सातौं पोखरा स्पोर्टस अवार्डमा सावित्रा र करण उत्कृष्ट

भक्तपुर, बैशाख २४
सातौं पोखरा स्पोर्टस अवार्डमा राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी र राष्ट्रिय क्रिकेट टोलीका बलर करण केसी बर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार भएको अवार्डमा मनोनित ३ जना मध्ये आर्चरीकी रोजीना थापा मगर र आइटिएफ तेक्वान्दोकी सुष्मिता थापालाई पछि पार्दै सावित्रा वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् ।
यसैगरी पुरुषतर्फ करणले आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्कालाई पछि पार्दै वर्षका उत्कृष्ट पुरुष खेलाडी चुनिएका हुन् । उत्कृष्ट दुवै जनाले टेल्जी नेपालको इलेक्ट्रिक स्कुटर र ट्रफी प्राप्त गरे । लमजुङकी सावित्रा हाल गोकुलम केरेला एफसीबाट भारतीय महिला लिगमा व्यवसायिक फुटबल खेलिरहेकी छिन । करण बागलुङका हुन ।
क्रिकेटकै सुवास भण्डारी उदीयमान खेलाडी घोषित भए । सो विधामा भलिबलका रवि केसी र फुटवलका सुमित श्रेष्ठ मनोनयनमा परेका थिए । वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनाले प्राप्त गरे । आर्चरीका किशोर कुमार गुरुङले वर्षका उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते । जसमा लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार मनोनयनमा परेका थिए । उनीहरुले नगद ३५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । सबै विधामा उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिएको थियो ।
यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीले प्राप्त गरे । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिएको हो । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबल संघले प्राप्त गर्यो ।
यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गरियो । मञ्चले २०७२ सालदेखि निरन्तर अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको छ ।