बासु माविको स्थापना दिवसमा साइकलयात्रा

भक्तपुर, असार २४
बासु माध्यमिक विद्यालयको ६१औं स्थापना दिवसको अवसरमा शनिबार भक्तपुरमा साइकलयात्रा सम्पन्न भएको छ । भक्तपुरको ब्यासीस्थित विद्यालयको प्राङ्गणबाट सुरु भएको साइकलयात्रा भक्तपुरको झौखेल, दुवाकोट, सल्लाघारी, सिद्धपोखरी, दरबारक्षेत्र, टौमढी, दत्तात्रय, च्याम्हसिंह, कमलविनायक हुँदै पुनः विद्यालयको प्राङ्गणमा पुगेर टुङ्गिएको थियो । साइकल कनेक्ट भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न उक्त साइकल यात्रामा ३ सयभन्दा बढी साइकलयात्रीहरुको सहभागीता रहेको थियो ।
सो साइकलयात्राको शुभारम्भ गर्दै बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले साइकलको प्रयोगले व्यक्ति मात्र नभई सिंगो देश स्वस्थ, सक्रिय र बलियो हुने बताउनुभयो ।
उहाँले छोटो दुरीको यात्राको निम्ति पेट्रोलियम इन्धनको खपत हुने यातायातको साटो साइकल प्रयोग गर्न सकिए प्रदुषणमा कमी हुनुका साथै देशको अर्थतन्त्र उकास्न पनि सहयोग हुने बताउनुभयो । चीनको उदाहरण दिदैं उहाँले देशको अर्थतन्त्र जोगाउन र आफ्ना नागरिकहरुलाई स्वस्थ राख्न सरकारले साइकल मैत्री शहरको अवधारणालाई अगाडि सार्नुपर्ने धारणा राख्नुभयो ।