‘महामानव सम्यक सम्बुद्ध’ पुस्तकको दोश्रो संस्करण लोकार्पण

न्यूजअफ, काठमाण्डौ, श्रावण १० गते ।
भगवान बुद्धको जीवनी र व्यक्तित्वका बारेमा भिक्षु वेरगोद सरद महास्थविरले अंग्रेजी भाषामा लेख्नुभएको The Greatest Man Who Ever Lived (The Supreme Buddha) लाई भिक्षु निग्रोध महास्थविरले नेपाली भाषामा अनुवाद गर्नुभएको ‘महामानव सम्यक सम्बुद्ध’ पुस्तकको दोश्रो संस्करण लोकार्पण गरिएको छ । ललितपुर, बालकुमारी निवासी सुष्मा श्रेष्ठ बज्राचार्य एवं परिवारले प्रकाशन गर्नुभएको उक्त पुस्तक विश्व शान्ति विहार, मीनभवन काठमाण्डौमा हिजो सार्वजनिक गरिएको हो ।
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविर, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र खेम्पो लार्क्याल गुरुले संयुक्त रुपमा उक्त अनुदित पुस्तक लोकार्पण गर्नुभएको थियो ।


उक्त समारोहमा अ.ने.भि.महासंघका भिक्षु धम्मशोभन महास्थविरले उक्त अनुदित पुस्तकले भगवान बुद्धलाई राम्ररी बुझ्न र जान्न एकदमै महत्वपूर्ण भएकोले सबैले पढ्नैपर्ने पुस्तकका रुपमा रहेको बताउनुभयो ।
‘महामानव सम्य्क सम्बुद्ध’ पुस्तकको दोश्रो संस्करण प्रकाशनार्थ आर्थिक सहयोग गर्नुहुने सुष्मा बज्राचार्य लगायत परिवार तथा पुस्तक तयार पार्न विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुहुँदै अनुवादक एवं विश्व शान्ति विहारका उप प्रमुख भिक्षु निग्रोध महास्थविरले ‘अभिञ्ञेयं अभिञ्ञातं, भावेतब्बञ्च भावितं, पहातब्बं पहीनं मे, तस्मा बुद्धोस्मि ब्राह्मण अर्थात बोध हुनुपर्ने सबै ज्ञात गरिसकेको, त्याग गर्नुपर्ने सबै त्याग गरिसकेको, साक्षात्कार गर्नुपर्ने सबै साक्षात्कार गरिसकेको, चार आर्यसत्यलाई बोध गरिसकेको’ Awaken One, Enlightened One, Blessed One नै बुद्ध हो भनेर उक्त पुस्तकमा दर्शाइएको छ भनी प्रकाश पार्नुभयो ।


