ख्वप विश्वविद्यालय स्थापना गर्न सबैको अपनत्व हुनुपर्छ – सांसद थापा

भक्तपुर, भदौ २०
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले ख्वप विश्वविद्यालय स्थापना गर्ने हो भने त्यसमा सम्पूर्ण भक्तपुरबासी र यहाँका राजनीतिक दल, नागरिक समाज सबैको अपनत्व हुनुपर्ने बताउनुभएको छ ।
जिल्ला समन्वय समिति भक्तपुरले भदौ १७ गतेदेखी १९ गतेसम्म जिससको सभाहलमा आयोजित वार्षिक समिक्षा बैठकमा आफुले राखेका धारणाका बारेमा मजदुर दैनिकमा ‘सांसद दुर्लभ थापा ख्वप विश्वविद्यालय विरोधी ?’ शिर्षकमा ‘एक जनप्रतिनिधि’ भन्ने छद्मभेषी पाठकको पाठक पत्रका बारेमा आफ्नो धारणा स्पष्ट पार्दै सांसद थापाले ख्वप कलेज कुनै अमूक दल वा उसका नेता कार्यकर्ताको मात्र पेवा हुन नसक्ने बताउनुभएको हो ।
उहाँले आफु स्वयम शिक्षाकर्मी समेत भएको बताउँदैं ख्वप विश्वविद्यालय जस्तो संस्थाको विरोधमा अभिव्यक्ति दिने प्रश्नै नहुने धारणा राख्नुभयो । उहाँले गत २०७९ को निर्वाचनका बेला नै ख्वप विश्वविद्यालयप्रति थापाको धारणा स्पष्ट राखीसकेको जानकारी दिँदैं ख्वप विश्वविद्यालय स्थापना हुनुपर्छ भन्ने पक्षमा विगतमा पनि रहेको आज पनि रहेको र भविष्यमा पनि रहने स्पष्ट पार्नुभयो ।
“ख्वप विश्वविद्यालय कुनै एक अमुक पार्टी र भक्तपुर नगरपालिकाको मात्र नभई सिंगो भक्तपुरबासी र भक्तपुरका सबै राजनीतिक दल, नागरिक समाजले अपनत्व लिन सक्ने हुनुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले मजदुर दैनिकमा प्रकाशित पाठक पत्रले आफुले बोलेको विषयलाई एक जनप्रतिनिधि भनी छद्मभेषी नाममा विषयलाई नितान्त विषयान्तर गर्ने प्रयास भएको र सफेद झुठ बोली आफुलाई ख्वप विश्वविद्यालय विरोधी देखाएर राजनीतिक स्वार्थ सिद्ध गर्ने दुस्प्रयास गरेको आरोप समेत लगाउनुभयो ।
उहाँले आफु भक्तपुरको सांसद भएको र भक्तपुरमा अरुपनि सांसद रहेको भन्दै निर्वाचन जितेको ९ महिना बितिसक्दा पनि भक्तपुर नगरपालिकाले जिल्लाका संघिय र प्रदेश सांसद, अन्य नगरपालिकाका प्रमुख, उपप्रमुखहरुलाई ख्वप विश्वविद्यालयको अवधारणा, यसको उद्देश्यका बारेमा कुनै जानकारी नदिएको र एक पटकपनि छलफलको लागि नबोलाएको अवस्थामा कसरी ख्वप विश्वविद्यालय स्थापनाको लागि संसद र अन्य निकायमा आवाज उठाउने ? भनी प्रश्न गरेको जानकारी दिनुभयो ।
उहाँले एक जनप्रतिनिधि भनी छद्मनाममा आफ्नो आसयलाई बंग्याएर विश्वविद्यालयमा भाग खोजेको, भागवण्डाको राजनीति गर्न खोजेको जस्तो आरोप लगाउनु ख्वप कलेजलगायतका शैक्षिक संस्थामा आफुले खाईपाई आएको र आफुले एकलौटी गर्दै आएको भाग खोसिएला भन्ने डर सिवाय अरु हुन नसक्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका र नेपाल मजदुर किसान पार्टीले शैक्षिक संस्थामा राजनीति गर्नुहुँदैन भन्ने मान्यता राख्ने गरेको बताउँदैं उहाँले भक्तपुर क्याम्पस लगायत देशभरका अन्य क्याम्पसहरुको स्ववियु र प्राध्यापक संघको निर्वाचनमा भाग लिने, भागवण्डा गर्ने गर्दै आएको सत्य सार्वजनिक नै छ, घाम जस्तै छर्लङ नै भएको स्पष्ट पार्नुभयो ।
