मध्यपुर थिमिले आयोजना गरेको मेलामा ५० जनाले गरे रोजगारी पक्का, ४८० जनाको विवरण संकलन

भक्तपुर, असार १६
मध्यपुर थिमि नगरपालिकाले शनिवार सानोथिमिस्थित आदर्श माध्यामिक विद्यालयको प्रांगणमा आयोजित वृत्ति मार्ग निर्देशन तथा रोजगार मेलामा करिव ५० जनाको रोजगारी पक्का भएको छ । मेलामा राखिएका विभिन्न संघसंस्था, उद्योग, व्यवसायमा रहेको रोजगारीको अवसरमा आवेदन दिने मध्ये मेला स्थलमा नै ५० जनाको रोजगारी पक्का भएको हो ।
मेलामा एक सय भन्दा धेरै रोजगारीको अवसरका लागि विभिन्न संघसंस्था, व्यवसाय र उद्योगले आवेदन माग गरेका थिए । जसमध्ये ४८० जनाले रोजगारीको लागि आवेदन दिएको मेला आयोजक समितिका संयोजक एवम् मध्यपुर थिमि नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यले जानकारी दिनुभयो ।
यस्तै मेलामा रोजगारी प्रदान गर्न ईन्स्योर परियोजनाले ६, भक्तपुर चेम्वर्स अफ कम्मर्सले ५०, पुर्ण हस्तकला संकलनले ५०, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७२, मध्यपुर उद्योग वाणिज्य संघले ११, जिल्ला सहकारी संघ भक्तपुरले ८, प्याव्सनले ११७, बालकुमारी महिला समाज मध्यपुर थिमिले ५०, रोजगारी सर्भिसेज प्रालिले ९८ जनाको व्यक्तिगत विवरण संकलन गरेको छ ।


रोजगारीका लागि आवेदन दिनेहरुलाई मेलामा स्टल राख्ने संघसंस्था, व्यवसाय र उद्योगसँग समन्वय गरी रोजगारीको अवसर प्रदान गरिने आचार्यले बताउनुभयो ।
मेलामा सबैभन्दा धेरै नीजि विद्यालयकोहरुको संस्था प्याव्सन भक्तपुरले ४१ जनाको लागि रोजगारीको अवसर राखिएको थियो । त्यसैगरी बालकुमारी महिला समूहले ३० र अन्य व्यवसायिक संघसंस्थाहरुले समेत गरी एक सय भन्दा धेरै रोजगारीको अवसर राखिएको थियो ।
यसैगरी मेलामा राखिएको वृत्ति मार्ग निर्देशन परामर्शमा एक हजार ६५० जनाले परामर्श सेवा लिएको आचार्यले बताउनुभयो । मेलामा ३ हजार ३ सय जनाले अवलोकन गरेका थिए ।
मेलामा नीजि उद्योगका १२, संघसंस्थाका ५, प्राविधिक विद्यालयका ८, खाना र स्वास्थ्य सेवाका गरी कुल ३४ स्टल रहेका थिए ।