भक्तपुर एमालेका नयाँ संगठित सदस्यले लिए शपथ

भक्तपुर, भदौ २३
नेकपा एमाले भक्तपुरले शुक्रवार नयाँ संगठित सदस्यहरुलाई शपथ ग्रहण गराएका छन । उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज कैलाश ढुङ्गेलले शपथ खुवाउदै एमालेमा संगठिन भएका सदस्यहरुले पार्टीको नीति, विचार र सिद्धान्तलाई अंगाल्दै आफ्ना आचरणलाई समेत कम्युनिष्ट आचरणमा बलदेर लैजानु पर्ने बताउनुभयो ।
उहाँले व्यक्तिगत स्वार्थलाई त्यागेर सामुहिक हित एवं देशको लागि लाग्न निर्देशन समेत दिनुभयो । ढुङ्गेलले भन्नुभयो, “परिवर्तन आफैबाट सुरु गर्नुपर्छ, आजदेखि तपाईहरुले आफ्नो खल्तीमा एउटा ऐना बोक्नुस् र दैनिक हेुर्नस्, म हिजो कस्तो थिएँ ? आज कस्तो भए र भोली कस्तो हुनेछु, भनेर नियाल्नुस्, आफैलाई परिवर्तन गर्नुस् र समाज अनि देश परिवर्तन गर्न सकिन्छ ।”
उहाँले जो पायो त्यहीँ व्यक्ति एमाले बन्न नसक्ने भन्दै जो व्यक्ति राष्ट्रवादी छ, देशभक्त छ, देश र जनताको हितको पक्षमा लाग्छ, त्यस्ता व्यक्ति मात्रै एमाले बन्न सक्ने बताउनुभयो । “काम केही नगर्ने, चुपचाप बस्ने मानिस पार्टीलाई काम लाग्दैन,” उहाँले भन्नुभयो ।
उहाँले एमाले सत्ताबाट बाहिर रहेकाले निर्णायक ठाउँमा नभएपनि बृद्ध भत्तालाई पाँच हजार पुर्याउने, देश विकासका खम्बा रहेको राष्ट्रिय गौरवका आयोजनाहरु अगाडि बढाउने, शुसासनलाई फराकिलो पार्ने लक्ष्य एमालेको रहेको बताउनुभयो ।
उहाँले एमालेले मिसन २०८४ शुरु गरिएको जानकारी दिँदैं नयाँ सदस्यको बलले आउँदो निर्वाचनमा भक्तपुरलाई एमालेमय बनाउने दावी गर्नुभयो । एमालेले जनताको सरोकारका विषयलाई आफ्नो एजेण्डा बनाएर लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।
एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष वचन देउजाले धेरै पहिला औला काटेर रगतको छाप लगाएर कम्युनिष्टको सदस्यता लिने गरेको स्मरण गराउँदै अहिले एमालेको नीति, सिद्धान्त र विचार मान्ने र देशको समृद्धिका लागि एकताबद्ध हुनेले एमालेको सदस्य पाउने बताउनुभयो ।
उहाँले भक्तपुरमा ७ हजार भन्दा बढी पार्टी संगठित सदस्य रहेको जानकारी दिँदैं गत निर्वाचनमा पार्टी सदस्यता लिँदा खाएको कसम बिर्सिएर घात गर्नाले प्रत्यक्षतर्फ क्षति व्यहोर्नु परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “तपाईहरुले आज शपथ ग्रहण गर्दा खाएको कसम बर्सिनु हुँदैन, शपथ ग्रहणमा खाएको कसम बिर्सिएर घात गर्दा गत निर्वाचनमा एमालेले धेरै ठाउँमा प्रत्क्षयतर्फको सीट गुमाउनु पर्यो ।”
विश्वव्यापी रुपमा कम्युनिष्ट आन्दोलनमा धक्का लागिरहेको बेलामा नेपालमा कम्युनिष्ट आन्दोलन बलियो भएर अगाडि बढिरहेको भन्दै उहाँले मदन भण्डारीको योगदान र एमालेको नीति, सिद्धान्छ, विचार र जबजले एमालेमा जनाकर्षण रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष बासुदेव थापाले आउँदो निर्वाचनमा वडादेखि मेयरसम्म सबै एमालेका उम्मेदवार विजय हुने र प्रदेशदेखि संघमा समेत एमालेका उम्मेदवार विजयी हुने गरी मिसन शुरु भएको बताउनुभयो ।
जिल्ला सचिव मोहनबीर श्रेष्ठले नयाँ संगठिन सदस्यको जुझारुपनले एमालेको लक्ष्य प्राप्तीमा थप सहयोग पुग्ने बताउँदै एमालेको नीति, सिद्धान्त, विचार र आचरण भन्दा बाहिर कोही पनि नजाने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराई, वागमती प्रदेश सभा सदस्य एवं युवा नेता किरण थापा, सकुन्तला श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईलगायतका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा १ हजार ७ सय ६१ जनाले शपथ लिएको जनाएको छ ।