शहिदलाई सबैले सम्मान गर्नुपर्छ – सांसद थापा

भक्तपुर, चैत्र २०
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले लोकतन्त्र प्राप्तीका लागि जीवन समपर्ण गर्ने शहिदलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । शहिद राधेश्याम जोन्छे प्रतिष्ठान भक्तपुरद्धारा प्रकाशित वि. सं. २०८० सालको भित्तेपात्रो सोमवार विमोचन गर्दै सांसद थापाले राज्यले मात्र होइन आमनागरिकले पनि शहिदको सम्मान गर्नुपर्ने बताउनुभयो ।
सांसद थापाले रोधश्याम जोन्छे कुशल संगठक भएको र पार्टीप्रति इमान्दार एवम् बफादार कार्यकर्ता भएकोले उहाँको त्याग र योगदानलाई नेपाली कांग्रेसले सदैव उच्च मूल्यांकन गरिरहने बताउनुभयो । “जोन्छेंको त्यागलाई म सधैं सम्मान गर्छु । उहाँको योगदानलाई पार्टीले कहिल्यै भुल्न सक्दैन,” उहाँले भन्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवम् बागमती प्रदेशका पुर्व उद्योग, वाणिज्य राज्यमन्त्री रजनी जोन्छे्रले प्रतिष्ठानका गतिविधिहरुको चर्चा गदै प्रतिष्ठानले भित्तेपात्रो प्रकाशन, विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गर्ने र विद्यार्थीहरुको वृत्ति विकासका लागि कविता, निबन्ध, वक्तृत्वकला प्रतियोगिता गर्दै आइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य एवम् नेपाली कांग्रेस चाँगुनारायण नगरसभापति शिवहरी केसीले शहिद रोधश्याम जोन्छेले राजनीतिक जीवनमा पार्टीको संगठन बिस्तार तथा समाजिक कार्यमा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।