मध्यपुर थिमिमा फोहोरको वर्गिकरण गरी संकलन गरिने

भक्तपुर, फागुन २८
मध्यपुर थिमि नगरपालिकामा फोहोरको वर्गिकरण शुरु गरिएको छ । नगरको वडा नं. ५ र ९ का करिव ५ हजार घरधुरीको फोहोर संकलन गरी व्यवस्थापन गर्दै आइरहेको नेप्सेम्याकको सहकार्यमा नगरपालिकाले फोहोर वर्गिकरण शुरु गरेको हो ।
सो अभियानको शुभारम्भ गर्दै मध्यपुर नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरको फोहोर व्यवस्थापनको लागि ऐन निर्माण गरेको जानकारी दिनुभयो । उहाँले नगरको फोहोर व्यवस्थापनको कार्य गर्दै आइरहेको नीजि साझेदार संस्थाहरुसँग सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
“नगरपालिकाले फोहोर मैला व्यवस्थापन गर्नको लागि ऐन बनाइसकेका छौं । ऐनको कार्यान्वयनसँगै नीजि साझेदार संस्थासँग सहकार्य गरी फोहोर व्यवस्थापनमा अघि बढ्छौं,” उहाँले भन्नुभयो ।
उहाँले नगरलाई स्वच्छ सफा हराभरा बनाउन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउँदैं काठमाण्डौं उपत्यकाकै फोहोरको दिर्घकालिन व्यवस्थापनका लागि उपत्यकाका सबै नगरपालिकाको साझा धारणा र योजना आवश्यक भएको बताउनुभयो ।
“साधन र स्रोतको अभावले फोहोर व्यवस्थापनमा ठूलो चुनौती रहेको छ । उपत्यकाका १८ वटै स्थानीय तहले सहकार्य गरी साझा धारणा र योजनाका साथ अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो । उहाँले नगरपालिकाले आगामी दिनमा हरियाली प्रवद्र्धनका अभियानहरु चलाउने समेत बताउनुभयो ।


नेप्सेम्याकका अध्यक्ष टीकाराम दाहालले आगामी चैत्र १ गतेदेखी टोल सुधार समितिसँगको समन्वय र सहकार्यमा हप्ताको दुई दिन कुहिने र एक दिन नकुहिने फोहोर संकलन हुने जानकारी दिनुभयो ।
उहाँले सोही अनुसार फोहोर छुट्याएर राख्नको लागि स्थानीयवासीलाई आग्रह गर्दै हाल दुई वटा वडामा कुहिने र नकुहिने फोहोर छुट्याउने अभियान शुरु गरिएता पनि नगरपालिकासँगको सहकार्यमा ९ वटै वडामा गरिने जानकारी दिनुभयो ।
उहाँले कुहिने फोहोरलाई कम्पोष्ट मल बनाई करेसावारी, कौशी खेती तथा कृषि उत्पादनजन्य कार्यमा प्रयोग गर्न सकिने जनाउँदैं नकुहिने फोहोरलाई भने बञ्चरेडाँडा र सिसडोलमा लगि डम्पिङ गरिने बताउनुभयो ।
उहाँले आफैले फोहोरको व्यवस्थापन गरी कम्पोष्ट मल उत्पादन गरेमा ग्राहकको शुल्कमा २५ प्रतिशतसम्म छुट दिने व्यवस्था गर्न सकिने धारणा राख्नुभयो । फोहोरलाई मोहरको रुपमा परिणत गर्नु अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले फोहोरबाट करिव २० देखी २२ प्रतिशत वातावरण प्रदुषण हुने गरेको बताउनुभयो । फोहोर नेपाली संस्कार र संस्कृतिसँग पनि जोडिएको उल्लेख गर्दै उहाँले फोहोरबाट मलमात्र नभई ग्याँस, विजुली, टायल, ब्लक इत्यादी बनाउन सकिने बताउनुभयो ।
कार्यक्रममा नेप्सेम्याक भक्तपुर शाखाका प्रवन्धक बाबुराम चौलागाई, वडा नं. ९ का वडाध्यक्ष सानुकाजी राजवहाकलगायतले फोहोरलाई आयआर्ज तथा उत्पादनमा रुपान्तरण गर्न सकिने बताउँदैं त्यसका लागि सामाजिक सचेतना अभिवृद्धि गर्नु अपरिहार्य रहेकामा जोड दिनुभयो ।