नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा २ सय शैयाको नयाँ भवन निर्माण हुने

भक्तपुर, जेठ १
दक्षिण कोरियाको अन्तराष्ट्रिय दातृ निकाय कोइकाको आर्थिक सहयोगमा मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्त्तोरन्नतीका लागि दुई सय शैयाको नयाँ भवन निर्माणको प्रक्रिया अघि बढेको छ ।
कोइकाको प्रतिनिधिमण्डल र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् नगरप्रमुख सुरेन्द्र श्रेष्ठसहितको टोलीबीच छलफलपछि अस्पतालको नयाँ भवन निर्माणको प्रक्रिया अघि बढेको हो ।
कोरियाली सरकारले अस्पताललाई करिव एक अर्ब २५ करोड सहयोग गर्ने निर्णय गरिसकेको छ । सोही सहयोगको रकमबाट अस्पतालको अत्याधुनिक सुविधासहितको दुई सय शैयाको नयाँ भवन निर्माणको प्रस्ताव अघि बढेको हो ।
सो अवसरमा अस्पतालको अवस्था र यसको आवश्यकताका बारेमा छलफल भएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । कोरियन प्रतिनिधिमण्डलले अस्पतालले प्रदान गर्दै सेवाले नागरिकले पाएको सुविधाका बारेमा बढी चासो राखेका थिए । उहाँका अनुसार छिट्टै दुवै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर हुने र त्यसपछि निर्माणको चरणमा प्रवेश गर्नेछ ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्त्तरोन्नतीका लागि आवश्यक सहयोग गर्ने भएको छ । नगरप्रमुख श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतबीच स्वास्थ्य मन्त्रालयमा भएको भेटवार्ताका क्रममा मन्त्री बस्नेतले मन्त्रालयले अस्पतालको सेवा बिस्तार र स्त्तोरन्नतीका लागि आवश्यक सहयोग गर्ने बताउनुभएको हो ।
अस्पतालमा हालै सिटी स्क्यान मेसिन जडान भएको छ । केही प्राविधिक कार्य सम्पन्न गरी छिट्टै सिटी स्क्यान सेवा सञ्चालन हुने जानकारी दिँदैं नगरप्रमुख श्रेष्ठले अस्पतालमा एमआरआई सेवा सञ्चालनको लागि पहल भइरहेको बताउनुभयो ।
अस्पतालको नयाँ भवन निर्माणसँगै एमआरआई सेवाका साथै अस्पताललाई एक सय शैयाको स्विकृति लिई नर्सिङ कलेज सञ्चालन गर्ने योजना रहेको नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताउनुभयो । यसका साथै हालै मात्र डायलासिस सेवा शुरु गरेको अस्पतालमा मुटुरोगलगायतका अन्य सेवा समेत बिस्तार गर्दै लाने योजना रहेको उपप्रमुख श्रेष्ठले बताउनुभयो ।