“भक्तपुर नगरपालिकाले सञ्चालन गरेको शैक्षिक संस्थामा नेमपिकाले पार्टीको विचार प्रचार प्रसार गर्ने कार्यक्रम गर्छन । विद्यार्थीहरुलाई नेमकिपाका राजनीतिक कार्यक्रममा सहभागी गराउँछन । शिक्षक, कर्मचारीहरुसँग पार्टीका लागि लेभी उठाउँछन । तर त्यही शैक्षिक संस्थाहरुमा अन्य दलका विचारलाई निषेध गरिएको छ । यो पनि सत्य हो,” उहाँले भन्नुभयो, “के भक्तपुर नगरपालिकामा नेमकिपाको एकल प्रतिनिधित्व छ भन्दैमा उसले सञ्चालन गरेका शैक्षिक संस्थाहरु नेमकिपाको पेवा हो ? के नारायणमान बिजुक्छेंको मात्र भक्तिगान गाउनुपर्ने संस्था हो ?”
“नेमकिपा र यसका अध्यक्ष बिजुक्छें विद्यार्थीहरुलाई राजनीतिक प्रशिक्षण दिनुपर्ने, विद्यार्थीहरुले पनि राजनीतिमा चासो राख्नुपर्ने, युवा विद्यार्थीहरुलाई राजनीति शास्त्र अध्ययन गराउनुपर्ने विचार राख्छन । के यो विचार नेमकिपाको सिद्धान्त मात्र पढ्नु र पढाउनुपर्छ भन्ने हो ? राजनीति भनेको नेमकिपा र उसको विचार मात्र हो ? भक्तपुर नगरपालिकाले सञ्चालन गरेका शैक्षिक संस्थाहरुमा अन्य राजनीतिक दलका विचारहरु पठनपाठन गराउन बन्देज हो ?” उहाँले अगाडि भन्नुभयो ।
उहाँले भक्तपुर नगरको विकास निर्माणकै कुरा गर्ने हो भने भक्तपुर नगरभित्र खानेपानीको समस्या किन समाधान हुँदैन ? भनी प्रश्न गर्दै केही वर्षमा भक्तपुरकै अन्य नगरपालिकाले आफ्नै स्रोत साधन समेत उपयोग गरी खानेपानीका धेरै स्रोत व्यवस्थापन गरी वितरण गरिरहेको अवस्था रहेको र भक्तपुर भन्दा धेरै पछि नगरपालिका घोषणा भएका नगरमा समेत खानेपानीको आपुर्ती नियमित हुँदैं आएको अवस्थामा भक्तपुर नगरमा अझै पञ्चायतकालिन पाइपलाईन किन परिवर्तन हुँदैन ? भन्नुभयो ।
“यसको जवाफ स्पष्ट छ, भक्तपुर नगरपालिका वर्षेनी पानीको अभाव र समस्या देखाएर केही ट्यांकर पानी वितरण गरेर जनतालाई काकाकुलमा राख्ने र पानीको राजनीतिमार्फत आफ्नो दुनो सोझ्याउँदैं आएका छन,” उहाँले भन्नुभयो ।
“नगरपालिकाको भव्य र आलिशान भवन अगाडिको क्षेत्रमा सञ्चालित जग्गा एकिकरण आयोजनाको अवस्था आज के छ ? सारा जनतालाई थाहा छ । जनताको आधाभन्दा बढी जग्गा कटौती गरेर गरिएको प्लानिङमा त्यहीका जनताले दुःख पिडा बाहेक केही पाउन नसकेको गुनासो छ , नेमकिपा नेताको जग्गा कम काट्ने अरुको धेरै काट्ने आरोप पनि छ । यसको जवाफ किन दिँदैन ? किनकी नगरपालिकासँग यसको जवाफ छैन,” उहाँले भन्नुभयो ।
