‘असल जीवनका लागि परियत्ति शिक्षा (नैतिक शिक्षा) को आवश्यकता र उपादेयता’ विषयक ‘विद्यालयहरुका लागि सचेतना’ कार्यक्रम

सुनीता तुलाधर, असार १४ गते, काठमाण्डौ ।

‘अभिभावकहरु आफ्ना छोराछोरीहरु असल भएको तथा उनीहरुका नराम्रा कुराहरु सुन्न नपरोस भन्ने चाहना राख्छन । जसका लागि उनीहरुको आचरण राम्रो हुनुपर्छ, जुन सानो अवस्थादेखि नै नैतिकताको शिक्षा दिएमा मात्रै सम्भव हुनसक्छ । यही परिप्रेक्षलाई ध्यानमा राखी विद्यालयस्तरदेखि नै परियत्ति शिक्षा (नैतिक शिक्षा) को ज्ञान दिनुपर्ने आवश्यकता रहेकाले सबै विद्यालयहरुले परियत्ति शिक्षाको पठनपाठन गर्नुपर्दछ ।’
काठमाण्डौको मीनभवनस्थित विश्वशान्ति विहारमा हिजो काठमाण्डौ महानगरपालिकासँगको सहकार्यमा नेपाल बौद्ध परियत्ति शिक्षाले आयोजना गरेको ‘असल जीवनका लागि परियत्ति शिक्षा (नैतिक शिक्षा) को आवश्यकता र उपादेयता’ विषयक ‘विद्यालयहरुका लागि सचेतना’ कार्यक्रममा अनागारिका ञाणवती गुरुमाले कार्यक्रम गर्नुपर्नाको उद्देश्य प्रष्ट पार्नुभयो ।pariyatti sachetana 02

कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवं ने.बौ.प.शि.का शिक्षाध्यक्ष भिक्षु धम्मसोभन महास्थविरले जुन शिक्षा बालबालिकाहरुलाई दिनुपर्ने हो, त्यो शिक्षा आफूले नै पहिला राम्ररी आचरण गरेर दिएमा त्यो शिक्षा महत्वपूर्ण हुन जाने ओवाद–उपदेश दिनुभयो ।
कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्णमा साधुवाद दिनुहुँदै ने.बौ.प.शि.का केन्द्रीय परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञान महास्थविरले परियत्ति शिक्षा पढाइरहेको विद्यालयहरुमा विद्यार्थीहरुको आचरण, व्यवहार राम्रो भएकोले अरु विद्यालयहरु पनि परियत्ति शिक्षा पढाउन उत्सुक रहेको बताउनुभयो । साथै परियत्ति शिक्षा, नैतिक शिक्षा, बुद्ध शिक्षा पढाएमा धेरै विद्यार्थीहरुको आचरण व्यवहार राम्रो भएर त्यहाँको शिक्षकहरुलाई पनि सजिलो हुने तर्फ इंगित गर्नुहुँदै सचेतना कार्यक्रमको आयोजना गरिएको उहाँले भन्नुभयो ।

त्यस्तै डा. सबिता धाख्खाले त्यो शिक्षा असल शिक्षा नै होइन जसले मानिसको व्यवहारमा परिवर्तन गर्दैन भने भन्नुहुँदै परियत्ति शिक्षाको माध्यमले विद्यार्थीहरुको चरित्र निर्माण गरी असल नागरिक बनाउन सकिने बताउनुभयो । उहाँले उक्त कार्यक्रममा परियत्ति शिक्षाको महत्व र उद्देश्यबारे व्याख्या गर्नुभएको थियो ।
भास्सरा मा.वि.का उप–प्रधानाध्यापक निशा बज्राचार्यले आफ्नो विद्यालयमा परियत्ति शिक्षा पढाइरहको र ध्यान अभ्यास पनि गराइरहेकोले विद्यार्थीहरुको शीलस्वभाव, व्यवहारमा राम्रो प्रगति भएको अनुभव सुनाउनुभयो । साथै असल शील स्वभावका विद्यार्थीहरु भएकाले कलेजहरुले भास्सरा मा.वि.लाई खोजी खोजी आएर उनीहरुकहाँ भास्सराका विद्यार्थीहरु पठाइदिनुपर्यो भनेर अनुरोध गर्न आउनु भनेको विद्यालयका लागि ठूलो उपलब्धि भएको कुरा उहाँले व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षकशिक्षिकाहरु तथा आयोजकहरुबीच अन्तत्र्रिmया पनि गरीएको थियो । अन्तक्र्रियाको क्रममा जगत सुन्दर ब्वनेकुथिका प्रधानाध्यापक सुनीता मानन्धरले परियत्ति शिक्षाले आफ्ना विद्यार्थीहरु अनुशासित भएको र शिक्षकशिक्षिकाहरुलाई पनि यो शिक्षा पढाइएमा उनीहरुले विद्यार्थीहरलाई अझ प्रभावकारी ढंगले अध्यापन गराउन सक्नेतर्फ औंल्याउनुभयो ।
अर्का विद्यालय प्रतिनिधि चाँदनी मा.वि.का प्रधानाध्यापक लक्ष्मी लामिछानेले परियत्ति शिक्षाको प्रमाणपत्र ने.बौ.प.शि. को तर्फबाटै प्रमाणित भएको प्रमाणपत्र विद्यार्थीहरुलाई दिइएमा उनीहरु पछि विश्वमा जहाँ गएपनि बुद्ध जन्मेको देशका विद्यार्थी रहेछौ भनी उच्च मूल्याङ्कन गरिनेछ भन्नुभयो ।
अन्तक्र्रियामा विद्यालय प्रतिनिधिहरुले सोधिएको प्रश्नहरुको जवाफ आयोजकले दिएका थिए ।
कार्यक्रमलाई सुष्मा बज्राचार्य र गुजेश्वरी श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।