मध्यपुर थिमिमा बृहत श्री कृष्ण पुजा र परिक्रमा

भक्तपुर, भाद्र २१
कृष्ण जन्माष्टमीको अवसरमा बिहिवार मध्यपुर थिमिमा बृहत श्री कृष्ण पुजा र परिक्रमा गरिएको छ । मध्यपुर थिमि ४, दथुटोलस्थित श्री कृष्ण भजन मण्डलको आयोजनामा भएको श्रीकृष्ण पुजा र परिक्रमामा नगरका ७३ वटा कृष्ण र अन्य देवीदेवताको पुजा गरिएको हो ।
स्थानीय दथुटोलस्थित कृष्ण मन्दिरबाट शुरु भएको पुजा नगरको बालकुमारीदेखी बोडेसम्मका कृष्णका मन्दिर र बालकुमारी, विष्णुवीर, सिद्धिकाली, सिद्धिगणेश, महालक्ष्मीलगायतको शक्तिपिठ र गणेश मन्दिरको पुजा गरिएको आयोजक समितिका अध्यक्ष रामकृष्ण कायष्ठले बताउनुभयो ।


पुजामा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु र वडासदस्यहरुको समेत सहभागिता रहेको थियो ।
पुजामा नगरका विभिन्न भजन समूह, विभिन्न संघ संस्थाको समूह, महिला तथा आमा समूहलगायतका समूहहरु साँस्कृतिक बाजागाजासहित परम्परागत पहिरनमा सहभागि भएका थिए । हजारौंको संख्यामा रहेका सहभागीहरुले आ–आफ्नो गच्छे अनुसार मन्दिरमा भोजका परिकारका साथै फलफुल, बिस्कुट, मिठाई, नगद चढाएका थिए ।