सूर्यविनायक नगरपालिकाको एक वर्षे प्रगती विवरण सार्वजनिक

भक्तपुर, जेठ २८
सूर्यविनायक नगरपालिकामा एक वर्षमा करिव ११ किलोमिटर सडक कालोपत्रे र ढलान भएको छ । नगरपालिकाका जनप्रतिनिधिले पद बहाली गरेको एक वर्षे कार्यकालको प्रगती आइतवार सार्वजनिक गर्दै नगरप्रमुख बासुदेव थापाले एक वर्षमा नगरमा १० दशमलव ९ किलोमिटर सडक कालोपत्रे र ढलान भएको जानकारी दिनुभएको हो ।
उहाँले एक वर्षमा पूर्वाधार विकासका ४६९ वटा आयोजनाहरु सम्झौता भई ३०४ वटा सम्पन्न भई सकेको र १६५ वटा आयोजनाहरु सम्पन्नको अन्तिम चरणमा रहेको जानकारी दिँदैं पक्की मोटर पुल २ वटा, ट्रष्ट पुल ४ वटा, बाटो सिमांकन ५.६ कि.मी., ढल विछ्याउने कार्य २ कि.मी., नयाँ खानेपानीका धारा वितरण २२०० वटा, सडक वत्ति जडान १३५२ वटा, सामुदायिक भवन निर्माण ३ वटा, र मठ, मन्दिर, गुम्बा लगायत धार्मिक, सास्कृतिक र पुरातात्विक महत्वका संरचना मर्मत तथा सुधार १९ वटा सम्पन्न भएको बताउनुभयो ।
नगरपालिकाको प्रशासनिक भवनको करिब ५० प्रतिशत कार्य यसै वर्ष सम्पन्न भएको छ भने आगामी आ.व.भित्र पूरा हुने भएको छ । सेवा प्रवाहमा प्रविधिको प्रयोग गर्दै विद्युतीय घर नक्सा पास प्रणाली ईविपिएस कार्यान्वयनमा आई एक वर्षको अवधिमा २१७१ जनाले सेवा प्राप्त गरेका छन । स्थानीय भू उपयोग परीषदको तर्फबाट नगरपालिकाको भू उपयोग योजना तर्जुमा पुरा गरी कार्यान्वयनमा ल्याईएको छ ।


सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि प्रतिस्पर्धात्मक माध्यमबाट परीक्षा संचालन गरी प्रधानाध्यापक नियुक्ति गरिएको, कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम तयार भई यसै शैक्षिक सत्रदेखि नै पठन पाठन प्रारम्भ भई सकेको र ६०० जना भन्दा वढी विद्यार्थीहरुको सहभागिता सहित प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको नगरप्रमुख थापाले बताउनुभयो ।
नगरपालिका क्षेत्रमा स्थापित १३ वटै आधारभूत स्वास्थ्य संस्थाहरुबाट निशुल्क स्वास्थ्य परीक्षण, खोपसेवा, गर्भवती महिलाहरुको लागि सेवा, ल्याव सेवा एवं ९८ प्रकारका औषधिहरु निशुल्क रुपमा वितरण हुदै आएको छ । गएको १ वर्षको अवधिमा वडा स्थित सामुदायिक स्वास्थ्य संस्था र अस्पताल बाट गरी ९५ हजार ९ सय ६६ जना जनाले स्वास्थ्य सम्बन्धी विभिन्न सेवा प्राप्त गरेको छ ।
स्वास्थ्य जोखिम न्यूनीकरणका लागि नगरपालिकाको तर्फबाट रु. एक हजार अनुदान सहित संचालनमा ल्याईएको स्वास्थ्य वीमा कार्यक्रमबाट यस आ.व.मा थप २०३५ घरधुरीका १०१७५ जना लाभान्वित हुनेगरी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन ।
एक वर्षको अवधिमा ५०० भन्दा वढि महिला तथा लक्षित समुदायका सदस्यहरुलाई विभिन्न प्रकारका तालिम संचालन गरिएको छ भने लैङ्गिक हिसां, घरेलु हिंसा, अन्य हिंसाका घटना न्यूनीकरणका लागि ४०० जना भन्दा वढी महिलाहरुलाई सचेतनामूलक कार्यक्रम संचालन गरिएको छ ।
नगरपालिकामा कुरिलो ३ लाख ३७ हजार के.जी., च्याउ ५ लाख ४० हजार के.जी., र गोलभेडा २६ लाख ५१ हजार के.जी. उत्पादन भई उक्त उत्पादनहरुमा नगरपालिका आत्मनिर्भर भई निकासी समेत गर्ने गरिएको छ । सयपत्री फूल ५ करोडको, ६ करोडको कुरिलो, ८ करोडको च्याउ र ७ करोड ८० लाख बरावरको गोलभेडा यस नगरपालिकामा उत्पादन भई विक्री वितरण भएको नगरप्रमुख थापाले जानकारी दिनुभयो ।


सुशासनका लागि प्रविधिको प्रयोग गरी विद्युतीय शासन प्रणाली स्थापना गर्न सूर्यविनायक नगरपालिकामा विभिन्न प्रकारका १० वटा सफटवेयर प्रयोग गरिएको छ । सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउनका लागि नागरिक वडापत्र, सार्वजनिक लेखा परीक्षण, सार्वजनिक सुनुवाई जस्ता कार्यक्रम संचालन गरिएको थापाले बताउनुभयो ।
चालू आ.व.को लागि १ अर्व ९२ करोडको बजेट प्रक्षेपण गरिएकोमा हालसम्म चालू तर्फ रु.४७ करोड ९५ लाख एवं पूँजीगत तर्फ ४५ करोड त्रिहत्तर लाख खर्च भएको जानकारी दिँदैं थापाले खर्च प्रतिशत हेर्दा चालू तर्फ ५८ प्रतिशत र पूँजीगत तर्फ ५२ प्रतिशत खर्च भएको र आ.व.को अन्तसम्म करिब ७० प्रतिशत पूँजीगत खर्च हुने अनुमान गरिएको बताउनुभयो ।
कार्यक्रममा नगरउपप्रमुख एवम् न्यायीक समितिका संयोजक सरिता भट्टराई तिमल्सिनाले यस वर्ष गत आ.व.को अ.ल्या.सहित ६४ वटा उजुरी निवेदन दर्ता भएकोमा २५ वटा फर्छयौट भएको र अन्य प्रकृयामा रहेको बताउनुभयो । उहाँले १० वटै वडामा मेलमिलाप केन्द्र स्थापना सहित कार्यान्वयन भएको जानकारी दिनुभयो ।
विपद व्यवस्थापन कोषमा विनियोजन भएको रकमबाट नदी नियंन्त्रणका ९ वटा, पहिरो रोकथामको १८ वटा आयोजना सम्पन्न भएको छन भने आगलागी पिडित १३ जना, स्वास्थ्य उपचारका लागि १०७ जना, र दुर्घटना पिडित २१ जनालाई राहत उपलब्ध गराईएको उपप्रमुख तिमल्सिनाले बताउनुभयो ।
कार्यक्रममा पत्रकारहरुको जिज्ञासामा नगरप्रवक्ता एवम् वडा नं. ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले नगरपालिकाले सञ्चार नीति निर्माण गरी नगरका सूचना नियमितरुपमा प्रकाशन र प्रशारणको व्यवस्था गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. १ देखी १० सम्मका वडाअध्यक्ष एवम् प्रतिनिधिले एक वर्षमा गरेका प्रगती विवरण बुँदागतरुपमा प्रस्तुत गरिएको थियो ।