उहाँले पत्रमा आफुसँग सम्बन्धित नै नभएको विषय समेत उठान गरेर बदनाम गराउने षडयन्त्र गरिएको बताउनुभयो । “के बागमती प्रदेशको बजेट सांसद थापाले हाल्ने हो ? यसको बजेट बाँडफाँडमा मेरो भूमिका रहन्छ ? प्रदेश सरकारको काम कारवाहीमा संघिय सांसदको कुनै भूमिका नहुने स्पष्ट हुँदा हुँदै पनि जबरजस्ती उक्त विषय उठान गर्नु मलाई बदनाम गराउने दुषित मनसाय सिवाय अरु हुन सक्दैन ।” उहाँले भन्नुभयो ।
“नेपालका कम्युनिष्टहरु आफुलाई कामदार वर्ग, शोषित पिडित वर्गको प्रतिनिधित्व मान्दछन । नेमकिपा यस बारेमा त झन बढी क्रान्तिकारी कुरा गर्छन । उत्तर कोरिया, क्युवाको कुरा गर्छन । तर आफुहरु आलिशान भवनमा बस्छन । मजदुर किसानको प्रतिनिधि ठान्छन, त्यही मजदुर किसानको जग्गामा प्लटिङ गरेर आवास विकास गर्छन अनी कौशी खेतीको प्रवद्र्धन गर्छन । यो भनेको हात्तिको देखाउने र चपाउने दाँत जस्तै हो । के नेमकिपाका नेता कार्यकताहरुको जीवनशैली कुनै पुँजीपतिहरुको भन्दा कम छ ?” उहाँले भन्नुभयो ।
“मानिसहरु निश्चय नै अवसरको खोजीमा रहन्छन । अवसरकै खोजीमा संसारका मानिसहरु एक स्थानबाट अर्को स्थानमा बसाईं सरिरहन्छ । नेपाली युवाहरुपनि अवसरको खोजीमा विदेशिनु कुनै नौलो कुरा होइन । यद्यपी नेपालमै युवाहरुले चाहेजस्तो अवसरको सिर्जना गर्ने दायित्व सरकारको हो । तर के यो दायित्व सरकारको मात्र हो ? स्थानीय सरकारको पनि होइन ? हो भने भक्तपुर नगरपालिकाले वर्षेनी कति जनालाई रोजगारी दिए ? के भक्तपुर नगरका युवाहरुलाई विदेश जान नगरपालिका र नेमकिपाले रोक्न सके ? नेमकिपाका नेताहरु स्वयम्का छोराछोरी किन विदेशमा पठाएको ? जनताको छोराछोरीलाई विदेश जान हुँदैन भन्ने आफ्नालाई भने त्यही पुँजीपति भनिएका देशमा पठाउने । यस्तो दोहोरो राजनीति कहिलेसम्म चल्छ ?” उहाँले प्रश्न गर्नुभयो ।
उहाँले निश्चय पनि भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्यमा केही सकारात्मक र मनन योग्य काम गरेको बताउँदैं ती संस्थामा नेमकिपाको कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप लगाउनुभयो ।
“भक्तपुर नगरभित्र कति कलकारखाना उद्योग खुले ? के भक्तपुर नगरपालिकाले स्वरोजगारको लागि तालिम मात्र दिने हो ? उद्योग खोल्ने वातावरण बनाईनु पर्छ की पर्दैन ? भएको भक्तपुर औद्योगिक क्षेत्रलाई अन्यत्र स्थानान्तरण गर्न लगातार दवाब दिइरहेको नगरपालिकाले कसरी उद्योग कलकारखाना खालेर रोजगारीको अवसर सिर्जना गर्छ ?” उहाँले भन्नुभयो ।
सांसद थापाले आफ्ना बारेमा कुनैपनि प्रतिक्रिया लेख्न कुनै छद्मभेषी नाम उल्लेख नगरी खुलमखुल्ला छलफल, बहश गर्न तयार रहेको र त्यसका लागि सक्षम समेत रहेको बताउँदैं यस्ता छद्मभेषी गतिविधिले कदापी विचलित नहुने र कसैले विचलित पनि पार्न नसक्ने ठोकुवा गर्नुभयो ।