अनलाइनमा मोबाइल विक्रीको सूचना राखी ठगी गरेको आरोपमा एक पक्राउ

भक्तपुर, बैशाख २८
अनलाइनमा मोबाइल विक्रीको नक्कली विज्ञापन राखी ठगी गरेको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले १९ वर्षिय एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधान उपमहानगरपालिका–४ क्याम्पस चोक घर भई हाल काठमाडौं महानगरपालिका–२९ डिल्लीबजारमा बस्ने आदित्य कर्ण रहेका छन् ।
कर्णले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स एप, इन्स्टाग्राम र भाइबरमा सम्पर्क नम्बरसहित आकर्षकरुपमा विभिन्न ब्राण्डका महँगो मोवाइल सेट बिक्रिमा राखी ती मोवाइल सेट बिक्रिका लागि ग्राहकहरुसँग कुराकानी समेत गरी कुरियर र कार्गो मार्फत मोवाइल डेलीभरी दिन्छुभनी विश्वास दिलाई ४ लाख ५० हजार ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
उनी विरुद्ध १५ जनाले उजुरी गरेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीले बताउनुभयो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको रेग्मीले जानकारी दिनुभयो ।