गठ्ठाघर–सानोथिमि सडकको अवैध संरचना भत्काईयो

भक्तपुर, जेठ २८
मध्यपुर थिमि नगरपालिकाले गठ्ठाघर–सानोथिमि सडकको अवैध संरचना भत्काएको छ । नगरपालिकाले पटक पटक हटाउन सार्वजनिक सूचना प्रकाशन गरेपनि घरधनी र जग्गाधनीले अटेर गरेपछि आइतवार नगरप्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा अवैध संरचना भत्काएको हो ।
नगरपालिकाले डोजर चलाउँदैं अवैध संरचना भत्काउन शुरु गरेपछि कतिपय घरधनी आफैंले त्यस्ता संरचना भत्काउन शुरु गरी नगरपालिकाको कार्यमा सहयोग गरेका थिए । नगरपालिकाको वडा नं. ३ का वडाअध्यक्ष एवम् नगर प्रवक्ता कृष्णमुरारी आचार्यले यसअघि पटक पटक अवैध संरचना हटाउन सूचना गरेपनि अटेर गरेकोले डोजर चलाएर भत्काउन शुरु गरिएको बताउनुभयो । उहाँले केही घरधनीले आफैं भत्काउन थालेकोले त्यस्ता घरधनीलाई थप एक दिन समय दिएको जानकारी दिनुभयो ।
नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाभित्र अवैध संरचना भत्काएर शहरी सौन्दर्य बढाउने, सडकलाई व्यस्थित गर्ने, फुटपाथलाई व्यवस्थित गरी सडक दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले सडक मापदण्ड विपरित निर्माण गरेका अवैध संरचना क्रमिकरुपमा भत्काउँदैं जाने नीति नगरपालिकाको रहेको बताउनुभयो ।