‘हनी ट्रयाप’मा पारेर ठगी गरेको अभियोगमा दुई जना पक्राउ

भक्तपुर, साउन ३१
‘हनी ट्रयाप’ (मायाजालमा पारेर ठगी गर्ने धन्दा)मा पारेर ठगी गरेको अभियोगमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ ।
काठमाण्डौँ उपत्यकाका विभिन्न स्थानमा हनी ट्रयापमा पारेर ठगी गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले ‘अपरेशन हनी ट्रयाप’ नाम दिएर गरिएको खोजतलासका क्रममा उक्त अपराधमा संलग्न रहेका दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका–१३ घर भई हाल सानोथिमि भक्तपुर बस्ने आयुष्मा भन्ने आशिका रजल मगर र दोलखा भिमेश्वर नगरपालिका–५ घर भई हाल काठमाण्डौँको तारकेश्वर बस्ने राजु खत्री रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुले आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले युवतीको समूहलाई प्रयोग गरेर सामाजिक सञ्जालमार्फत सम्पर्क गराई फोनसमेत आदानप्रदान गरी भेटघाट गर्न बोलाएर रकम ठगी गर्ने धन्दा चलाएका भेटिएको छ ।
त्यसरी भेट गराएपछि गिरोहले झुठ्ठा मुद्दा लगाएर फसाइदिने चेतावनीसहित डर, धम्की र त्रासमा पारी रकम ठगी गर्ने गरेको पाईएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीले बताउनुभयो ।


“सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पुरुष व्यक्तिहरुलाई खाजा खाने बाहानामा रेष्टुरेन्टमा भेटघाटका लागि बोलाउने, त्यसपछि ती पुरुषहरुको निगरानी राखि निजको घर ठेगाना, कार्यालय तथा सवारी साधन लगायतका सम्पुर्ण विवरणहरु प्राप्त गरी डायरीमा रेकर्ड राख्ने र प्रत्यक्ष भेटघाटको फोटो र भिडियो खिचेर तत्पश्चात झुठ्ठा मुद्दा लगाएर फसाई दिने भन्दै डर, धम्की तथा त्रास देखाई व्याकमेल (मोलमोलाई) गरेर ठुलो रकम माग गर्ने गरेको पाईयो,” रेग्मीले भन्नुभयो ।
यसरी पीडितहरुबाट उनीहरुले ४० लाख बराबरको रकम उल्लेख भएका ८ थान चेकमार्फत रकम असुल गरेको पाइएको छ ।
उनीहरुलाई आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाइएको कार्यालयका एसपी रेग्मीले जानकारी दिनुभयो ।