कार्यक्रमका प्रमुख अतिथि ल.पु.म.न.पा.का प्रमुख महर्जनले उक्त कार्यक्रममा बुद्ध धर्मका बारेमा विभिन्न वक्ताहरुले व्यक्त गर्नुभएका कुराहरु धेरै नबुझेकाले अब आफूले बुद्धधर्मबारे सिक्ने, अध्ययन गर्ने निश्चय गर्नुभयो ।
अर्का अतिथि खेन्पो गुरुले पुस्तक पढेर त्यसमा के छ भनेर इष्टमित्रहरुलाई बताउँदै गएमा बुद्धधर्म फैलिंदै जाने भएकाले घरमा लगि पुस्तकलाई दराजमा मात्रै थन्काउने, लाइब्रेरीमा थन्काउने मात्र नगर्न अनुरोध गर्नुभयो । साथै उहाँले खेम्पो रिम्पोछेको तर्फबाट रु. १ लाख चन्दा सोही पुस्तक नयाँ संस्करण प्रकाशनका लागि प्रदान गरेको पनि सहर्ष जानकारी दिनुभयो ।
पुस्तकको बारेमा समीक्षा गर्नुहुँदै सह–प्राध्यापक मदन रत्न मानन्धरले २५६७ वर्ष अगाडि नै भगवान बुद्ध महापरिनिर्वाण भइसक्नु भएतापनि पुस्तकमा वर्तमान काल प्रयोग गरी लेखिएको बताउनुभयो । उहाँले विगतका कुरा भएपनि भगवान बुद्धको योगदान, व्यक्तित्व, प्राणीप्रतिको महा करुणालाई मूल्यांकन गर्दा हाल सम्म पनि उहाँ जीवित नै हुनुहुन्छ भन्न कर लाग्छ, भन्नुभयो । उक्त पुस्तकमा यी सबै शीर्षकहरुमा धेरै राम्रोसँग व्याख्या गरिएको उहाँले बताउनुभयो ।
समीक्षाका क्रममा उहाँले पुस्तकमा विभिन्न ठाउँमा ९५ सचित्र वर्णन पनि गरिएकाले कमिक्स हेरेको जस्तो समेत आभाष मिल्ने र प्रामाणिक कुराहरु पनि सरल, सरस ढंगमा प्रस्तुत गरिएकाले नछोडीकन पढीरहुँ जस्ता लाग्ने बताउनुभयो । जसमा बुद्धकालिन घट्ना सहित वर्तमान सन्दर्भलाई पनि समेटिएको कुरा पनि उहाँले जानकारी दिनुभयो ।
थेरवाद बुद्धिष्ट एकेडेमीका प्राचार्य महेन्द्र रत्न शाक्यले भगवान बुद्धलाई महा मनोचिकित्सकका रुपमा, रोगलाई निदान गर्ने गुरुको रुपमा पुस्तकमा प्रस्तुत गरिएको छ । उहाँ मनोचिकित्सकै रुपमा पश्चिमा देशमा प्रख्यात हुनुहुन्छ । बुद्ध सौन्दर्यका प्रतिमूर्ति, बुद्ध जति राम्रो संसारमा अरु कोही पनि छैन भन्ने कुरा लेखिएको भन्नुहुँदै संसारका ठूल्ठूला लेखकहरुले पनि भगवान बुद्धका मूर्ति आफ्ना टेबुलमा राख्ने गरिएको तथा सौन्दर्यका पुजारी लेखकले समेत उहाँको मूर्ति टेबलमा राख्ने गरेको कुरा पनि पुस्तकमा वर्णन गरिएको छ, उहाँले भन्नुभयो ।
एकेडेमीमा भगवान बुद्ध बारे अध्यापन गराउन सो पुस्तक सान्दर्भिक रहेको कुरा पनि उहाँले उक्त कार्यक्रममा उल्लेख गर्नुभयो । बुद्धका व्यक्तित्व, विचार, धर्म र शिक्षा तथा जीवनीबारे सरल र सुमधुर भाषामा विवेचनात्मक रुपमा प्रस्तुत पुस्तकमा लेखिएको कुरा उहाँले बताउनुभयो ।


विश्व शान्ति विहारका अध्यक्ष अमिता धाख्वाले विहारका संस्थापक एवं नेपालका सातौं संघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरका शिष्य पुस्तकका अनुवादक भिक्षु निग्रोध महास्थविर हुनुभएको स्मरण गर्नुहुँदै अनुवादक भन्तेको संक्षिप्त परिचय पनि दिनुभयो । भन्तेले लकडाउन समयको सदुपयोग गर्नुभई पुस्तकलाई सरल, सुबोध तरीकाले भाषानुवाद गर्नुभई प्रकाशन कार्यले धर्मप्रीति उत्पन्न भएको र यस कार्यका लागि उहाँले शुभकामना दिनुभयो ।
कार्यक्रमको शुरुवातमा सबैलाई स्वागत गर्नुहुँदै प्रकाशक सुष्मा बज्राचार्यले आफ्ना दिवंगत बुबा बिष्णु बहादुर श्रेष्ठ, दिवंगत आमा बिजुली श्रेष्ठ तथा दिवंगत भिनाजु महाबीर प्रसाद श्रेष्ठको निर्वाणको कामनासहित पुस्तक प्रकाशन गरेको बताउनुभयो । भगवान बुद्ध सम्बन्धि पुस्तक प्रकाशन गर्न पाउँदा एकदमै खुशी लागेको र त्यसको बयानका लागि उहाँसँग शब्द नै नभएको भन्नुभयो ।
कार्यक्रममा भिक्षु संघ, अनागारिकाहरु तथा उपासकउपासिकाहरुको उपस्थिति रहेको थियो ।