तिनदिने परियत्ति प्रशिक्षक प्रशिक्षण तालिम बागलुङ्गमा सम्पन्न

सुनीता तुलाधर, बागलुङ्ग, असार ४ गते।
नेपाल बौद्ध परियत्ति शिक्षाको शिक्षक/शिक्षिका शिक्षण व्यवस्था उपसमिति र ज्ञानोदय बुद्ध विहार, बागलुङ्गको संयुक्त आयोजनामा भइरहेको तिन दिने प्रशिक्षक प्रशिक्षण तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।
यही असार १ देखि ३ गते सम्म उक्त विहारमा संचालित तालिमको अन्तिम दिनको समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
ने.बौ.प.शि.का केन्द्रिय परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञान महास्थविरले उपस्थित सबैलाई पंचशील प्रदान गर्नुको साथै परियत्ति सम्बन्धि ओवाद उपदेश दिनुभएको थियो ।


समारोहमा प्रमुख अतिथि बागलुङ्ग नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठले गत सालदेखि न.पा.का विद्यालयहरुमा स्थानीय विषयमा परियत्ति शिक्षा, नैतिक शिक्षालाई लागु गर्न कार्ययोजनाहरु तयार गरीसकेको र आगामी वर्षमा यसलाई कार्यान्वयनमा ल्याउन थप कार्यहरु गर्ने बताउनुभयो । यसका लागि उहाँले नेपाल बौद्ध परियत्ति शिक्षासँग सहयोगको अपेक्षा पनि राख्नुभयो ।
त्यस्तै प्रशिक्षक डा. सबिता धाख्वाले समाजलाई नैतिक र चरित्रवान नागरिक दिनका लागि परियत्ति शिक्षा अपरिहार्य रहेको कुरा उल्लेख गर्नुभयो ।

कार्यक्रमका सभापति एवं सो विहारका अध्यक्ष लीलाम्बर बज्राचार्यले प्रशिक्षार्थीहरुले ३ दिनसम्म तालिममा सिकेका ज्ञानहरु ध्यान भावना, पञ्चशीललाई भविष्यमा प्रयोग गर्ने कुरामा आफू आशावादी रहेको बताउनुभयो ।
सहभागीहरुको तर्फबाट धीरेन्द्र याङमाली र शान्ती ज्ञवालीले तालिम एकदमै महत्वपूर्ण र सार्थक भएको बताउनुहुँदै परियत्ति शिक्षा सबैको लागि जीवन उपयोगी भएकोे बताउनुभयो ।
प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र, भिक्षु बोधिज्ञान महास्थविरले परियत्ति बुलेटीन र विहार अध्यक्ष बज्राचार्यले ज्ञानदीप स्मारिका प्रदान गर्नुभएको थियो । सोही अवसरमा अध्यक्ष बज्राचार्यले प्रमुख अतिथि श्रेष्ठलाई मैत्री चिन्हका रुपमा भगवान बुद्धको मूर्ति उपहार दिनुभयो ।
सो समापन समारोहमा ज्ञानोदय बुद्ध विहारका आवासिय भिक्षु महेन्द्र, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा शाक्य कल्याणका अध्यक्ष राजन कुमार शाक्य लगायत बागलुङ्गका विभिन्न स्कूलका प्रिन्सिपलहरु र उपासकउपासिकाहरुको उपस्थिति रहेको थियो ।