आगलागीबाट २ करोड भन्दा बढी क्षती

भक्तपुर, जेठ १
भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित काठको दुई वटा फर्निचर उद्योगमा आइतवार राती भएको भिषण आगलागीमा २ करोड भन्दा बढीको क्षति भएको छ । आगलागीबाट ३७ वर्षिय विजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाई फर्निचर र सोही स्थानमा रहेको पुष्प शिल्पकारले सञ्चालन गरेको कृपालु फर्निचर उद्योग जलेर नष्ट भएको थियो भने विजेनको साढे ३ तल्ले घरमा समेत क्षती पुगेको थियो ।
आगो आइतवार साँझ करिव ७ बजे विजेनको फर्निचरमा लागेको थियो । अचानक लागेको सो आगो बिस्तारै नियन्त्रण बाहिर गएर सँगै रहेको पुष्पको कृपालु फर्निचरमा सल्केको थियो । आगलागीका समयमा मौसम अचानक बदली भई हावाहुरी आउनाले पनि आगो नियन्त्रण बाहिर गएको थियो । त्यसलगत्तै परेको वर्षाले भने आगो नियन्त्रणमा सहज भएको थियो ।
आगलागी नियन्त्रणका लागि भक्तपुरको ३, काठमाण्डौ र ललितपुरको एक एक गरी ५ वटा दमकल प्रयोग भएको थियो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, दमकल र स्थानीयहरुको सहयोगमा आगो राती साढे १० बजे पूर्ण नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताउनुभयो ।
आगलागीबाट तयारी फर्निचर, कच्चा पदार्थ, मेशिन, केमिकल, कार, घर नगद तथा जिन्सी लगायतका २ करोड २९ लाखराबरको धनमाल जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।