चाँगुनारायणलाई देशकै उत्कृष्ट नगरपालिकाले बनाउने अठोट

भक्तपुर, भदौ १७
चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले चालु आर्थिक वर्ष २०८०÷०८१ मा देशकै उत्कृष्ट नगरपालिका बनाउने अठोट लिएका छन । नगरपालिकाले शनिवार आयोजना गरेको आर्थिक वर्ष २०७९÷०८० को समीक्षा गोष्ठीमा जनप्रतिनिधि र कर्मचारीबीच कार्यसम्पादन सम्झौता गर्दै चाँगुनारायणलाई देशकै उत्कृष्ट नगरपालिका बनाउने अठोट लिएका हुन ।
सुशासन, पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै विकास निर्माणका कामलाई समयमा सम्पन्न गर्ने नीति अवलम्वन गरी चाँगुनारायणलाई देशकै उत्कृष्ट नगरपालिका बनाउने अठोटका साथ कार्यसम्पादन सम्झौता गरिएको नगरप्रमुख जीवन खत्रीले बताउनुभयो ।
यसका लागि नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृतबीच कार्यसम्पादन सम्झौता भएको छ । साथै प्रमुख प्रशासकिय अधिकृत र शाखा प्रमुख, वडा प्रशासकिय अधिकृतबीच पनि कार्यसम्पादन सम्झौता भएको छ ।
कार्यक्रममा सबै भन्दा पहिले प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले नगरप्रमुख जीवन खत्रीसँग कार्यसम्पादन सम्झौता गर्नुभएको थियो । त्यसलगत्तै पन्थीले नगरपालिकाका १३ वटा शाखा प्रमुख र नौ वटा वडा कार्यालयका प्रशासकिय अधिकृतसँग कार्यसम्पादन सम्झौता गर्नुभएको थियो ।
सम्झौतामा एक वर्षमा नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिका बनाउनका लागि गर्नुपर्ने विभिन्न कार्यहरु र त्यसबाट हासिल गर्नुपर्ने उपलब्धीलाई समेटिएको छ ।
नगर प्रमुख खत्रीले नगरपालिकामा आर्थिक पारदर्शीता र सुशासन कायम गर्दै नगरसभाले पारित गरेको नीति, नियम र विधि सम्बद्ध सञ्चालन गर्न कार्यसम्पादन मूल्यांकन सम्झौता गरिएको बताउनुभयो ।

“गतवर्षको बजेट कार्यान्वयनतर्फ चाँगुनारायण नगरपालिका उपत्यकाकै सबैभन्दा बढी पूँजीगत खर्च गरेर उत्कृष्ट बन्न सफल भएको छ । नगरपालिकालाई पहिलो बालमैत्री नगरपालिका घोषणा गर्न सफल भएका छौँ, स्वच्छ वायु गुणस्तर ब्यवस्थापन कार्याविधि २०८० बनाउने नेपालकै पहिलो नगरपालिका बन्न सफल भएका छौँ,” नगर प्रमुख खत्रीले भन्नुभयो, “यस्ता धेरै उदाहरणीय र नमूनाको काम हामीले गरेका छौँ, त्यसैले अब कार्य सम्पादन मूल्यांकनमा हाम्रो नगरपालिका देशकै उत्कृष्ट बनाएर पुरस्कार प्राप्त गर्ने अभियानमा लाग्न सम्पूर्ण जनप्रतिनिधिदेखि सबै कर्मचारीहरुलाई निर्देशन गर्दछौँ ।”
नगरपालिका प्रगति र सुशासनको बाटोमा अगाडि बढिरहेको चर्चा गर्दै उहाँले अब थप परिणामुखी र नजितामुखी काम गरेर जनतालाई देखाउनुपर्ने बेला आएको बताउनुभयो ।
नगर उपप्रमुख रमेश बुढाथोकीले नगरपालिका शिक्षा, स्वास्थ्य, कृषि, यातायात तथा भौतीक पूर्वाधारलगायतको विकासमा अग्रता कायम गरेको बताउनुभयो । उहाँले कुनै पनि बिकासको काममा उपभोक्ता समिति गठन गर्दा सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने र काम सम्पन्न भएपछि पनि उपलब्धी सार्वजनिक गर्नुपर्ने बताउदै अन्यथा रकम भुक्तानी नगर्ने बताउनुभयो ।
उपप्रमुख बुढाथोकीले कर्मचारीले जनप्रतिनिधिलाई नटेर्ने गरेको गुनासो गर्नुभयो । “नगरभित्र स्विकृति विना गरिएका जग्गा प्लटिङको विवरण माग्दा दुई महिनासम्म कर्मचारीले दिएन । कर्मचारीहरु कार्यालयमा बसेर मेयर, उपमेयरबीच फाटो ल्याउने गरेर कुरा काटेर बस्ने गरेका छन । वडामा २ बजेपछि कर्मचारी नबस्ने गुनासो पनि छ । अब यसरी चल्दैन । यो बेथितिलाई अब अगाडि बढ्न दिन्नौं, सचेत भएर काम गर्नुस्” उहाँले भन्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत पन्थीले नगरपालिकाले गत आ.ब.को प्रगति विवरण पेश गर्दै नगरपालिकाले उत्कृष्ट कार्य सम्पन्न गरेको दावी गर्नुभयो । वडा नं. ७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता जनक खत्री र वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडकाले नगरपालिकाले धेरै राम्रा र उदाहरणीय कार्य गरेतापनि प्रचार प्रसारको कमीले जनतासमक्ष पुर्याउन नसकिएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति शिवहरि केसी, नेकपा एमालेका नगर उपाध्यक्ष जयराम बास्तोला, राप्रपाका रमेश अधिकारी, नेमकिपाका सन्तराम दुलाल, रास्वपाका रोशन थापालगायतले नगरपालिकाले विना भेदभाव जनताको आवश्यकतालाई मध्यनजर गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम, राजस्व र व्ययको अनुमानित बजेट पुस्तिका एवं विनियोजित ऐन २०८० को सार्वजनीकरण समेत गरिएको थियो ।