लैङ्गिक हिँसामा प्रविधिको प्रयोग बढ्दो

भक्तपुर, असार २१
समानताका पक्षधर अधिकारवादीहरुले लैङ्गिक हिँसामा प्रविधिको प्रयोग बढ्न थालेको बताएका छन । उनीहरुले नजानिँदो तरिकाले आजका बालबालिका, युवती र महिलाहरु सामाजिक सञ्जाललगायतका माध्यमबाट हिँसाको शिकार हुन थालेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन ।
जिल्ला समन्वय समिति भक्तपुरले बिहिवार आयोजित ‘लैङ्गिक तथा अन्य सामाजिक सुरक्षाका सवालहरु’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरुले प्रविधिले गर्दा उच्च ओहोदा, उच्च घराना र शिक्षित महिला समेत हिँसाको पिडित हुन थालेको बताए ।
कार्यक्रममा लामो समय महिला तथा बालबालिका मन्त्रालयमा महिला अधिकार सम्बन्धी काम गर्नुभएका हाल उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयका सहसचिव राधिका अर्यालले लैङ्गिक समानता र सामाजिक सुरक्षाका विषयमा प्रस्तुतीकरण गर्दै नेपालले लैङ्गिक समानताका लागि विभिन्न ऐन कानुन निर्माण, अन्र्तराष्ट्रिय सन्धी सम्झौताहरुको समर्थन तथा अनुमोदन गरेता पनि अझै महिलाहरु अधिकारबाट बञ्चित हुँदैं आएको बताउनुभयो ।
उहाँले पछिल्लो समय आरक्षणको व्यवस्थाले महिलाहरु पनि नेतृत्वमा पुग्न सफल भएपनि अझैं खुल्ला प्रतिष्पर्धामा महिलाले मौका पाउन नसकेको बताउनुभयो ।


महिला अधिकारवादी वरिष्ठ पत्रकार बबिता बस्नेतले ‘लैङ्गिकता र महिलाका मुद्दा’ विषयमा प्रस्तुतीकरण गर्दै लैङ्गिक चेतनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले निर्माण गर्ने नीति, कुनै पनि स्थानमा हुने सभा समारोह, कार्यस्थलमा बोलिने भाषा, सम्बोधनका शब्द, तथ्यांकको संकलन र प्रयोग गर्दा समेत लैङ्गिक समानताको विषयमा ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।
उहाँले बालबालिका र हरेक उमेर समूहका नागरिकहरु मोवाइल र इन्टरनेटको पहुँचमा रहेको र सोही इन्टरनेटको माध्यमबाट हिँसाको शिकार हुन थालेको बताउनुभयो । “फेसबुक, इन्स्ट्राम, टिकटिकबाट चिनजान भई नजिक हुने र एक अर्कामा विश्वासको वातावरण बनेपछि बिस्तारै यौनजन्यलगायत ठगीका घटनामा पिडित हुनेको संख्या बढ्दो छ,” उहाँले भन्नुभयो, “यस्तो घटनामा महिला मात्र होइन पुरुष पनि पिडित भएका छन । गरिव मात्र होइन धनी र उच्च शिक्षा हासिल गरेका र सरकारी उच्च तहका व्यक्ति समेत पिडित भएका छन ।”
जिल्ला समन्वय समितिका प्रमुख ईश्वर बहादुर थापाले जिससले सामाजिक क्षेत्रका विषयमा गरिने कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले उदासिनता देखाउने गरेको गुनासो गर्नुभयो । उहाँले स्थानीय तहका उपप्रमुखहरुलाई लैङ्गिक समानताको विषयमा ज्ञान दिलाउने र पालिकामा यसलाई कार्यान्वयनमा लैजान मद्दत पुग्ने उद्देश्यले आमन्त्रण गरेपनि पालिकाका उपप्रमुखहरु उपस्थित नहुनु दुःखद भएको बताउनुभयो ।


प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले दैनिक जीवनमा नजानिँदो तरिकाले लैङ्गिक हिँसा हुने गरेको बताउनुभयो । उहाँले लैङ्गिक समानताका लागि घरघरबाट आनीबानीमा सुधार ल्याउनुपर्ने खाँचो रहेको बताउनुभयो । पछिल्ला घटनाक्रमले घरका बालबालिका मात्र होइन जो कोही मोवाईलमा बढी समय बिताउन थाले त्यस बारेमा परिवारका अन्य व्यक्ति चासो राख्नुपर्ने बेला आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरपालिकाले महिलाको जीवनस्तर उकास्न, उनीहरुलाई आय आर्जनमा जोड्न र स्वरोजगार बनाउन नगरपालिकाले विभिन्न विषयमा तालिम प्रदान गर्दै आएको बताउनुभयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख सुजाता वादे बैद्य र जिल्ला समन्वय अधिकारी तिर्थराज पौडेलले लैङ्गिक समानताको क्षेत्रमा स्थानीय तहलाई सक्रिय बनाउन र भक्तपुरलाई लैङ्गिक समानताको क्षेत्रमा अब्बल बनाउने उद्देश्यले विभिन्न संघसंस्थाका प्रतिनिधिका साथै स्थानीय तहका जनप्रतिनिधिहरुलाई आमन्त्रण गरी कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।