सानोथिमिको बाल सुधार गृहबाट भागेका २२१ मध्ये १९४ युवक प्रहरी नियन्त्रणमा

भक्तपुर, भाद्र ४
मध्यपुर थिमि नगरपालिका २, सानोथिमिस्थित बाल सुधार गृह तोडेर भागेका मध्ये १९४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुधार गृहमा सुरक्षार्थ खटिएका प्रहरीलाई आक्रमण गरी कम्पाउण्डको मुलगेट तोडेर सोमवार दिउँसो २२१ सजाय भुक्तान गरिरहेका युवकहरु भागेका थिए ।
ती मध्ये १९४ जनालाई नेपाल प्रहरीले काठमाण्डौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी २७ जनाको खोजी कार्य भइरहेको छ ।
सानोथिमिको सुधार गृह तोडेर युवकहरु फरार भएपछि उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको थियो । उपत्यकाका काठमाण्डौं, ललितपुर र भक्तपुर प्रहरी टोलीले सर्च अभियान शुरु गरिएको थियो । नियन्त्रणमा लिएका युवकहरुलाई उपत्यकाका विभिन्न प्रहरी वृत्तमा राखिएको छ । एसपी केसीले बाँकी रहेका २७ जनाको खोजीका लागि आज रातभरी प्रहरी परिचालन गरिनेछ ।