सूर्यविनायक नगरपालिकाले पाँच वर्षे आवधिक नगर विकास योजना निर्माण गर्ने

भक्तपुर चैत्र ८
सूर्यविनायक नगरपालिकाले पाँच वर्षे आवधिक नगर विकास योजना तर्जुमा गरी कार्यान्वयन गर्ने भएको छ । यसका लागि नगरपालिकाले आर्किटेक एण्ड अलाइड प्रा.लिलाई साझेदार संस्था नियुक्त गरी आवधिक नगर विकास योजना तर्जुमा तयारी शुरु गरेको छ ।
सोही सन्दर्भमा बुधवार नगरपालिकाको सामाजिक विकास समितिको बैठकमा आवधिक नगर विकास योजना सम्बन्धी छलफल सम्पन्न भएको छ । बैठकमा नगरप्रमुख बासुदेव थापाले सूर्यविनायकलाई आगामी पाँच वर्षमा विकास निर्माणका योजनालाई कुन स्तरमा पुर्याउने भनी विस्तृत अध्ययन गरी प्रतिवेदनसहितको योजना तर्जुमा गरी कार्यान्वयनका लागि आवधिक नगर विकास योजना निर्माण गर्न लागिएको बताउनभुयो । उहाँले सबै विषयगत क्षेत्रका सरोकारवालाहरुसँग सहकार्य, छलफल गरी प्राप्त राय, सल्लाह र सुझावलाई योजनामा समावेश गर्दै जाने विश्वास दिलाउनुभयो ।
सूर्यविनायक नगरपालिका सामाजिक विकास समितिका संयोजक एवम् वडा नं. ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले आवधिक नगर विकास योजना तर्जुमा गर्नका लागि वडा वडामा सरोकारवालाहरुको भेला गरी एक चरणको राय, सल्लाह, सुझाव संकलनको कार्य सम्पन्न भइसकेको जानकारी दिँदैं नगरका अन्य विषयगत समितिहरुमा पनि छलफल गरिने बताउनुभयो ।
उहाँले आवधिक नगर विकास योजनाले नगरको विकासको मोडल तयार हुने बताउँदैं यसका लागि सबैको रचनात्मक सहयोग, राय सुझाव आवश्यक भएको बताउनुभयो ।
बैठकमा स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले बालबालिकाको पोषणा, पूर्ण खोप, मातृ शिशु स्वास्थ्यलगायतका विषयलाई पनि आवधिक नगर विकास योजनामा समावेश गर्नुपर्ने बताउनुभयो ।
जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दिपक थापाले खेलकुद क्षेत्रले बालबालिकाहरुको मानसिक र शारीरिक स्वास्थ्य स्वस्थ राख्न मद्दत गर्ने र त्यसले अध्ययन अध्यापनमा समेत टेवा पुग्ने भएकाले नगरपालिकाले खेल क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
उहाँले नगरपालिकाले खेलकुद क्षेत्रको पूर्वाधार विकास, प्रशिक्षक उत्पादन र नियुक्त गरी नियमित खेल प्रतियोगिता आयोजना गर्ने योजना निर्माण गरी अघि बढेमात्र नगरस्तरमा उत्कृष्ट खेलाडी उत्पादन हुने र यसले नगरको पहिचान बढाउन मद्दत पुग्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले देशको चौंथो अंगको रुपमा रहेको सञ्चार क्षेत्रको विकास, क्षमता अभिबृद्धिलगायतका विषय आवधिक नगर विकास योजनामा समावेश हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीय पालिकाको सूचना स्थानीयलाई आवश्यक हुने भएकाले स्थानीय स्तरमा सञ्चालित सञ्चारमाध्यमहरुको संरक्षण स्थानीय तहले गर्नुपर्ने र त्यसका लागि नीति निर्माणका साथै आवश्यक योजना तर्जुमा गर्नेपर्नेमा जोड दिनुभयो ।
बैठकमा नगर बाल सञ्जाल समितिका प्रस्कुन दाहालले नगरलाई बालमैत्री नगर घोषणा गर्न आवश्यक ५१ सूचांकलाई पनि नगर विकास योजनामा समावेश गर्नुपर्ने सुझाव दिनुभयो ।
गैसस महासंघ भक्तपुरका प्रतिनिधि दिपेश विशुंकेले नगरको विकासमा गैर सरकारी संस्थाहरुसँग सहकार्य गरी उनीहरुको सिप, क्षमता र दक्षतालाई पनि उपयोग गर्नुपर्ने सुझाव दिनुभयो ।
बैठकमा साझेदार संस्थाका गणेश अधिकारीले आवधिक नगर विकास योजना तर्जुका लागि हालसम्म भएका विविध गतिविधिहरुको प्रगती विवरण जानकारी दिँदैं भविष्यमा गरिने क्रियाकलापहरुबारे अभिमुखीकरण गर्नुभएको थियो । उहाँले योजना तजुर्माका लागि ४६२ वटा सूचांक तयार गरिएको र सूर्यविनायक नगरपालिकाको आवश्यकताको आधारमा यसमा थपघट गर्न सकिने बताउनुभयो ।
बैठकमा नगरका विषयगत शाखाका प्रतिनिधि, सामाजिक विकास समितिका सदस्यलगायतको सहभागिता रहेको थियो ।