भक्तपुरमा चालु आ.व.मा थपिए ३४७ नयाँ क्षयरोगी

भक्तपुर, चैत्र ८
भक्तपुरमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ३४७ जना क्षयरोगी पत्ता लागेको छ । जसमध्ये फोक्सोमा क्षयरोग संक्रमितको संख्या २२७, फोक्सो बाहेक शरीरका अन्य भागमा क्षयरोग संक्रमण भएका १०१ र फोक्सोमा क्षयरोग संक्रमण भई पिसीडी भएका १९ जना रहेका छन ।
विश्व क्षयरोग दिवसको अवसरमा बुधवार स्वास्थ्य कार्यालयमा आयोजित क्षयरोगको वर्तमान अवस्थाका बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये सवैभन्दा बढी क्षयरोगी भक्तपुर नगरपालिकामा रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले बताउनुभयो ।
चालू आर्थिक वर्षको साउनदेखि हालसम्म भक्तपुर जिल्लाभरि तीन सय ४७ जना क्षयरोगीको पहिचान भएकोमा भक्तपुर नगरपालिकामा सवैभन्दा वढी एक सय २७ जना क्षयरोगीको पहिचान भएको उहाँले जानकारी दिनुभयो ।
दोश्रोमा मध्यपुर थिमि नगरपालिका रहेको छ, जहाँ एक सय ६ जना क्षयरोगीको पहिचान गर्न सफल भएको छ । सूर्यविनायक नगरपालिकामा ८५ जना र चाँंगुनारायण नगरपालिकामा २९ जना क्षयरोगीहरु पहिचान भएको छ ।
भक्तपुरमा सबै प्रकारका क्षयरोगी पत्ता लाग्ने दर प्रति एक लाख जनसंख्यामा १५२ दशमलव ५ जना रहेको छ भने उपचार सफलता दर ९४ दशमलव ७ प्रतिशत रहेको मिजारले जानकारी दिनुभयो ।


भक्तपुरमा गत आर्थिक वर्ष २०७८÷०७९ मा ६५८ जना क्षयरोगका बिरामी पत्ता लागेको थियो । गतवर्ष भक्तपुरमा ३ दशमलव १ प्रतिशत क्षयरोग संक्रमितको मृत्यु भएको मिजारले बताउनुभयो । उहाँका अनुसार नेपालमा गत आर्थिक वर्ष ३७ हजार ८६१ जना क्षयरोगका बिरामी पत्ता लागेको थियो ।
मिजारले विश्व स्वास्थ्य संघले सन् २०३५ सम्म विश्वबाट क्षयरोग अन्त्य गर्ने नीति लिएको जानकारी दिँदैं सोही अनुसार क्षयरोग अन्त्यको विश्वव्यापी रणनीति (२०१६–२०३५) जारी गरिएको जसले क्षयरोग मुक्त विश्व र क्षयरोग लाग्ने दर कम गर्दै यसबाट हुने मृत्यु तथा पीडालाई शून्य बनाउने परिकल्पना गरिएको बताउनुभयो ।
रणनीतिले सरकारले अनुगमन तथा मूल्याङ्कनका साथै अभिभावकत्व, उत्तरदायित्व र जवाफदेहिता बढाउने, नागरिक समाज, गैरसरकारी संस्था तथा समुदाय सँगको सहकार्य सवल बनाई विस्तार गर्ने, मानव अधिकार, नैतिकता र समताको संरक्षण र प्रवद्र्धन गर्ने र विश्वव्यापी सहकार्य गरी राष्ट्रियस्तरमा क्षयरोग अन्त्य रणनीति तथा लक्ष्यलाई अवलम्वन गर्ने सिद्धान्त अंगिकार गरेको उहाँले बताउनुभयो ।
त्यसैगरी नेपालले पनि ‘क्षयरोग मुक्त नेपाल’ निर्माणका लागि नयाँ क्षयरोग हुने दर आ. व. ०८२÷०८३ सम्ममा १८१ प्रतिलाख जनसंख्यामा झार्ने, मृत्युदर २३ प्रतिलाख जनसंख्यामा झार्ने, क्षयरोगको कारणले परिवारमा पर्ने अधिक आर्थिक व्ययभार शुन्यमा झार्ने दिर्घकालिन सोच र रणनीति अवलम्वन गरिएको मिजारले बताउनुभयो ।
क्षयरोग एउटा सरुवा रोग हो । यो रोग माइक्रोव्यक्टेरियम ट्युबरक्लोसिस नामक किटाणुबाट हुन्छ । क्षयरोग लागेका व्यक्तिले हाँच्छियु गर्दा हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । क्षयरोगको उपचार गरिरहेका व्यक्ति बाट प्रायः यो रोग सर्दैन । क्षयरोग पुरा अवधीभर उपचार गरे निको हुने उहाँले बताउनुभयो ।


