मध्यपुर थिमिको २ अर्ब ९९ करोड ४० लाखको बजेट सार्वजनिक, वडा बजेट वडाबाटै खर्च गर्न सकिने

भक्तपुर, असार १०
मध्यपुर थिमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि २ अर्ब ९९ करोड ४० लाख २९ हजार २ सय रुपैंयाको बजेट सार्वजनिक गरेको छ । मध्यपुर थिमि नगरपालिकाको आइतवार शुरु भएको नगरसभाको ८ औं अधिवेशनमा उपप्रमुख विजयकृष्ण श्रेष्ठले सो बजेट वक्तव्य सार्वजनिक गरेको हो ।
प्रस्तुत बजेटमा आन्तरिक आम्दानी मौज्दात समेत ६३ करोड, राजश्व बाडफाँड संघीय र प्रदेश ३१ करोड, २२ लाख ९३ हजार २ सय, समानिकरण प्रदेश सरकार २ करोड २९ लाख ५० हजार, समानिकरण संघीय सरकार २० करोड ८० लाख, सशर्त अनुदान चालु र विशेष संघीय सरकार २६ करोड ६० लाख, सशर्त अनुदान पुँजीगत संघीय सरकार एक करोड ४० लाख, सशर्त अनुदान संघीय समपुरक अनुदान २ करोड ३० लाख, नगद लागत सहभागिता ६० लाख, सशर्त अनुदान प्रदेश सरकार समपुरक अनुदान ३ करोड र सशर्त अनुदान चालु र विशेष अनुदान प्रदेश सरकार ४ करोड ६९ लाख १० हजार आम्दानी हुने उल्लेख छ ।


यसैगरी नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल ४४ करोड ४ लाख ३ हजार, कमेरोटार जग्गा एकिकरण ५६ करोड ९१ लाख ५२ हजार, सिन्टीटार जग्गा एकिकरण आयोजना २१ करोड ८३ लाख २१ हजार, सामाजिक सुरक्षा भत्ता २० करोड र सडक बोर्ड नेपाल ७० लाख रुपैंया रहेको उपप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
खर्चतर्फ सशर्त चालु र विशेष अनुदान संघीय सरकार २७ करोड ६० लाख, सशर्त अनुदान पुँजीगत संघीय सरकार १४ करोड, सडक बोर्ड समपुरक र म्याचिङ्ग अनुदान ४६ करोड, प्रशासनिक तथा कार्यालय सञ्चालन खर्च र कार्यक्रम खर्च १८ करोड १९ लाख ६२ हजार, विषयगत कार्यालय र नगरपालिका कार्यक्रम १८ करोड ६४ लाख ६६ हजार, वडा बजेट १ देखी ९ सम्म १८ करोड ९ लाख, सशर्त अनुदान चालु प्रदेश सरकार ४ करोड ६९ लाख १० हजार, सशर्त अनुदान प्रदेश सरकार समपुरक अनुदान ३ करोड, नगरस्तरीय प्रशासनिक भवन तथा वडा प्रशासनिक भवन निर्माण ७ करोड, सार्वजनिक निर्माण खर्च ५२ करोड ९ लाख १५ हजार २ सय र नगद लागत सहभागिता ६० लाख खर्च हुने अनुमान गरिएको छ ।
उपप्रमुख श्रेष्ठले दिगो विकासको लागि आर्थिक, सामाजिक, साँस्कृतिक र भौतिक पुर्वाधार तया गर्ने, सेवा प्रवाहमा जनताको सहज पहुँच अभिबृद्धि गर्ने, संस्थागत क्षमता विकास र सुदृढीकरणमा जोड दिने, लक्षित एवम् समावेशी विकासलाई आत्मसाथ गर्ने र शिक्षा, स्वास्थ्य, रोजगारी जनताको पहुँचमा पु¥याउने उद्देश्यले बजेटले लिएको बताउनुभयो ।


बजेटमा स्वास्थ्य कार्यक्रमको लागि ६ करोड ४४ लाख, नेपाल कोरिया मैत्री नगरपालिकाको पुर्वाधार विकासका लागि ४ करोड, नगरपालिकाका वडाहरुमा उज्यालो नगर अभियानका लागि ३ करोड ५० लाख, शिक्षामा सबैको पहुँचका लागि २० लाख, शिक्षा तथा खेलकुद कार्यक्रमको लागि ७ करोड ७ लाख ४१ हजार, सूचना प्रविधि कार्यक्रमका लागि एक करोड ४० लाख विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले बताउनुभयो ।
बजेट मार्फत मध्यपुर थिमिले वडा बजेटको खर्च गर्ने अख्तियारी वडालाई दिने नीति लिएको छ । वडा बजेटबाट विनियोजित वडा स्तरिय योजना सञ्चालन गर्दा बजेट स्विकृती र कार्यान्वयनका लागि नगरपालिका जानुपर्ने बाध्यता अन्त्य गरी उपभोक्ता समितिलाई वडाबाटै कार्य सम्पादन गर्ने उद्देश्यले वडालाई खर्च गर्ने अख्तियारी दिने तयारी गरेको उपप्रमुख श्रेष्ठले बताउनुभयो ।
त्यसका लागि बजेटमा नगरपालिकाको संगठन संरचनामा वडा सचिव अधिकृत स्तर छैंटौं र लेखा सहायकको पनि दरवन्दी रहेकोले आ. व. २०८०÷०८१ देखी वडालाई दिइएको सिलिङ अनुसारको बजेट र कार्यालय सञ्चालन खर्च सम्बन्धीत वडाबाटै हुन सुत्र प्रणालीमा अपडेट गर्न महालेखा नियन्त्रक कार्यालयमा अनुरोध गर्ने व्यवस्था गरिएको छ ।