प्रहरीले जाहेरी दर्ता नगरेपछि पिडितले सरकारी वकिलको कार्यालयमा जोहरी दिने

भक्तपुर, बैशाख २६
भक्तपुरको बालकोटमा गत शुक्रवार भएको सांघातिक हमलाविरुद्ध प्रहरीले जाहेरी लिन नमानेपछि पिडितले सरकारी वकिलको कार्यालयमार्फत जोहरी दिने तयारी गरेको छ ।
जग्गाको साँध विवादमा भक्तपुरको सूर्यविनायक नगरपालिका २, बालकोट कृष्णभक्त श्रेष्ठको परिवारमाथि शुक्रवार सांघातिक हमला भएको थियो । सो घटनामा कृष्णभक्तका दुई छोरा र पत्नीसमेत घाईते भएको थियो । उनीहरुको भक्तपुर ईन्टरनेशनल अस्पताल कौशलटारमा उपचार भएको थियो ।
कृष्णभक्त र सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक समेत रहनुभएका पंकज पौडेलबीच जग्गाको साँध सिमानाको विषयमा लामो समयदेखी विवाद चलिरहेको छ । सो विषय अदालतमा समेत विचाराधिन रहेको अवस्थामा शुक्रवार एक समूहले कृष्णभक्तको परिवारमाथि सांघातिक हमला गरेको थियो ।
सो घटनाको सम्बन्धमा सोमवार प्रहरी वृत्त थिमिमा भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि पिडित सरकारी वकिल कार्यालयमार्फत कानुनी उपचारमा जान लागेको हो ।
प्रहरी वृत्तमा भएको छलफलमा प्रहरीले जाहेरी लिने भन्दा पनि घटनालाई सहमतिमा समाधान गर्न जोड दिएको पिडितको भनाई छ ।
प्रहरीले भने दुवै पक्षले जाहेरी लिएर आएकोले दर्ता नगरिएको जनाएको छ । वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक रविन श्रेष्ठले जग्गा सम्बन्धी पुरानो विवादमा झडप भएको र घटनामा दुवै पक्ष घाईते समेत भएको जानकारी दिँदैं दुवै पक्षले जोहरी लिएर आएकाले तत्कालका लागि जोहरी दर्ता नगरी छलफलबाट समस्या समाधान गर्ने प्रयास गरिएको बताउनुभयो ।
यसैबीच नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ कार्यसमितिले सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै कृष्णभक्त श्रेष्ठको परिवारमाथि सांघातिक हमला गर्ने समूहलाई कडा कारवाहीको माग गरेको छ । पार्टी क्षेत्रीय सभापति भेषबहादुर कार्कीले जारी विज्ञप्तीमा घरमा बसीरहेको अवस्थामा श्रेष्ठ परिवारलाई दजर्नौ अपरिचित व्यक्तिहरु भेला पारेर स्थानीय राजन पौडेल र निजकी श्रीमति करुणा पौडेलले उक्त आक्रमण गराएको उल्लेख छ ।
विज्ञप्तीमा प्रहरीले पिडितको जाहेरी दर्ता गरी यथोचित कानुनी कारवाही गरी न्याय प्रदान गर्न माग समेत गरेको छ ।