मिजारले पूर्ण रुपमा क्षयरोगको लक्षण देखिएपछि मात्रै उपचारका लागि आउने भएकाले सवै क्षयरोगीको पहिचान नहुने गरेको बताउनुभयो । धुम्रपान गर्ने व्यक्ति, लागु पदार्थ सेवन गर्ने व्यक्ति, श्वासप्रश्वासका दीर्घ रोगी, कुपोषण भएका बालबालिका, गरिब (अति विपन्न परिवार), अंग प्रत्यारोपण गरेका व्यक्ति, शरिरको प्रतिरक्षा शक्ति कम भएका व्यक्तिहरु (एच.आई.भि संक्रमित, मधुमेह, क्यान्सर आदी), उमेर ढल्केका व्यक्ति, स्वास्थ्यकर्मीहरु, सिमेन्ट, गलैचा कम्पनी तथा ढुङ्गा, गिटी कुट्ने मजदुर आदि क्षयरोगको बढी जोखिममा रहेको नेपालको तथ्यांक छ ।
क्षयरोगको रोकथामका लागि प्रारम्भिक चरणमै रोगको पहिचान गरी उपचार गर्नुपर्छ । साथै नियमित र पूर्ण अवधिको उपचार गरेमा क्षयरोग निको हुन्छ र अरुलाइ सर्दैन । साथसाथै खोक्दा र हाच्छ्यु गर्दा मुख छोप्ने तथा मास्कको उचित प्रयोग गर्नुपर्छ । जथाभावी नथुक्ने तथा खकारको उचित व्यवस्थापन गर्नुपर्छ । बच्चाहरु जन्मने बित्तिकै जति सक्दो छिटो बिसिजी खोप लगाउनुपर्छ ।
सो अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले जिल्लाको भक्तपुर र मध्यपुर थिमिमा जनसंख्या र जनघनत्व दुवै बढी भएकाले क्षयरोग संक्रमण दर पनि बढी भएको बताउँदैं त्यस्ता बस्तीमा सचेतनाको खाँचो रहेको औंल्याउनुभयो ।
चाँगुनारायण नगरपालिकाको जनस्वास्थ्य निरीक्षक सत्यकुमार दुवालले चाँगुनारायणलाई सन् २०२५ भित्र क्षयरोग मुक्त नगरपालिका घोषणा गर्ने उद्देश्यका साथ नयाँ क्षयरोगी पत्ता लगाउने र उपचारको दायरामा ल्याउने अभियान सञ्चालनका लागि समूदायस्तरमा खकार परीक्षणको अभियानको तयारी भइरहेको बताउनुभयो ।
उहाँले प्रत्येक मानव शरीरमा ४५ प्रतिशत क्षयरोगको संक्रमण हुने र दैनिक जीवनयापन र खानपानमा ध्यान नदिँदा पोषणको कमीले क्षयरोगको संक्रमण बृद्धि भई लक्षण देखापर्ने र त्यसपछि मात्र क्षयरोगको संक्रमण पुष्टि हुने जानकारी दिनुभयो ।
‘हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौं ।’ भन्ने मूल नाराका साथ यसवर्षको विश्व क्षयरोग दिवस शुक्रवार विविध कार्यक्रमका साथ मनाईंदैछ । यसै सन्दर्भमा जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले आज बुधवार क्षयरोगको अवस्थाका बारेमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो । कार्यक्रममा विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधि, सञ्चारकर्मी र जिल्लाका चारवटै नगरपालिकाका स्वास्थ्य शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।