विपि जन्मजयन्तीको अवसरमा बोडेमा वृक्षारोपण

भक्तपुर, भदौ २४
महामानव विपि कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा मध्यपुर थिमि–८ बोडेको लाँख्यो पार्कमा वृक्षारोपण गरिएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि वडा नं. ८ ईकाइ समितिको आयोजनामा सो वृक्षारोपण गरिएको हो ।
सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले विपि नेपाल र एसियामा मात्र नभई विश्वमा परिचित समाजवादी नेता भएको बताउनुभयो । उहाँले मध्यपुर थिमिको पहिलो खानेपानी ट्यांकी र धारा वितरणमा विपिको सहयोग रहेको बताउनुभयो ।


खानेपानीको अभावले दैनिक जीवन कष्टकर बन्दै गएपछि थिमिका तत्कालिन कांग्रेस नेताहरुको पहलमा विपिले सहयोग गरेपछि बोडेमा खानेपानीको ट्यांकी निर्माण गरी टोल टोलमा सार्वजनिक धारा वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
देशको विकासमा युवाहरुको भूमिकालाई महत्वपूर्ण स्थान दिएका विपिले आफ्नो सरकारको पालामा नेपालका युवाहरुलाई इजरायल, बेलायत जस्ता देशमा विभिन्न सिपको प्रशिक्षण र तालिमका लागि पठाएको स्मरण गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाले विपिको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । नेपाली कांग्रेस भक्तपुरका पुर्व जिल्ला सभापति गणेशमान चक्रधरले कांग्रेस नेताहरुले नै विपिलाई पछ्याउन नसकेको बताउनुभयो । उहाँले कांग्रेसले विपिको समाजवादी चिन्तनलाई पालना गर्दै युवाहरुलाई पनि त्यसको प्रशिक्षण दिनुपर्नेमा जोड दिनुभयो ।


वडा सभापति दिलकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्की, प्रदेश सभा २ (ख)का सभापति ओमप्रकाश श्रेष्ठ, मध्यपुर थिमि नगरसभापति हरिदास प्रजापति, मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठलगायतका नेता कार्यकर्ता एवम् जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।