स्थानीय सूचनाको संवाहक स्थानीय मिडिया – रासस अध्यक्ष झा

भक्तपुर, चैत्र २९
राष्ट्रिय समाचार समितिका अध्यक्ष एवम् वरिष्ठ पत्रकार धमेन्द्र झाले स्थानीय मिडिया स्थानीय सूचनाको संवाहक भएको बताउनुभएको छ । नमस्ते ख्वप टेलिभिजनको मंगलवार आयोजित तेश्रो बार्षिकोत्सवमा झाले स्थानीयस्तरमा समाचार र सूचनाका माध्यमबाट जनतालाई सूसुचित गर्ने स्थानीय मिडिया सूचनाको संवाहक भएको बताउनुभएको हो ।
उहाँले त्यस्ता स्थानीय मिडियालाई सबैले मेरो सञ्चारमाध्यम भनेर स्विकार्दै स्थानीय तहलगायत सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । “मिडिया जहिले राष्ट्रिय हुनु पर्छ भन्छन् तर मिडिया जहिले पनि स्थानीय हुन्छ, हुनुपर्छ, स्थानीयले स्वीकार्नु पर्छ । नेपालको स्थानीय मिडिया बाँच्नु पर्छ र बचाउनु पर्छ,” उहाँले भन्नुभयो ।


उहाँले सञ्चारमाध्यम र समाचारलाई अझ धेरैले बुझ्न बाँकी रहेको बताउँदैं सञ्चारमाध्यममा आएका समाचार आफैंमा पोजेटिभ र नेगेटिभ भन्ने नहुने विचार व्यक्त गर्नुभयो । “मिडियालाई अझै धेरैले बुझ्न जरुरी रहेको छ, मेरो पक्षमा समाचार आए पोजेटिभ, मेरो बिरुद्ध समाचार आए नोगेटिभ भन्ने मानसिकताबाट मुक्त हुनु पर्छ,” रासस अध्यक्ष झाले भन्नुभयो, “समाचार समाचार नै त्यो आफैमा नेगेटिभ र पोजेटिभ भन्ने हुदैन, आएको समाचारलाई आम पाठकले कसरी बुझ्छन् भन्ने कुरा महत्वपूर्ण हो ।”


उहाँले सञ्चारमाध्यमकै कारण समाचार आउने गरेको र समाचार आएकै कारण आज सूचना पाउने गरेको चर्चा गर्दै भन्नुभयो, “मिडिया छ र त आज समाचार छ, मिडिया नभए समाचार कसरी थाहा पाउने ?”
नेपालमा मात्रै नभई विश्वमै भक्तपुरको चिनारी प्रसिद्ध रहेको बताउदै उहाँले आफैसंग रहेको बिनाको गन्ध पहिचान गर्न नसकेर कस्तुरीले बिना खोज्दै हिडे जस्तो भक्तपुरले पहिचान खोज्दै हिड्नु आवश्यक नरहेको बताउनु भयो । भक्तपुरका चार वटा नगरपालिका आफैमा साँस्कृतिक, प्राकृतिक मनोरम र पहिचान बोकेको स्थानीय तह भएकाले भक्तपुर जिल्लालाई एकीकृत रुपमा सांस्कृतिक जिल्ला र पर्यटकीय प्याकेजको रुपमा बिकास गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।


कार्यक्रममा बागमती प्रदेश सभा सदस्य किरण थापाले भक्तपुरको सूचना आम जनतासमक्ष पुर्याउन नमस्ते ख्वप टेलिभिजनले पुर्याएको योगदानको चर्चा गर्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका पुर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठले विगतमा आफु नगरप्रमुख रहँदा नमस्ते ख्वप टेलिभिजनले हरेक कार्यक्रममको प्रत्यक्ष प्रशारण गरी जनतालाई सूसुचित गर्ने कार्य गरेको बताउनुभयो ।


नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले भक्तपुरमा सञ्चालित तीन वटा टेलिभिजन मध्ये नमस्ते ख्वपले अलग पहिचान बनाउँदैं अघि बढेको चर्चा गर्दै टेलिभजिनले प्याव्सनसँग सहकार्य गरे जस्तै अन्य व्यवसायिक संघसंस्थासँग पनि सहकार्य गरी यहाँको कला, सँस्कृति, मौलिक उत्पादन, पर्यटनको प्रचार प्रसार केन्द्रीत गर्न सुझाव दिनुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष वचन देउजाले नमस्ते ख्वप टेलिभिजन भक्तपुरको पहिचानको रुपमा स्थापित हुँदैं गएको बताउनुभयो ।


कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख मदनसुन्दर श्रेष्ठ, राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलगायतका नमस्ते ख्वप टेलिभिजनको संस्थागत विकास र टेलिभिजनले कोभिड महामारीका बेला सञ्चालन गरेको राहतको कार्यक्रममा आर्थिक एवम् भौतिक सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै गायक गायिकाले गित संगित प्रस्तुत गर्नुभएको थियो ।


नमस्ते ख्वप टेलिभिजनका अध्यक्ष बालकृष्ण श्रेष्ठ, कार्यकारी निर्देशक ऋषिकेश श्रेष्ठले टेलिभिजन स्थापनादेखी हालसम्मको गतिविधिको चर्चा गर्दै टेलिभिजनले स्थानीय समाचारलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो ।
सोही अवसरमा राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एकल फोटो प्रदर्शनी गरिएको थियो । फोटो पत्रकार श्रेष्ठले खिचेका मध्यपुर थिमिको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा सम्बन्धी ९० वटा फोटो प्रदर्शनी गरिएको थियो । उक्त प्रर्दशनीको राससका अध्यक्ष झा लगायत अन्य अतिथि र सहभागिहरुले अवलोकन गर्नुभएको थियो ।
प्रदर्शनीका बारेमा जानकारी दिँदैं फोटो पत्रकार श्रेष्ठले बिस्केट जात्राको अवसर पारेर जात्राकाबारेमा जानकारी दिने उदेश्यले आफूले जात्रामा खिचेका महत्वपूर्ण ९० वटा तस्विरलाई प्रर्दशनीमा राखिएको बताउनुभयो ।