राधेराधे चोकदेखी निकाशेरा जाने सडकमा पार्किङ निषेध

भक्तपुर, भदौ २६
मध्यपुर थिमि राधेराधे चोकदेखी निकाशेरा जाने सडकमा आज मंगलवारदेखी पार्किङ निषेध गरिएको छ । पछिल्लो समय व्यस्त व्यापारिक क्षेत्रको रुपमा विकास भएको राधेराधेमा अव्यस्थित पार्किङले सडक दुर्घटनाको जोखिम बढ्नुका साथै बजार सौन्दर्य समेत प्रदुषित भएपछि मध्यपुर थिमि नगरपालिका र महानगरिय ट्राफिक प्रहरी परिसर भक्तपुरको संयुक्त पहलमा सो क्षेत्रमा पार्किङ निषेध गरिएको हो ।


पहिलो चरणमा राधेराधे चोकदेखी करिव २ सय मिटरमा पार्किङ निषेध गरिएको ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख ट्राफिक प्रहरी निरिक्षक सन्तोष न्यौपानेले बताउनुभयो । “अहिले हामी पहिलो चरणमा छौं । जनशक्ति पनि केही अभाव छ । त्यसैले अहिले राधेराधे चोकबाट करिव २ मिटरलाई पार्किङ निषेध गरिएका छौं,” उहाँले भन्नुभयो ।  उहाँले क्रमशः रोधराधेदेखी निकोशेरासम्म पार्किङ निषेध गरिने जानकारी दिनुभयो ।


पार्किङका लागि विकल्पको रुपमा भाटभटेनी सुपर मार्केट र भित्रि सडकमा व्यवस्था गरिएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । राधेराधे चोक अत्यन्त व्यस्त भएको र साँघुरो सडकका कारण जुनसुकै बखत ठूलो दुर्घटना हुने जोखिम बढेको र जथाभावी पार्किङका कारण ट्राफिक जाम हुने गरेको जनगुनासो बढेका कारण पनि उक्त मूख्य सडकमा पार्किङ निषेध गरिएको उहाँले बताउनुभयो ।