि उठेर देशकै नेताको रुपमा स्थापित हुन गणेशमानले प्रेरणा दिने बताउनुभयो ।
गणेशमान सिंह वाटिका एवम् प्रतिमा निर्माण, संरक्षण समितिका अध्यक्ष माथवरसिंह बस्नेतले शिलान्यासको लामो समय बितेपनि प्रतिमा निर्माण सम्पन्न गरी अनावरण हुनु आफैंमा उपलब्धी भएको बताउनुभयो ।
सो अवसरमा राष्ट्रपति पौडेलले समितिले प्रकाशन गरिएको स्मारिका विमोचन गर्नुका साथै वाटिकाका परिकल्पनाकार एवम् समितिका संस्थापक अध्यक्ष स्व. रामेश्वर प्रसाद ढुंगेललाई मरणोपरान्त र गणेशमानको प्रतिमा निर्माण गर्ने मुर्तीकार महेश तुलाधारलाई सम्मान गरिएको थियो ।
गणेशमानको प्रतिमा १२ फिट अग्लो रहेको छ । एक हजार २ सय किलो ढलोटले निर्माण गरिएको प्रतिमा वाटिकाको प्रमुख आकर्षणको रुपमा रहेको छ ।