गृहमन्त्रीको राजीनामा माग्दै कौशलटारमा मशाल जुलुस प्रदर्शन

भक्तपुर, भाद्र २३
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै नेपाल तरुण दलले शनिवार साँझ मध्यपुर थिमि नगरपालिका–२, कौशलटार चोकमा मशाल जुलुस प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको घटनाले शान्ति सुरक्षा कायम गर्न गृहमन्त्री असफल भएको भन्दै तरुण दलले श्रेष्ठको राजीनामा माग गर्दै मशाल जुलुस प्रदर्शन गरेको हो ।
जुलुसपछि आयोजित कोणसभामा तरुण दलका केन्द्रीय सदस्य अशोक कुमार झाले काठमाण्डौंको मुटु भृकुटीमण्डपमा पत्रकार सम्मेलनबाट निस्किएका तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष समेत रहेका यादवमाथि सांघातिक हमला हुनुले देशमा शान्ति सुरक्षा कायम नभएको पुष्टि भएको दावी गर्नुभयो । उहाँले नागरिकको सुरक्षा दिन नसक्ने गृहमन्त्री नालायक भएको समेत आरोप लगाउनुभयो ।
उहाँले अबका दिनमा कुनै पनि कांग्रेस नेतामाथि कुनै किसिमको आघात पुग्ने क्रियाकलाप भए तरुण दल चुप लागेर नबस्ने चेतावनी समेत दिनुभयो ।
कार्यक्रममा नेपाल तरुण दल भक्तपुरका सदस्य समिल प्रजापति, लक्ष्य कुटुलगायतले यादव माथिको आक्रमणले नागरिकहरुले असुरक्षित महशुस गरेको भन्दै गृहमन्त्री श्रेष्ठले तुरुन्त राजीनामा दिनुपर्ने माग गरेका थिए ।
जुलुशमा सहभागीहरुले गृहमन्त्री राजीनामा दे, शान्ति सुरक्षा कायम गर, नेपाली कांग्रेस जिन्दावाद, नेपाल तरुण दल जिन्दावादको नारा लगाएका थिए ।