फिफा विश्वकप २०२६ को छनोटको प्लेअफमा नेपालले लाओससँग खेल्ने

भक्तपुर, साउन ११
नेपालले फिफा विश्वकप फुटबल २०२६ को एसियाली छनोटको प्लेअफ चरणमा लाओसको सामना गर्ने भएको छ । सन् २०२६ मा अमेरिका र मेक्सिकोमा हुने फिफा विश्वकपका लागि एसियाली राष्ट्रको छनोटका लागि मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा भएको ड्रमा नेपालले दोस्रो चरणमा प्रवेश गर्न लाओसको सामना गर्ने तालिका निस्किएको हो ।
अक्टोबरमा हुने प्लेअफ दुई चरणको हुनेछ । पहिलो लेग अक्टोबर १२ र दोस्रो लेग अक्टोबर १७ तारिखमा हुनेछ । दुई लेगको प्लेअफपछि नेपालको यात्रा टुंगो लाग्नेछ ।
छनोटको दोस्रो चरणका लागि शीर्ष २६ टोलीले स्थान पक्का गरिसकेका छन् । यस चरणमा प्लेअफ पार गर्ने १० टोली सहित कुल ३६ टोलीलाई ४–४ टोलीको ९ समूहमा विभाजन गरिनेछ । सबै समूहको विजेता र उपविजेताले एएफसी एसियन कप २०२७ को लागि स्थान पक्का गर्दै विश्वकप छनोटको तेस्रो चरणमा खेल्नेछन् ।
प्लेअफमा अफगानिस्तान विरुद्ध मंगोलिया, माल्दिभ्स विरुद्ध बंगलादेश, सिंगापुर विरुद्ध गुआम, यमन विरुद्ध श्रीलंका, म्यानमार विरुद्ध मकाउ, कम्बोडिया विरुद्ध पाकिस्तान, चाइनिज ताइपेइ विरुद्ध टिमोर लिस्टे, इन्डोनेसिया विरुद्ध ब्रुनाई र हङकङ विरुद्ध भुटानले प्रतिष्पर्धा गर्नेछ ।