काभा महिला भलिबल च्यालेञ्जमा भारत पहिलो, नेपाल तेस्रो

भक्तपुर, जेठ १४
एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेञ्ज २०२३ को उपाधि भारतले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार भएको फाइनमा काजकस्तानलाई ३–० को सेटमा हराउँदै भारत उपाधि जितेको हो । प्रतियोगितामा आयोजक नेपाल तेस्रो भयो ।
सेन्ट्रल एसियाका दुई बलिया टिम भारत र काजाकस्तानले यसअघिको दुई संस्करण खेलेका थिएनन् । डेब्यु प्रतियोगितामै फाइनलमा पुगेको भारतले उपाधि उचालेको हो ।
भारतले उपाधि जित्ने क्रममा कजाकस्तानलाई पहिलो सेटमा २५–१५ पराजित गरे । पहिलो सेट जितेर उच्च मनोबलका साथ कोर्टमा उत्रिएको भारतले दोस्रो सेटमा पनि कजाकस्तानलाई २५–२२ ले पछि पा¥यो । तेस्रो सेटमा पनि आफ्नो लय कायम राखेको भारतले कजाकस्तानलाई खेलमा फर्कने मौका नदिई खेल २५–१८ ले जित्दै उपाधि हात पार्न सफल भयो ।
त्यसअघि तेस्रो स्थानको लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएको हो । पहिलो सेट गुमाएपनि त्यसपछि सानदार प्रदर्शन गर्दै नेपालले तेस्रो स्थान हासिल गरेको हो ।
नेपालले पहिलो सेट २०–२५ ले गुमाए । एक समय ६–८ ले पछि रहेको नेपालले पुनरागमनको प्रयास गरेपनि जित निकाल्न सकेन । पहिलो सेट गुमाएको नेपालले त्यसपछि भने आफ्नो लय समात्यो ।
दोस्रो सेट नेपालले २५–१६ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा ९–९ को बराबरीबाट अघि बढेको नेपालले लगातार ६ अंक जोड्दै जितको आधार तय गर्यो । त्यसपछि उज्वेकिस्तानले थप ७ अंक जोडेपनि अन्ततः नेपालले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

तेस्रो सेटमा पनि नेपालले सोही लयलाई निरन्तरता कायम राख्दै २५–१५ को सहज जित निकाल्न सफल भयो । सुरुवातदेखि नै अग्रता लिएको नेपालले ७–४ को स्थितिबाट आरामदायी अग्रता लिदै १७–९ ले अघि बढ्यो । त्यसपछि अन्त्यतिर २४–१२ को स्थिति रहँदा नेपालले लगातार ३ अंक गुमाएपनि नेपालले थप १ अंक बटुल्दै जित निकाल्यो ।
चौथो सेटमा पनि नेपालले सुरुवातदेखि नै अग्रता कायम राख्दै २५–१३ को जित निकाल्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भयो ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकस्तानको सहभागिता रहेको थियो ।
यसैबीच नेपालका सलिना श्रेष्ठ काभा महिला भलिबल च्यालेन्ज कपको उत्कृष्ट लिवेरो घोषित भएकी छिन् । प्रतियोगिताभर सानदार प्रदर्शन गरेकी सलिनाले अन्य ७ देशका लिवेरोलाई पछि पार्दै उक्त अवार्ड प्राप्त गरेकी हुन् ।