मेस्सीको कीर्तिमानी गोल पिएसजीलाई लिग वान उपाधिमा

भक्तपुर, जेठ १४
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले किर्तिमानी ११ औं पटक फ्रेन्च लिग वानको उपाधि जित्न सफल भएको छ । अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीको कीर्तिमानी गोलसँगै पिएसजीले शनिवार राती स्ट्रासबर्गसँग बराबरी खेल्दै कीर्तिमानी ११औं पटक फ्रेन्च लिग वानको उपाधि जित्न सफल भएको हो ।
च्याम्पियन बनेसँगै पिएसजीले सेन्ट इटिएन र मार्सेले समान १० पटक फ्रेन्च लिग वानको उपाधि जितेको कीर्तिमानलाई उछिनेको हो ।
पिएसजीलाई च्याम्पियन बन्न एक अंकको खाँचो रहँदा मेस्सीले खेलको ५९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । मेस्सीले केलियन एमबाप्पेको पासमा गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाएका थिए । तर, खेलको ७९औं मिनेटमा केभिन गेमेरियोले गोल गर्दै पिएसजीबाट अंक खोस्दै टोलीलाई रेलिगेसनबाट जोगाए ।
यस बराबरीसँगै पिएसजीको ३७ खेलबाट ८५ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको लेन्सको ८१ अंक छ । स्टार्सवर्ग ३७ खेलबाट ४० अंक जोडेर १५औं स्थानमा छ ।
लिग वानमा मेस्सीको यो ७४ खेलमा ३२औं गोल हो । यस गोलसँगै मेस्सीले युरोपको शीर्ष पाँच लिगमा रोनाल्डोले राखेको गोलको कीर्तिमानलाई तोडेका छन् । मेस्सीले युरोपको शीर्ष ५ लिगमा ४९६ गोल पूरा गरेका छन् । यसअघि यो कीर्तिमान क्रिष्टियानो रोनाल्डोको नाममा ४९५ रहेको थियो ।